अस्ट्रेलिया उडिन् सरस्वती, विदाइमा भइन् भावुक


काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी चर्चित खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भएकी छन् । सशस्त्र प्रहरी बल (एपिएफ) को जागिर छाडेर उनी अस्ट्रेलिया पलायन भएकी हुन् । राष्ट्रिय टोली र एपिएफकी रोजाईकी स्पाइकर सरस्वती यसअघि केही समयका लागि अस्ट्रेलिया गएकी थिइन् ।
हालै पोखरामा भएको टाइगर कप भलिबल खेल्न नेपाल आएकी सरस्वती प्रतियोगिता सकिए लगत्तै एपिएफको जागिर समेत छाडेर पुनः अस्ट्रेलिया फर्किएकी हुन् । सरस्वती आठ वर्ष अगाडि एपिएफको सेवामा प्रवेश गरेकी थिइन् ।एपिएफका भलिबल खेलाडीहरुले सरस्वतीको बिदाइमा सानो कार्यक्रम राखेका थिए । उक्त कार्यक्रममा सरस्वती भावुक बनेकी थिइन् । विमानस्थलमा पनि उनलाई बिदाइ गर्न निरुता ठगुन्नालगायत भलिबल खेलाडीहरु पुगेका थिए ।
१७ वर्षको उमेरमा सरस्वती एपिएफमा आवद्ध भएकी थिइन् । उनले टीमलाई थुप्रै सफलताहरु दिलाएकी छन्। एपिएफले उपाधि जितेका प्रतियोगितामा उनकै मुख्य योगदान हुने गर्छ । क्लव भलिबलमा तहल्का मच्चाएकी सरस्वतीले सन् २०१४ मा राष्ट्रिय टीममा स्थान बनाएकी हुन् । नेपालमा आयोजित दक्षिण एसियाली आमन्त्रित भलिबल च्याम्पियनसीपमा माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण खेलमा उनले पहिलो पटक राष्ट्रिय जर्सी लगाएकी थिइन् । त्यसयता उनले निरन्तर राष्ट्रिय टिमका लागि अहम् भूमिका निभाउँदै आएकी छन् ।
नेपालले बंगलादेशमा भएको सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि जित्दा सरस्वतीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । नेपालले महिला भलिबलमा जितेको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक थियो । नेपालमै भएको १३ औं सागमा पनि उनले आफ्नो उत्कृष्टता कायम राख्दै टीमलाई फाइनलसम्म पुर्याइन् । फाइनलमा नेपाल भारतसँग ३–२ ले चुकेको थियो ।
नेपालले पहिलोपटक भलिबलमा गत वर्ष भारतलाई हरायो । काभा भलिबल नेसन्स लिगको लिग चरणमा नेपालले भारतलाई ३–१ को सेटमा हराउँदा सरस्वतीकै प्रदर्शन निर्णायक थियो । सरस्वती नेपालको राष्ट्रिय महिला टीमकी खम्बा नै हुन् । ६ फिट १ इञ्च अग्ली उनी कडा स्पाइकका लागि चिनिन्छन् । कैलालीको धनगढीमा जन्मिएकी उनी १२ वर्षको उमेरदेखि भलिबलमा लागेकी थिइन् ।
