फुपूभदैनी मृत्यु प्रकरण : प्रेम, अस्वीकार र हत्या


काठमाडौं । अछाम जिल्लाको ढकारी गाउँपालिका-८ मा फुपूभदैनी मृत्यु प्रकरण हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले घटनालाई जघन्य हत्या भएको निष्कर्ष निकालेको हो ।
१४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शव माघ १२ गते ढकारी-१, छिन्नेओडार जंगलमा फेला परेको थियो । उनीहरू बाख्रा चराउन गएका थिए ।
घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय अछाम, केन्द्रीय अनुसन्धान ब्युरो (CIB), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको हो । अनुसन्धानपछि निष्कर्ष निकालिएको छ कि ढुंगाको प्रहारबाट उनीहरूको हत्या भएको हो ।
अछामका डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १५ र १७ वर्षीय दुई किशोरले अपराध स्वीकार गरेका छन् । ती किशोरहरू ढकारी गाउँपालिका-३ का हुन् ।
अनुसन्धानअनुसार, मृतक र अभियुक्तहरूबीच प्रेम सम्बन्ध रहेको थियो । आरोपीहरूले मायाको चिनोस्वरूप चुन्नी मागेका थिए, जसमा इशराले चुन्नी दिएकी थिइन्, तर सरस्वतीले अस्वीकार गरेकी थिइन् ।
यही विषयमा विवाद चुलिँदा सरस्वतीलाई यौन प्रस्ताव राखिएको तर उनले विवाहको शर्त अघि सारेपछि झगडा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसपछि अभियुक्तहरूले ढुंगाले हानेर उनको हत्या गरेका थिए ।
इशराले घटनाबारे घरमा जानकारी दिने भनेपछि उनलाई पनि ढुंगाले प्रहार गरी हत्या गरिएको प्रहरी निष्कर्षमा पुगेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।
