पिप्लेबेंसीमा सक्खर उत्पादन

खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनिडाँडास्थित पिप्लेबेँसीमा १६ परिवारको बसोबास छ ।

सुनकोशी किनारमा पर्ने यस गाउँमा पुर्खाकै पालादेखि गाउँभरि उखु खेती हुन्थ्यो । हाल पनि यहाँका दश परिवारले यो खेती गरिरहेका छन् ।

यहाँका किसानले उखु बेच्दैनन्, त्यसलाई पेलेर सक्खर बनाएपछि मात्रै बजारमा पठाउँछन् ।

यहाँ वि.सं २०३८ मा स्थानीय किसानहरू मिलेर खरिद गरेको फलामे मेसिन छ । यही मेसिनमा हल गोरुको सहारामा उखु पेल्छन् ।

त्यसबाट निस्केको रस ठूलो फलामे कराहीमा पकाएर सखर बनाउँछन् । अचेल यस्तै काममा व्यस्त छन् यहाँका किसान ।

स्थानीय कृषक बृहस्पति कार्कीले मेसिनमा पेलेर निस्किएको रस पकाउने र त्यसबाट बनेको खुदोलाई पुनः आगोको भुङ्ग्रोमा पकाएर परम्परागत रूपमा सक्खर बनाउने काम यहाँको पुख्र्यौली पेसाको रूपमा रहेको बताए । ‘पुर्खाका पालादेखि काठको कोलमा उखु पेल्दै आएका थियौँ, पछि २०३८ सालमा किसानहरू मिलेर फलामे मेसिन ल्यायौँ । उक्त मेसिन सबैको पायक पर्ने ठाउँमा जडान गरेर पालैपालो उखु पेल्ने गरिएको छ । आजपर्यन्त त्यसैको प्रयोग गरिरहेका छौँ’, उनले भने ।

यस मेसिनमा किसानले बिहान र दिउँसो पालैपालो हल गोरुसहित उखु पेल्ने गरेका छन् । यसरी उत्पादित सखरको डल्ला बनाएर बिक्री गर्ने गरिएको कार्कीले जानकारी दिए । यहाँ ८०० मा एक धार्नी बिक्री हुने गरेको छ ।

अर्का किसान कण्ठ कार्कीले यस वर्ष यहाँ करिब छ क्विन्टल सक्खर उत्पादन हुने अनुमान गरिएको बताए । यहाँ उत्पादन हुने धेरैजसो सक्खर घरबाटै बिक्री हुने गरेको उनले बताए । ‘एक रोपनी जग्गामा लगाएको उखुबाट सखर बनाएर बिक्री गर्दा रु एक लाखसम्म आम्दानी हुने गरेको छ । यसरी वार्षिक रु चार लाखसम्म आम्दानी हुन्छ’, कार्कीले भने, ‘उत्पादित सक्खर बिक्रीका लागि बजारको कुनै समस्या छैन, बरु मागअनुसार उत्पादन गर्न सकिएको छैन । आगामी दिनमा उखु खेती विस्तार गर्ने योजनामा छौँ ।’

सुक्खा ग्रस्त क्षेत्रमा पर्ने वडा नं १ र वडा नं ११ राजा पानीको भाँड बेँसीमा मात्र सक्खर उत्पादन हुँदै आएको छ । यस नगरपालिकामा उखुसँगै गहत, जुनेलो, बदाम, कपासलगायत परम्परागत कृषि खेती हुँदै आएको छ ।

११ वडा रहेको उक्त नगरपालिकामा परम्परागत रुपमा किसानले गर्दै आएको रैथाने बाली प्रवद्र्धनका लागि नगरपालिकाले अनुदान उपलब्ध गराउँदै आएको छ । सोही नीतिअनुसार भाँड बेँसीमा उखु किसानलाई लक्षित गरी नगरपालिकाले उखु पेल्ने मेसिन उपलब्ध गराएको नगर उपप्रमुख रमेश राउतले जानकारी दिए ।

रैथाने बाली संरक्षण तथा प्रवद्र्धनका लागि पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन स्वरूप आर्थिक सहयोग दिने गरिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *