अमेरिकी विमान दुर्घटनाबारे उठे यस्ता प्रश्न, खोजी कार्य स्थगित


काठमाडौं । अनुसन्धानकर्ताहरूले संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा घातक दुर्घटनामा परेको यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ भनिने फ्लाइट डेटा रेकर्डर फेला पारेका छन् । स्थानीय समयानुसार बुधवार राति वाशिङ्टनस्थित विमानस्थलमा अवतरण गर्न लागेको अमेरिकी एअरलाइन्सको यात्रुवाहक विमान आकाशमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो ।
उक्त विमानमा यात्रा गरिरहेका चालक दलका सदस्यसहित ६४ जना र सैन्य हेलिकप्टरमा रहेका तीन जना कोही पनि जीवित नरहेको ठानिएको छ । हाललाई दुर्घटनास्थलमा भइरहेको खोजी कार्य स्थगित गरिएको अधिकारीहरूले बताएका छन् । उक्त दुर्घटनापछि विमानस्थलमा कर्मचारी अभाव तथा विमान अवतरण गर्दै गर्दा दुर्घटनाका सम्भावित अवस्थालाई बेवास्ता गरिएको भन्दै विभिन्न प्रश्न उठेका छन् । सीबीएसले उद्धृत गरेका स्रोतहरूका अनुसार हेलिकप्टर र जहाजका लागि सामान्यतया दुई एअर ट्राफिक कन्ट्रोलरहरू तोकिएका हुन्छन् ।
तर उक्त दुर्घटना भएका बेला वाशिङ्टनस्थित विमानस्थलमा एक मात्र एअर ट्राफिक कन्ट्रोलर रहेको पाइएको छ । फेडरल एभिएशन एड्मिनिस्ट्रेशन (एफएए) ले आफ्नो प्रारम्भिक प्रतिवेदनमा सुरुमा न्यूयोर्क टाइम्सले उजागर गरेको एअर ट्राफिक कन्ट्रोलरहरूको सङ्ख्या सामान्य नभएको जनाएको छ । वाशिङ्टनको आकाश विश्वका सबैभन्दा नियन्त्रित हवाई क्षेत्रमध्ये एकमा पर्छ ।
अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् । यातायात सुरक्षासम्बन्धी अमेरिकी राष्ट्रिय निकाय एनटीएसबीले दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन ३० दिनभित्र आउने बताएको छ । उक्त निकायका अधिकारीहरूले आफूहरूसँग धेरै जानकारी रहेको तर… त्यसलाई प्रमाणित गर्न केही समय लाग्ने बताएका छन् ।
विमानको फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्डरले उडानमा भएको गल्तीबारे अनुसन्धानकर्तालाई सङ्केतहरू दिन सक्छन् । दुर्घटनास्थलनजिकै रहेको एनटीएसबीको प्रयोगशालामा ब्ल्याक बक्स लगिने छ र त्यसको जाँच हुने छ ।
खोजी कार्य स्थगित
गोताखोरहरूले बिहीवार दिनभरि पोटोम्याक नदीमा पसेर खोजी कार्य गरेका थिए । तर उनीहरूले वाशिङ्टनको समयानुसार बिहीवार साँझदेखि खोजी कार्य स्थगित गरेका छन् । स्थानीय अग्निनियन्त्रक निकायका प्रमुख जोन डनेलीले विमान खसेको स्थानबाट कम्तीमा २८ वटा शव निकालिएको बताएका थिए । त्यसमध्ये २७ वटा यात्रुवाहक विमानका रहेको र एक सैन्य हेलिकप्टरमा यात्रा गरिरहेका व्यक्तिको रहेको बताइएको छ । –बीबीसी
