संरक्षण हुन सकेन हुड्के नाच


जुम्ला । जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको छ । कुनै बेला गाउँमा हुने प्रायः मेला पर्व, विवाह, व्रतबन्ध, सार्वजनिक कार्यक्रममा सुमधुर स्वरमा यो नाच नाच्ने गरिन्थ्यो ।
यहाँका आठ वटै स्थानीय तहका धेरैजसो गाउँघर परम्परागत हुड्के नाचको धूनले गुञ्जायमान भइरहन्थे तर पछिल्लो समय भने आधुनिकताको प्रभावसँगै यो नाच लोप हुन थालेको छ ।
तिला गाउँपालिका–१ का कर परियारले गाउँघरमा सबै जना जम्मा भएर सुन्ने र हेर्ने मौलिक हुड्के नाच हिजोआज लोप हुन थालेको बताए ।
स्थानीय सरकार र सरोकार भएकाहरूले कुनै चासो नराख्दा यो नाच लोप हुने अवस्थामा पुगेको उनले गुनासो गरे । ‘हाम्रो पुस्ताले केही समय त यसको संरक्षणका लागि योगदान गर्यौँ तर एक पक्षले मात्रै चिन्ता गरेर नहुने रहेछ । समाज र सरोकार भएकाहरूले पनि चासो राख्नुपर्यो’, उनले भने, ‘स्थानीय सरकार वडापालिका र गाउँपालिकालाई संरक्षणका लागि माग राखे पनि त्यसको सुनुवाइ भएन ।’
सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले नाच संरक्षणका बारेमा स्थानीयको गुनासोबारे जानकारी प्राप्त भएको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा त्यसलाई सम्बोधन गरिन प्रतिबद्धता व्यक्त गरे ।
तिला गाउँपालिका–१ का अध्यक्ष जङ्गबहादुर बस्नेत सरकार मात्र नभई नयाँ पुस्ताले यसबारेमा चासो नदिँदा पनि नाच लोप हुन थालेको बताउछन् ।
आगामी आर्थिक वर्षमा आफ्नो क्षेत्रमा यस्ता परम्परागत संस्कृतिको संरक्षणका लागि आवश्यक कार्यक्रम तर्जुमा गरिने बताए ।
