रामसेवक र गोश्वामीको कथा : टोकरीमा व्यापार, खुसीसँगै आम्दानी

काठमाडौँ । इटहरी-४, मिलनचोकमा जगदम्बा इन्जिनियरिङ्ग वर्कशप अगाडी पूर्वबाट फर्केका बसहरू केहि समयका लागि रोकिन्छन् । बस भित्र रहेका यात्रुहरूका लागि त्यो कहिबेर रोकिने समय हो भने केही व्यक्तिहरूका लागि भने अति नै व्यस्त समय हो ।
विगत १७ वर्षदेखि सुनसरीका ५६ वर्षीय रामसेवक यादवले त्यसठाउँमा चना, मकै, ढुङ्ग्री र बदामहरू बेच्दै आएका छन् । उनी चोयाको टोकरीमा उक्त खानेकुराहरू बोकेर त्यसठाउँमा बिक्री गर्छन् । हाल उनी सपरिवारसहित इटहरीमा कोठाभाडामा बस्दै आएका छन् । पहिले उनी घरमै खेतीपाती गरेर परिवार चलाउँथे । त्यसबाट राम्रै आम्दानी भइरहेको थियो ।
तर वि.सं २०६५ भदौ २ गते कोसीको पूर्वी तटबन्ध फुट्दा उनका सबै खेत बगाए । सबै बालीहरू पुरिए । ‘पहिले खेतीपाती गर्दै थियौँ । २०६५ सालमा कोसी बाध फुट्यो । खेतिसबै डुब्यो त्यो बेला । सबै बालुवै बालुवा भयो । त्यही कारण हामी यता आएको,’ उनी भन्छन् ।
कोसी बाध फुट्दाखेरि १०/१२ गठ्ठा जमिन पुरिएको उनले सुनाए । भन्छन् ‘अहिले त्यहाँ बालुवै बालुवा छ, धान पनि हुदैन् । केही खेती हुदैन् ।’
कोसी बाध फुटेपछि जन्मथलोबाट उठिबास भएका यादवका परिवार त्यसपछि भने कामकै सिलसिलामा इटहरी आइपुगे ।
अहिले यादव होलसेल पसलबाट चना, मकै, ढुङ्ग्री र बदामहरू खरिद गरेर प्याकिङ गरि इटहरीमा बसका यात्रुहरूलाई बेच्ने काम गर्छन् । उनले अहिलेसम्म यही पेसाबाट नै परिवार चल्दै आएको बताए । भने, ‘पूर्वबाट धेरै बसहरू आउँछन् । यहाँ जतिपनि रोक्छन् । ती बसहरूमा बेच्छु । दिनमा ७ सो, ८ सो भइहाल्छ । यसबाटै गुजारा चलिरहेको छ ।’
यादवको श्रीमती र छोरासहित ३ जनाको परिवार छ । यस कामबाट दिनमा ७/८ सय रुपैयाँ कमाउने गरेको उनले सुनाए । यादव चना, मकै र ढुङ्ग्री बेच्न बिहान ७ बजे यहाँ आइपुग्छन् । उनी दिनभर चर्को घाममा उभिएर टोकरीमा खानेकुरा बेच्छन् । उनकी श्रीमती भने घरमा नै रेखदेख गर्छिन् । छोराले अध्ययनलाई निरन्तरता दिइरहेका छन् ।
यादव मिलनचोकमा चना, मकै र ढुङ्ग्री बेच्न पाउँदा एकदमै खुसी भएको बताउँछन् । त्यसमाथि पनि कसैले उनको खानेकुरा किनिदिँदा त झनै रमाउँछन् । उनलाई चर्को घाम, गर्मी र धुलोको केही पर्बाह छैन । उनी सधैँ त्यत्तिकै उभिएर चना, केराउ, बदाम र ढुङ्ग्री बेच्दै गरेका भेटिन्छन् ।
टाउकोमा गम्छा बेरेर ओठमा मुस्कानले भरिएका यादवलाई टाढैबाट चिन्न सकिन्छ । यादव आफ्नो कामबाट एकदिन पनि बिदा लिँदैनन् । कहिलेकाहीँ साह्रोगाह्रो परेर बिरामी हुँदा चाहिँ आराम पाउने उनले बताए । उनले भने ‘म कहिल्यै बिदा लिन्न । कहिले काहि साह्रो, गाह्रो पर्दा चाहिँ आराम गर्छु ।’
उनले एकदिन बिरामी पर्दा ‘परिवार चलाउन नसक्ने पो हो कि’ भन्ने चिन्ताले आफूलाई सताउने गरेको अनुभव साटे ।
त्यस्तै उनका सहकर्मी ४१ वर्षीय राजेश्वर गिरी गोश्वामी पनि उस्तै अनुभव सुनाउँछन् । भन्छन्, ‘यो कामबाट परिवार चल्छ । छोराछोरीलाई यसैबाट पढाइरहेछु ।’
भारतका गोश्वामी सानैमा बुबाआमासंग इटहरी, नेपाल आएका थिए । नेपाल आएको केही समयपछि उनको आमा बित्नुभयो । बुबाले ४ छोराहरूलाई हुर्काउन भनी धरानकी एक महिलासँग विवाह गरे । तर त्यसको केही समयमा नै उनको बुबाको निधन हुन पुग्यो । त्यसपछि सौतेनी आमाले नै उनीहरूलाई हुर्काएको गोश्वामी बताउँछन् ।
उनले आफ्नो विगतलाई स्मरण गर्दै भने ‘सानैमा ल्याउनु भएको थियो । खसिहाल्नुभयो । बाबाले धरानमा विवाह गर्नुभएको थियो, भुजेलनी । उहाँले हुर्काउनुभयो हामीलाई । अनि इटहरी आयौँ । इटहरीमा सुनसान थियो त्यतिखेर । घरहरू केही थिएन ।’
गोश्वामीले जीवनका अनपेक्षित ‘टर्न एण्ड टुइस्ट’ हरूका बाबजुद पनि कक्षा ६ सम्म अध्ययन गर्ने मौका पाए । तर सौतेनी आमाको पनि निधन भएपछि उनका सबै दाजुभाइहरू आ-आफ्नो बाटो लागे । उनलाई केही सिप वा कामहरू सिक्नुभएन भन्ने प्रश्नमा उनी गर्भका साथ उत्तर दिन्छन्, ‘मैलो कुल्फी बनाउन सिके, आइसक्रिम बनाउन सिके । त्यसपछि बदाम बेच्न सुरु गरे ।’
उनले त्यस काममा गर्भ महसुस गर्नु स्वाभाविक पनि थियो किनभने बुबा-आमाको निधन पछि तिनै पेसाले उनलाई नयाँ जीवन दिएको थियो । उनले सानैदेखि आफूले यही काम गर्दै आएको सुनाए ।
गोश्वामीले यही काम गर्दागर्दै नै एक महिलासँग विवाह गरेर घरजम पनि गरे । तिनले एक छोरा र दुई छोरीहरूलाई जन्म दिइन् । त्यसबेला गोश्वामी एकदमै खुसी भएको बताउँछन् । तर उनको त्यो खुसी पनि लामो समयसम्म टिक्न सकेन ।
वि.सं २०७६ सालमा आएको महामारी कोरोना भाइरसका कारण उनको पत्नीको पनि निधन भयो । ‘बुबा पनि खस्यो, आमा पनि खस्यो अनि अस्ति लकडाउनमा बुढी पनि खस्यो । इलाज गरेको बाचेन,’ उनी रुन्चे स्वरमा सुनाउँछन्, ‘के भएको थियो खै, उँधो र उँभो गको गई, गको गई । का का देखाए भएन, धामीहरू सबै देखाए । निको भएन ।’
गोश्वामीले झाडापखालाका कारण आफ्नी पत्नीको निधन भएको दुखेसो पोखे । हाल उनी एक्लै कोठा भाडामा लिएर इटहरीमा बस्दै आएका छन । उनका छोरा कक्षा ११ र छोरीहरू भारतमै हजुरबुबा-आमासँग बसेर साइन्स पढ्दै छन् । उनले भारतमा सासू–ससुरा र दाजुहरू रहेको बताए ।
रामसेवक यादव जस्तै गोश्वामी पनि आफ्नो पेसाप्रति एकदमै खुसी व्यक्त गर्छन् । उनी दोकानबाट सामानहरू किनेर घरमा ल्याउँछन् र प्याकिङ गरेर बेच्छन् । ‘बेलुका यहाँबाट गएर रेडी गर्नुपर्छ । दिनभरि बेच्यो, बेलुका रेडी गर्यो । सबै ५० रुपैयाँको हो । बदाम, चना, हरियो मटर, चिप्स, मकै सबै,’ उनी भन्छन् ।
गोश्वामी कामबाट एकदिन पनि बिदा लिन नचाहने सुनाउँछन् । ‘आराम लिनुहुन्छ कि लिनुहुन्न’ भन्ने प्रश्नमा उनी जवाफ दिन्छन्, ‘छोरा मान्छेको कहिल्यै फुर्सद हुदैन् । आराम त यस्तै हो । ’
इटहरीको मिलनचोकमा भेटिएका ती दुवै पात्रहरू सरकार र आफ्नो जीवनसँग कुनै पनि गुनासो नभएको बताउँछन् । बरु, मेरो लेख पढेर उनीहरूको पेसामा सरकारले हस्तक्षेप गर्ने हुन कि भन्ने चिन्ता उनीहरूमा छ ।