‘एक्टर : टेक वान’ : स्टार बन्न खोज्दा ‘ट्र्याप’मा फसेका कुशलको कथा

काठमाडौँ । फिल्ममा एउटा कलाकारले आफ्नो व्यक्तित्व भन्दा फरक थुप्रै खालका भूमिकाहरू निभाउँछन् । उनीहरू आफ्नो अभिनय मार्फत पात्रको भाव र मर्मलाई दर्शकसामु पस्कने काम गर्छन् । अभिनेताहरूको जीवन्त अभिनय नै समाजको विगत, वर्तमान र भविष्यको ऐना हो ।

प्रेम, सामाजिक र पारिवारिक कथाबाट टाढिन नसकेको कलिउडमा यस्ता अभिनेताहरूको जिवनदशामा कमै फिल्म बनेका छन् । ‘एक्टरः टेक वान’ तिनै फिल्म मध्यको एक हो ।

अभिनेता प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइराला स्टारर फिल्म ‘एक्टर: टेक वान’ माघ १८ गतेदेखि देशभर रिलिज भैसकेको छ ।

यस फिल्मले रङ्गमञ्चमा काम गर्दै एकदिन फिल्ममा डेब्यु गरेर ‘स्टार’ बन्ने सपना देखेका निम्न वर्गीय पात्र कुशल खड्का (प्रदीप खड्का) को कथालाई देखाएको छ ।

कुशलले फिल्ममा काम पाउन गरेका सङ्घर्षबिच नै फिल्मको कथावस्तु घुमेको छ । त्यसोभए, के कुशलले फिल्म खेल्ने अवसर पाउलान् त ?, उनी ‘ डेब्यु’ गरेर ‘स्टार’ बन्लान् त ?, यसबिच उनले कस्तो अवरोधहरूको सामना गर्नुपर्यो ?, फिल्ममा जस्तै उनको जीवनमा के कस्ता ‘टर्न एण्ड टुइस्ट’ हरू आउलान् ? , समग्रमा फिल्म कस्तो बनेको छ ?, यसले दर्शकलाई मनोरञ्जन दिन सक्ला ?, आउनुस् जानौँ, यस रिभ्यूमा…

के छ कथानक ?
यस फिल्ममा प्रदीप खड्काले रङ्गमञ्चमा काम गर्दै एकदिन चलचित्रमा डेब्यु गरेर ‘स्टार’ बन्ने सपना देखेका निम्न वर्गीय पात्र कुशल खड्काको भुमिका निभाएका छन् । नव अभिनेत्री दिव्या रायमाझी र आना शर्माले कुशलकी प्रेमिका प्रेरणा र प्रकृतिको भुमिका निभाएका छन् ।

कुशल एकल आमाका सन्तान हुन् । उसले जहिल्यै ब्राण्डेड लुगा र जुत्ता मात्र लगाउँछ । तर उसको हातमा भने एउटा पुरानो घडी हुन्छ । जुन उनको बुबाको घडी हो । उसले आफ्नो अवस्थालाई नबिर्सनका निम्ति उक्त घडी हातमा लगाएका हुन्छन् । कुशल काठमाडौँमा फ्लाइट लिएर आमासँग बस्दै आएका हुन्छन् ।

उनी जहिल्यै प्रेमिका प्रकृतिसँग थिएटरमा अभिनय सिक्न गएका फिल्ममा देख्नसकिन्छ । कुशल घरबाट चिटिक्क परेर मोटरसाइकलमा निस्कछन् तर बिच बाटो पुगेपछि प्रेमिकाको कारमा चढेर थिएटरमा पुग्छन् । कुशल आफूले आफैलाई एक ‘सुपरस्टार’ ठान्छन् ।

फिल्ममा उनलाई टिभी अगाडी बसेर कलाकारहरूलाई सोधिएको प्रश्न सुन्दै भिडिओ पज गरेर जवाफ दिँदै गरेका देखिन्छ । उनको लागि उनी आफै स्टार हुन् । फिल्ममा उनको गतिविधि हेरेर उनलाई आफ्नो लक्ष्य र उद्देश्य प्रति धृढ आत्मविश्वास र संकल्पीत पात्र मान्न सकिन्छ ।

ती नै कुशल एकदिन फिल्मको अडिसन दिन पुग्छन् । धेरै जनाले राम्रो अभिनय गर्दा पनि आत्मविश्वासको अभावका कारण उनीहरू सेलेक्ट हुन सक्दैनन् । जहाँ कुशल आफ्नो आत्मविश्वासको कारणले नै अडिसन नदिई फिल्ममा डेब्यु गर्ने मौका पाउँछन् । त्यसपछि कुशल आफ्नो सुखको दिन फर्केको महसुस गर्छन् र फिल्मबाट आएको पैसाले नयाँ कार, नयाँ फ्ल्याट खरिद गर्न खर्च गर्छन् ।

सुटिङ गर्दा उनी पाइलटको गेटअपमा देखिएका छन् । जहाँ उनको अभिनय भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म तस्कर गरेर ल्याइएका सुनहरूलाई लुकाएर गाडीमा हाल्नु हो । त्यसपछि सुटिङ लोकेसन चेन्ज भएको छ ।

सुटिङ भनिएका उक्त क्रियाकलापहरू वास्तविक तस्करी हुन्छन् । सोही कारणले उक्त फिल्मका निर्देशक पनि पक्राउ पर्छन् । उनीहरूको सुटिङ त्यही रोकिन्छ । त्यसपछि फिल्म बन्ने वा नबन्ने भन्ने कुराले दर्शकहरूमाझ कौतुहलता जगाउँछ ।

यसै सन्दर्भमा प्रहरीले कुशललाई पनि सोधपुछ गर्न प्रहरी चौकी बोलाउँछन् । त्यहाँ उनले पक्राउ परेका निर्देशकलाई भेट्ने मौका पाउँछन् । कुशल आफ्नो फिल्म पुरा गर्न जे गर्न पनि तयार भएको निर्देशकलाई बताउँछ र कुशल नचाहँदा नचाहँदै पनि ‘ट्र्याप’ मा पर्छन् । त्यसपछि फिल्मले रोमाञ्चित मोड लिन्छ ।

कस्तो छ एक्टिङ ?
यो पुरै फिल्म केही एक्टर्सहरूको वरपर घुमेको देखिन्छ । यस फिल्ममा लोकप्रिय अभिनेता दिलीप रायमाझीकी सुपुत्री दिव्या रायमाझीले आफ्नो डेब्यु गरेकी छन् ।

दिव्याले यस फिल्ममा राम्रो अभिनय गर्ने प्रयत्न गरेपनि उनको अभिनयमा शार्पनेस आएको छैन । उता हामीले पर्दामा हेर्दै आएका नेपाली चलचित्रका जीवन्त अभिनय गर्ने कलाकारहरूको तुलनामा अभिनेत्री आना शर्माको अभिनय पनि खास्सै कमालको लाग्दैन ।

त्यसबिच अभिनेता प्रदीप खड्काले भने फिल्ममा सदाझैँ आफ्नो दमदार प्रस्तुति दिएका छन् । नेगेटिभ रोलमा राजबल्लभ कोइरालाको अभिनय पनि तारिफ योग्य छ ।

साथै फिल्ममा दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको अभिनय उत्कृष्ट छ ।

कस्तो छ डायरेक्शन ?
अदृत फिल्म्स् र अ मोती फिल्मको ब्यानरमा थमन कुमार भण्डारीद्वारा निर्मित यस फिल्ममा अनिश भुसाल सह–निर्माता रहेका छन् । यस फिल्मलाई राजन भुसालले निर्देशन गरेका हुन् ।

निर्देशक भुसालले कुनै पक्षबाट फिल्मलाई कमी हुन दिएका छैनन् । फिल्म प्राविधिक पक्षबाट बलियो नै छ । फिल्ममा एउटै पनि बोरिङ वा अनावश्यक सटहरू राखिएका छैनन् । फिल्ममा आउने गीतहरूले पनि कथालाई अगाडी बढाउने काम गरेका छन् । जसकारण स्टोरीले दर्शकलाई पुरै अवधिभर सजिलै बाँधेर राख्ने काम गरेको छ ।

त्यस्तै फिल्ममा नेगेटिभ पात्रहरूलाई कालो रङ्गको पहिरन लगाइदिएको देख्न सकिन्छ । जसले गर्दा उनीहरूको व्यक्तित्व खुलाउन पनि सघाउन पुगेको छ । फिल्ममा कलाकारहरूको पहिरन र मेकअपमा पनि विशेष ध्यान दिइएको देखिन्छ ।

यो फिल्मले सुरु भएदेखि नै दर्शकहरूमाझ कौतुहलता जगाइदिन्छ । जुन कौतुहलता फिल्मको अन्त्यसम्म पनि रहिरहन्छ, जसले दर्शकहरूलाई भरिपूर्ण मनोरञ्जन दिनसक्छ ।

फाइनल रिभ्यु ?
यहाँहरूले माघ १८ गते अर्थात् शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘एक्टर : टेक वान’ नजिकैको क्युएफएक्स लगायतका हलहरूमा गएर हेर्न सक्नुहुन्छ ।

यस फिल्ममा परिचय बिनाको मान्छे कुकुर जस्तो हो भनेर निम्न वर्गीय मानिसहरूको अवस्थालाई व्यंग्य गरिएको छ । जसले सडकमा लात मात्र खान्छ तर सुखले भात खान पाउँदैन ।

फिल्मका पात्र कुशलले आफ्नो परिचय बनाउनकै लागि विभिन्न सङ्घर्ष गरेका छन् । फिल्म हेरेपछि ‘मेरो परिचय के हो ?’ भन्ने प्रश्न हरेकलाई बोध गराउँछ । समग्रमा फिल्म राम्रो बनेको छ । विशेषतः युवा दर्शकलाई मन पर्नसक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *