पोखरामा कोटीहोम गर्न किन दिएन महानगरले अनुमति ?

काठमाडौं । पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसन नेपाललाई लेकसाइड क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको छ । माघ २० गते सम्पन्न ४२औँ नगर कार्यपालिकाको बैठकले उक्त अनुमति अस्वीकार गर्दै नेपाल ट्रस्टलाई जग्गा भाडामा दिने निर्णय पनि रद्द गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।

महानगरका अनुसार नेपाल ट्रस्टले उपलब्ध गराएको भनिएको लेकसाइड क्षेत्र अत्यधिक व्यस्त पर्यटकीय क्षेत्र भएकाले सुरक्षा संवेदनशीलताको दृष्टिले सो स्थानमा कोटीहोम सञ्चालन उपयुक्त नहुने ठहर गरिएको छ । यसै कारण महानगरले नेपाल ट्रस्टलाई तुरुन्तै अनुमति रद्द गर्न अनुरोध गरेको हो ।

लेकसाइड, विशेष गरी फेवाताल किनार, पोखराको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक हो । त्यहाँ ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरूको आउजाउ हुने भएकाले लामो समयसम्म एकै प्रकारका कार्यक्रम सञ्चालन गर्दा भीडभाड बढ्न सक्ने तथा पर्यटन व्यवसायमा प्रत्यक्ष असर पर्ने महानगरको तर्क छ ।

त्यसैगरी, नगर कार्यपालिकाले मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि भन्दै संरक्षण गरिएका ऐतिहासिक चौतारी क्षेत्रका वर-पीपलका रुखहरू गैरकानुनी रूपमा कटान गरेको आरोप लगाएको छ । जैविक विविधता तथा पर्यावरणमा क्षति पुर्‍याउने यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न महानगरले डिभिजन वन कार्यालय, कास्कीलाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।

नगरपालिकाले धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न महानगरको पूर्वस्वीकृति लिन अनिवार्य रहेको बताउँदै सबै वडा कार्यालय तथा सम्बन्धित शाखाहरुलाई सोही व्यवस्थाको कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *