जलवायु परिवर्तनको मुद्दा विद्यालयको अनिवार्य शिक्षाका रुपमा लागू गर्नुपर्छ : वनमन्त्री ठकुरी


काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको मुद्दालाई पाठ्यक्रममा समावेश गरेर लैजाने प्रतिबद्धता जनाएका छन् ।
शनिवार काठमाडौंमा जलवायु परिवर्तनमा युवाका भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जलवायु परिवर्तनका मुद्दालाई विद्यालयको अनिवार्य शिक्षाका रुपमा पनि लागू गर्दै लैजानुपर्ने अवस्था रहेको उल्लेख गरे । जलवायु परिवर्तनसम्बन्धी मुद्दाको बारेमा जानकारी दिन सरकारले पाठ्यक्रममा समेट्ने प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।
उनले जलवायु परिवर्तनका मुद्दाहरू वन तथा वातावरण मन्त्रालयले मात्रै बोकेर नसक्ने भन्दै तल्लो स्तरबाटै स्थापित गर्दै र जनचेतना फैल्याउँदै लैजान जरुरी रहेको बताए । मन्त्री ठकुरीले सरकार युवाका मुद्दाहरूलाई गम्भीरताका साथ लिएर युवाहरूले उठाएका आवाजहरूलाई कार्यान्वयन गर्न अघि बढिरहेको बताए ।
निकट भविष्यमै युवा नीति पास गर्ने तयारीमा रहेको जानकारी दिँदै मन्त्री ठकुरीले युवाका आवाज एकीकृत गरेर अगाडि बढ्न नेपाल सरकार तत्पर रहेको बताए । मन्त्री ठकुरीले आगामी वर्षको बजेटमा जलवायु परिवर्तनको मुद्दामा युवाको सहभागिता र सक्रियतालाई अक्र बढी स्थान दिन प्रयास र पहल गर्ने दाबी गरे ।
मन्त्री ठकुरीले भने ‘नेपाल सरकार वन तथा वातावरण मन्त्रालय युवाहरूका मुद्दाहरूलाई गम्भीरताका साथ लिइरहेका छौँ । युवाहरूका मुद्दाहरू, युवाहरूले उठाएका आवाजहरूलाई कार्यान्वयन गर्नका लागि हामीले अघि बढाइरहेका छौँ । युवाको संरचनागत हिसाबले केन्द्रदेखि तल्लो स्थानीय तहसम्म पनि युवाहरूका आवाजहरू सुनिने, युवाहरूका मुद्दा स्थापित गर्नका लागि संरचना स्थापित भएका छन् । निकट भविष्यमै युवा नीति पास गर्न गइरहेका छौँ । त्यसका माध्यमबाट पनि यहाँहरूका आवाज एकीकृत गरेर अगाडि बढ्न नेपाल सरकार तत्पर छ । युवा सशक्तीकरणका लागि, युवालाई हरेक अवसरमा सहभागी गराउन नेपाल सरकार प्रयत्नरत छ । जलवायु परिवर्तनका कुराहरू केबल वन तथा वातावरण मन्त्रालय र अन्य सरोकारवालातिर भन्दा पनि यसलाई तल्लो स्तरबाट स्थापित गर्दै अब त जलवायु परिवर्तनका कुरा पाठ्यक्रममा पनि समावेश गरेर विद्यालयको अनिवार्य शिक्षाका रुपमा पनि लागू गर्दै लैजानुपर्ने अवस्था छ । त्यसको प्रक्रिया अघि बढाइरहेका छौँ । सबै पक्षमा हामी लागिरहेका छौँ । सबैको सल्लाह र सुझावका आधारमा आगामी दिनमा यसको प्रयासहरू गर्दै जानेछौँ ।’
कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले जलवायु परिवर्तनको मुद्दा पर्यावरणको मुद्दा मात्र नभई सशक्तीकरणको मुद्दा पनि भएको बताए । उनले जलवायु परिवर्तनले राजनीतिक, आर्थिक, सामाजिक, पहिचान, सांस्कृतिक लगायतका बहुविषयहरुमा सरोकार बताए । उनले भविष्यको पुस्तालाई जलवायु परिवर्तनका मुद्दाका बारेमा जानकारी दिने उद्देश्यले मुद्दाबारे बहस र छलफल जरुरी रहेको बताए । जलवायु परिवर्तनको मुद्दा जलवायु सम्मेलन ९कोप० का लागि नभई आफ्नो जीवनसँग जोडेर हेर्न जरुरी रहेको बताए ।
उनले भने ‘जलवायु परिवर्तनको मुद्दा सशक्तीकरणको मुद्दा पनि हो । जलवायु परिवर्तनको मुद्दा मात्र पर्यावरणको मुद्दा होइन । यसले बहुविषयहरुमा सरोकार राख्दछ । यो राजनीतिक, आर्थिक, सामाजिक, पहिचान, सांस्कृतिक मुद्दा पनि हो । जुन पुस्ताको भविष्य भोलि छ, हाम्रो आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारलाई पर्यावरणसँग जोडेर भोलिको पुस्तालाई पर्यावरणको सबै कुराको जानकारी दिनुपर्छ । हामी जलवायु परिवर्तनको कुरा कि कोपमा जानु भन्दा एक महिना अगाडि सुरु गर्दछौँ, की आइसकेपछि एक महिना, दुई महिना, तीन महिनासम्म गर्छौं । त्यसपछि सकियो । आधारभूत रुपमा यो कोपका लागि होइन । यो कुरा हाम्रो भविष्यसँग चिन्तित भएर गरिएको हो ।’
महाप्रबन्धक ऐरीले जलवायु शिक्षाको बारेमा आम नागरिकलाई बुझाउन जरुरी रहेको उल्लेख गरे । जलवायु परिवर्तनमा नेपालको सरोकार, समाज र व्यक्तिले गर्ने योगदानका बारेमा बुझाउनुपर्ने आवश्यकता रहेको बताए । जलवायु परिवर्तनको मुद्दा माग्ने, दिने र प्राप्त गर्ने भन्दा नेपालले किन जलवायु परिवर्तनको मुद्दा उठाइरहेको छ ? भन्नेकुरा आम नागरिकलाई बुझाउन जरुरी रहेको बताए ।
