सोनाम ल्होसार तामाङ जातिको मात्र नभई राष्ट्रिय पर्व हो : मुख्यमन्त्री लामा

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सोनाम ल्होसार तामाङ जातीको मात्र नभई राष्ट्रिय पर्व भएको बताएका छन् ।

ल्होसार तथा तामाङ समुदायको नयाँ वर्षको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् ।

उनले ल्होसार पर्व बिस्तारै अन्तर्राष्ट्रिय रुपमा समेत फैलिँदै गएको बताए । उनले ल्होसार एउटा पर्व र मनोरञ्जनको उत्सव मात्र नभई तामाङ जातीको संस्कृतिको संस्कृति र आन्दोलनको प्रतिबिम्ब भएको समेत बताए ।

ल्होसार पर्वले तामाङ सभ्यता र सांस्कृतिक पहिचान तथा अस्तित्व समेत बोकेको उनको भनाइ छ । उनले मौलिक एवं परम्परागत चाडपर्वहरूको संरक्षण गर्न जरुरी रहेको समेत बताए ।

उनले भने ‘ल्होसार पर्व तामाङ जातीको मात्र नभई यो नेपालको एक राष्ट्रिय पर्व हो । यो पर्व राष्ट्रिय नभई अन्तर्राष्ट्रिय पर्व पनि हो । विभिन्न देशहरूले यो पर्व मान्दै आएका छन् । नेपाल लगायत विश्वका धेरै देशहरूमा ल्होसारलाई प्रमुख चाडका रुपमा मनाउने गरिन्छ । ल्हो तामाङ परम्परा र संस्कृतिको एक अभिन्न अंग हो । ल्होसारको परिभाषा पर्व र मनोरञ्जनमा मात्र सीमित छैन । यसले तामाङ जातीको संस्कृति र आन्दोलनलाई प्रतिविम्ब गर्दछ । ल्होसार पर्वले तामाङ जातीको उद्गम सभ्यता र सांस्कृतिक पहिचान र अस्तित्वलाई समेत बोकेको छ ।’

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ सरकार मुलुकलाई उज्यालो अभियानमा लागिरहेको बताए । उनले लगानीको अभावका कारण बत्ती बाल्न नपाएका घरधुरीहरूमा २० दिनभित्र बिजुली पुर्याइदिने दाबी गरे । उनले पाँच/१० लाख रुपैयाँको अभावले विद्युतको पहुँचभन्दा टाढा रहेका नागरिक सम्पर्कमा आए २० दिनभित्र विद्युत् व्यवस्था गरिदिने बताए ।

उनले भने ‘तामाङ वा अन्य कुनैपनि समुदायमा देशमा पाँच दश लाख लागत लाग्ने हुँदा बत्ती बाल्न नपाएका दुईतीन घरहरू छन् भने मलाई खबर गर्नुस् । हामी २० दिनभित्रमा घरमा बत्ती बल्ने व्यवस्था गरिदिन्छौं । काभ्रेमा एक ठाउँमा ३२ वटा घर भएको ठाउँमा बत्तिको व्यवस्था छैन रे । सुकुम्वासी वस्तिमा बत्तिको व्यवस्था छैन भन्ने सुनेको छु । त्यसबारे तपाई खोजी गरेर ल्याउनुस् २० दिनभित्रमा त्यहाँ बत्ती बाल्ने व्यवस्था गर्दिन्छु ।’

तामाङ समुदायले सोनाम ल्होसारलाई नयाँ पर्वको रुपमा धूमधामसँग मनाउने चलन रही आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *