घरेलु मैदानमा जित विहीन बन्यो नेपाल, छैटौँ खेलमा पनि पराजित


काठमाडौं । महिला टी–ट्वान्टी श्रृङ्खलामा नेपाल जित विहीन बनेको छ । लगातार छैटौँ खेलमा पनि नेपाल पराजित भयो ।
महिला टी–ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग पराजित भयो । जारी सिरिजमा नेपालले लगातार खराब प्रदर्शन गर्यो ।
सिरिजको अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई ७ विकेटले पराजित गर्यो । जितका लागि ८२ रनको सामान्य लक्ष्य पाएको थाइल्यान्डले १७ औँ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
थाइल्यान्डका लागि चाइवाईले सर्वाधिक २७ रन बनाइन् । नन्नपत कोन्चरोएनकाईले २३ रनको योगदान दिइन् ।
नटय बुचथमले ११ रन बनाइन् भने फन्निता मायाले ९ रन थपिन् । अपिसरा सुवान्चोराथी ९ रनमा नटआउट रहिन् ।
बलिङमा भने नेपालका लागि इन्दु बर्माले सर्वाधिक २ विकेट लिइन् । पूजा महतोले १ विकेट हात पारिन् । अन्य बलर विकेट विहीन रहे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ८१ रनमा समेटियो ।
नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४, राजमती ऐरीले अविजित ११ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् ।
बलिङतर्फ थाइल्यान्डकी ओनिचा कामचोम्फुले तीन तथा चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान एक एक विकेट लिइन् ।
नेपाल यसअघि खेलेका पाँचवटै खेलमा पराजित भएको थियो । यसअघि नेपाल नेदरल्याण्डससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनले पराजित भएको थियो ।
