जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’

साहित्य प्रेमीहरूलाई मनपर्ने वसन्त ऋतु भित्रने तरखरमा छ । साहित्यले माया, प्रेम, स्नेह, यर्थात र जिन्दगीका सुखदुख र गुम्सिएका भावानाहरुको उजागर गर्छ । त्यसकारण साहित्य जीवनको अभिन्न अंग हो । जसले जिन्दगीमा रस भर्छ । निराशा र कुण्ठाहरू कतै बिर्सिन गरेर लयबद्ध जीवन जिउन सघाउँछ । जीवनमा दुखमा पनि सुख खोज्न साहित्यले नै भूमिका खेल्छ । हो, यही अमर विद्याका एक होनाहार सर्जक हुन् युगकवि सिद्धिचरण श्रेष्ठ । उनका कालजयी सिर्जना र साहित्य आज पनि अमर छन् । उनका सिर्जनाहरू कति गीत बनेर गुन्जिरहेका छन् कति कविता बनेर गुन्जिरहेका छन् त कति कथा बनेर । ती अमर, अजर छन् ।
तिनै महान् सर्जकका कविता र सिर्जनाहरूमाथि गहन समीक्षा गर्दै जन्मिएको साहित्यकार स्वयम्भू शाक्यको ‘क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण’ पुस्तक नेपाली साहित्यको अमूल्य सामाग्री हो ।
युगकवि सिद्धिचरणले बाँचेको त्यो इतिहास र त्यो बेलाको समय र साहित्य बुझ्न उक्त पुस्तक अत्यन्त महत्त्वपूर्ण छ । कविताहरूमार्फत युगकविले त्यो युगमा कसरी आफ्ना भावानाहरु बुलन्द गरे ? समयका आवाजहरू कसरी गुञ्जिए ? भन्ने कुरा पुस्तकमा पढ्न र महसुस गर्न सकिन्छ । पुस्तकका लेखक शाक्यले युगकविका कविताहरू माथि खुब न्याय गरेका देखिन्छन् । खुब प्रेमभाव दर्साएका देखिन्छन् । त्यसकारण यस पुस्तक युगकवि सिद्धिचरणका साहित्य रचनामाथि अध्ययन गरिएको एउटा सुन्दरतम कृति हो भन्दा अत्तियुक्ति हुनेछैन । स्वयम्भू शाक्यले युगकविको ‘नयाँवर्ष’ शीर्षकको कवितामाथि यसरी प्रकाश पारेका छन् ।
‘पात पुराना झरिरहेका देख्दैनौँ ती वृक्ष नयाँ
हरिया लहलह चिडिया चहचहल्याउन सरस वसन्त यहाँ’
शाक्य लेख्छन् ‘पातहरू पुराना हुनु समयले पातहरू गलाउनु हो । पुराना वृक्षमा नयाँ पातहरू हुनेछन् । पुराना वृक्षमा वसन्तको आगमनसँगै नयाँ पातहरू पलाउने छन् । हेर्दै लोभलाग्दो हरियो भएर हावाका झोक्काहरूसँगै पातहरू पनि मस्त भएर आफ्नै धुनहरूमा गीतहरू गाउनेछन् । पुस्तकमा लेखक शाक्यले युगकविका कविताहरूमा सुन्दर एवं सकारात्मक दृष्टिकोण राखेका छन् । युगकविकै लयलाई पछ्याउँदै प्रकृति र जीवनका यर्थातहरुको बयान गरेका छन् ।
वास्तवमा युगकविका रचनाहरु आजपनि उत्तिकै यथार्थपरक छन् । जीवन र जगतको यर्थातलाई कवितामार्फत पस्कने कविले कविता मात्रै लेखेका छैनन् झणभरङ्ग निराशाहरूमा पनि डुबिरहने मानव जगतलाई बाँच्ने तरका र अभिलाषाहरू सिकाएका छन् । युगकविले स्वार्थी हुँदै गएका मानिसहरु प्रति ब्यग्य गर्दै ‘मानिस छैनन्’ कविता पस्केका छन् ।
सुन, म भन्छु त्यहाँ मानिस नै छैन, छैन, छैन ।
तिमी भनौँला ती रङ्गीचङ्गी लुगालाई
नक्कल, झक्कल गर्दै झ्यालमा देखा पर्ने को हुन ?
म भन्छु तिनीहरू त पुतली हुन् पुतली
पुतलीहरूले पनि कहीँ तिमीहरूको क्रन्दन सुन्छ ?
शाक्यले पुस्तकमा आफ्ना भावपक्तिं यसरी कोरेका छन् ‘के रहस्य होला, मान्छे विवेक भएर पनि किन आफ्नो बाटोमा हिँड्न नसकेको होला ? अनौठो लाग्छ, यो अनौठो संसारभित्र अनौठो तरिकाबाटै हाम्रो जीवन लीला समाप्त हुनेछ । यो छोटो जीवनमा बुझ्दा बुझ्दै बुझ्न नपाउँदै मान्छेहरू त्यसै सुत्नेछन् । हामी त बाँचेर पनि केही गर्न नसक्ने जिउँदो मुर्दा हुनेछौं ।’
यस्ता कैयन कविताहरूमाथि लेखकले जीवनको यर्थातको धरातलमा उभिएर समीक्षा गरेका छन् । जसले युगकविका कविताको ओझ बढाएको छ । कविताको भावनाहरू प्रकाश पारेको छ । कविता पढ्नलाई अझै प्रेरित गरेको छ । यति हुँदा हुँदै लेखक शाक्य कतिपय ठाउँमा दोहोरिएका छन् । कतिपय कवितामाथि बढ्तै भावनामा डुबेका छन् र समीक्षा लम्बेतान भएको छ । तरपनि यस पुस्तकले युगकविका रचनाहरूलाई असाध्यै न्याय गरेको छ ।
यस पुस्तकमा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाले मन्तव्य जाहेर गरेका छन् । पुस्तकको ऐतिहासिक महत्वबारे युगकवि सिद्धिचरणको सिर्जनाका अध्येता डा फणिन्द्रराज निरौलाले प्रकाश पारेका छन् । त्यसैगरी युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले पुस्तकमाथि टिप्पणी गर्दै भनेका छन् ‘युगकवि सिद्धिचरणका कविता र खण्डकाव्यहरूको विषयमा चिन्तन र विवेचना गरी प्रकाशनमा आएको पुस्तक एक महत्त्वपूर्ण दस्ताबेज भएको छ ।’
लेखक शाक्यले यस पुस्तकमा ६५ वटा फुटकर कविता, युगकविको जेल संस्मरण, मंगलमान, जुनकिरी र भिमशेन थापा शीर्षकको खण्डकाव्यका बारेमा अध्ययन गरि लेखिएको पुस्तक ५४० पेजको रहेको छ । पुस्तक स्वदेश प्रकाशनले बजारमा ल्याएको छ ।