सहिद दिवस केवल सम्झना गर्ने दिन मात्र होइन : गृहमन्त्री लेखक
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![सहिद दिवस केवल सम्झना गर्ने दिन मात्र होइन : गृहमन्त्री लेखक](https://www.makalukhabar.com/wp-content/uploads/2025/01/ramesh-badal-mk.png)
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहिद दिवस केवल सम्झना गर्ने दिन मात्र नभएर सहिदहरूको बलिदानलाई सार्थक बनाउन सबैले संकल्प गर्ने अवसरको दिन पनि रहेको बताएका छन् ।
बुधबार सहिद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री लेखकले सहिदहरूको संघर्ष र बलिदानकै कारण हामीले आजको स्वाधीनता, लोकतान्त्रिक शासन प्रणाली र नागरिक स्वतन्त्रताको अनुभूति गर्न पाएको उल्लेख गरेका छन् । ‘नेपाल सरकार विधिको शासन बलियो बनाउने र समतामूलक समाज निर्माण गर्ने दिशामा निरन्तर अग्रसर छ । सहिद परिवारहरूको सम्मान र हितमा सरकार सँधै प्रतिबद्ध छ । सहिदहरूले देखाएको मार्गबाट हामीले समाजलाई समृद्ध बनाउँदै राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ’, गृहमन्त्री लेखकले भनेका छन् ।
गृहमन्त्री लेखकले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना, मानव अधिकार र सामाजिक न्यायका लागि आफ्नो जीवन बलिदान दिएका सहिदहरूप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् । ‘सम्पूर्ण सहिदहरूप्रति पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको बलिदानलाई सार्थक बनाउने प्रण गर्दछु’, गृहमन्त्री लेखकले भनेका छन्, ‘सहिद दिवस २०८१ ले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य, मान्यता र सुशासन प्रवर्द्धन गर्न थप प्रेरणा प्रदान गर्नेछ भन्ने आशा लिएको छु।’
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)