राजनीतिक अस्थिरता अन्त्य गर्न गठबन्धन बनेको हो : मुख्यमन्त्री लामा


मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माण गर्न दुई ठूला दल मिलेर सरकार गठन भएको बताएका छन् । उनले नागरिकको आवश्यकता र माग पूरा गर्न सरकारले काम गरिरहेको बताए ।
प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले सरकारले लोकप्रियता नभई आवश्यकताका आधारमा काम गरिरहेको बताए ।
प्रदेश सरकारको काम सरल र सहज बनाउन ‘जिआई ओएमएस सिस्टम’ जडान भएको उल्लेख गर्दै उनले प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन गरी निर्णय कार्यान्वयन गर्न अघि बढाइएको उनको भनाइ थियो ।
‘विपद्बाट प्रभावित नागरिकका लागि राहत वितरण गरिएको छ भने विपद् प्रभावित क्षेत्रको पुनः निर्माणको कामलाई तीव्रता दिइएको छ,’ उनले भने, ‘प्रदेश राजधानी र सङ्घीय राजधानीसहित प्रदेशअन्तर्गतको सडक पूर्वाधार पुनः निर्माणको काम भइरहेको छ । प्रदेश सरकारको आयोजना छनौट व्यवस्थित गर्न आयोजना बैङ्क निर्माण गरी आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने गरी अघि बढाइएको छ ।’
प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री लामाले बताए । सरकारले प्रदेशमा कर्मचारी व्यवस्थापनको कामलाई तीव्रता दिई प्रदेश किताब खानालाई सक्रियतापूर्वक कर्मचारीहरूको तथ्याङ्क अद्यावधिक गर्ने काम गरिरहेको मुख्यमन्त्री लामाले भने ।
