ओली-प्रचण्डबीच सरकार टिक्ने-नटिक्ने दोहोरी

काठमाडौं । वर्तमान सरकारको आयुलाई लिएर प्रमुख दुई कम्युनिष्ट पार्टीका अध्यक्षबीच निरन्तर सवाल जवाफ चलिरहेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकारको आयुलाई लिएर सवाल-जवाफ भइरहेको हो ।

माओवादी अध्यक्ष प्रचण्डले बारम्बार वर्तमान सरकार धेरै नटिक्ने दाबी गरिरहँदा ओलीले दोहोर्‍याइ तेहेर्‍याइ प्रतिवाद गर्दै आएका छन् । ओली सरकार चाँडै ढल्ने प्रचण्डको दाबी छ । तर, एमाले अध्यक्ष ओलीले भने आगामी निर्वाचनअघि (कांग्रेससमेत) वर्तमान सरकार नढल्ने दोहोर्‍याउँदै आएका हुन् । यो क्रम मंगलबार पनि कायम रहृयो ।

मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले आफ्नो सरकार २०८४ को मंसिरसम्म चल्ने दोहोर्‍याए । दिनदिनै सरकार ढल्छ भनेर हल्ला चलाइएको उनले बताए । यसअघि उनले सोमबार मात्रै पनि प्रचण्डलाई जवाफ दिँदै सरकार अहिले ढल्यो र भरे ढल्यो भनेर छाती पिट्नु र बिलौना गर्नुको कुनै विकल्प नभएको जिकिर गरे ।

ओलीले सरकार नढल्ने दोहोर्‍याइरहँदा प्रचण्डको दाबी भने छुटेको छैन । उनले पनि मंगलबारसम्म सरकार धेरै नटिक्ने दाबी दोहोर्‍याए । समाजवादी मोर्चाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार बनेदेखि नै दुर्घटनाको जोखिम रहेको दोहोर्‍याए । यसअघि सोमबार, आइतबार र शनिबार पनि प्रचण्डको उस्तै दाबी थियो । त्यति मात्रै होइन माघ १ गते पनि प्रचण्डले सरकार नै ढल्ने दाबी गरे ।

उसो त उनले ओली सरकार बनेदेखि नै सरकार ढल्ने दाबी गर्दै आएका छन् । प्रचण्डले सरकार ढाल्न आफूहरूले धेरै बल गर्नै नपर्ने बताउँदै आएका छन् । तर, बजारमा सरकार ढल्ने चर्चा जति चुलिएको छ गठबन्धन दलहरूले उत्तिकै एकता प्रदर्शन गर्ने प्रयत्न गरिरहेका छन् । कांग्रेस-एमालेबीच सतहमा देखिनेगरी विवाद कुनै छैन । एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच निरन्तर संवाद भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *