कहिले छुट्लान विपिन जोशी ?


काठमाडौं । प्यालेस्टिनी लडाकू समूह (हमास) ले इजरायली महिला बन्धक अगम बर्जरलाई बिहीबार रिहा गरेको छ ।
गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत तीन इजरायली र पाँच थाई बन्दीलाई बिहीबार रिहा गर्ने योजना अनुसार नै उनलाई रिहा गरिएको हो । अन्य दुई इजरायली र पाँच थाई बन्धकलाई पनि आजै रिहा गरिनेछ । नेपालका विपिन जोशीको भने यस सुचिमा नाम समावेश छैन ।
यस क्रममा हमासले बिहीबार तेस्रोपटक बन्धकहरु रिहा गरेको हो । यसअघि दुईपटक गरेर हमासले ७ बन्धक रिहा गरिसकेको छ । यसअघि करिना आरियेभ, ड्यानिएला गिल्बोआ, नाम लेभी र लिरी अल्बाग,रोमी गोनेन, डोरोन स्टाइन्ब्रेचर र एमिली डामारी बन्धक मुक्त भइसकेका छन् ।
यसअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बिहीबार रिहा हुने तीन जना इजरायलीहरू आर्बेल येहुद, बर्जर र गादी मोसेस रहेको जनाएको थियो ।
हमासले बन्धक रिहा गरिरहेका बेला नेपालका विपिन जोशी कहिले छुट्लान भन्ने चासोको विषय बनेको छ । बुधवार मात्रै इजरायलले हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी जीवितै रहेको बताएको थियो ।
द टाइम्स अफ इजरायलले प्रकाशन गरेको समाचारमा गाजामा बन्धक बनाइएकाहरूमा एक नेपाली पनि रहेको लेखिएको छ । नाम उल्लेख नगरिए पनि हमासको कब्जामा परेका नेपाली नागरिक विपिन जोशी हुन् ।
इजरायलस्थित नेपाली दुतावासले विपिन जोशी जुनसुकै समयमा पनि छट्न सक्ने भन्दै आफुहरुलाई तयारी अवस्थामा रहन भनिएको बताएको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा अप्रत्याशित आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी र अन्य देशका नागरिकसहित एक हजार बढीको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो ।
