वाशिङ्टन डीसीमा यात्रुवाहक विमान र सैन्य हेलिकप्टर ठोकिए

काठमाडौं । वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान सेनाको हेलिकप्टरसँग आकाशमा ठोकिएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको छ ।

स्थानीय समयानुसार बेलुकी ९ बजेतिर हावामा हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको थियो । चालकदलका चार र ६० जना यात्रु रहेका उक्त विमान क्यान्सास राज्यको विचिटाबाट प्रस्थान गरेको थियो । विमान खसेको ठाउँमा खोजी र उद्धार अभियान आरम्भ भएको छ । सरकारी निकायहरूले उक्त दुर्घटनामा कति जना हताहत भए भन्ने औपचारिक जानकारी दिइसकेका छैनन् ।

तर प्रहरी स्रोतलाई उद्धृत गर्दै बीबीसीको अमेरिकी साझेदार सीबीएसले विमान खसेको स्थानमा १८ वटा शव फेला परेको जनाएको छ । अमेरिकी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् । एफएएले उक्त विमान रेगन न्याश्नल एअरपोर्टको धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा उक्त घटना भएको जानकारी सीबीएस न्यूजलाई दिएको छ । दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ‘ब्ल्याक हक’ भएको र त्यसमा तीन सैनिक सवार रहेको एक अधिकारीले सीबीएसलाई बताएका छन् । उक्त हेलिकप्टर तालिममा प्रयोग गरिएको अमेरिकी सेनाले पुष्टि गरेको छ ।

नाम उल्लेख नगर्ने सर्तमा अर्का एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई ती सैनिकहरूको अवस्था अज्ञात रहेको जानकारी दिएका छन् । उनका अनुसार उक्त हेलिकप्टरमा वरिष्ठ सैन्य अधिकारी थिएनन् । वाशिङ्टन डीसीमा रात्रिकालीन तापक्रम निकै कम भएकाले उद्धारकार्य चुनौतीपूर्ण बनेको छ ।

विमान दुई टुक्रा, हेलिकप्टर उत्तानो
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई उक्त भयानक दुर्घटनाबारे पूरा जानकारी दिइएको बताएका छन् । उनले दुर्घटनापछि तत्काल गरिएको प्रतिकार्यको प्रशंसा गरेका छन् । ‘मैले परिस्थितिको निगरानी गरिरहेको छु र थप जानकारी आएपछि विवरण उपलब्ध गराउने छु ।’

अमेरिकी सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त विमान दुई टुक्रा भएको छ भने डुङ्गा र गोताखोरहरूले विमान र हेलिकप्टरमा सवार मानिसहरूको खोजी गरिरहेका छन् । दुर्घटनाग्रस्त हेलिकप्टर पानीमा उत्तानो परेर खसेको सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त हेलिकप्टर भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको अमेरिकी अधिकारीहरूले बताएका छन् । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *