प्रदेश आमसञ्चार विधेयक सदनमा पेस

मोरङ । कोशी प्रदेशसभाको आइतबारको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ सदनमा पेस भएको छ ।

सो विधेयक प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको थियो । उनले विधेयक प्रस्तुत गर्दै पत्रकारको क्षमता वृद्धि तथा श्रमजीवी पत्रकारको सेवासुविधा सम्बन्धमा विधेयकमा उल्लेख गरिएको बताए ।

मन्त्री भण्डारीले विधेयकमा पत्रकार दुर्घटना बीमा, बिरामी बिमा उपचार खर्च तथा पत्रकार कल्याण कोष जस्ता व्यवस्था विधेयकमा राखिएको जानकारी दिए ।

यसैगरी, प्रदेशमा सञ्चालित टेलिभिजन, एफएम, पत्रपत्रिका, अनलाइनको दर्ता, अभिलेखीकरण र विज्ञापनको समान वितरण जस्तो व्यवस्था विधेयकमा रहेको बताए ।

यसैगरी, भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले ‘प्रदेश भवन ऐन,२०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा टेबल गरे । उनले विधेयक प्रस्तुत गर्दै विधेयकमा भवन निर्माणको ‘डिजाइन’को योग्यता छुट्टयाएकाले भवन भत्किन गएमा सहज रुपमा क्षतिपूर्ति उपलब्ध हुने बताए ।

‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि भएको छलफललाई निरन्तरता दिइएको छ । छलफलमा प्रदेशसभा सदस्यहरु इस्राइल मन्सुरी, प्रदीपकुमार सुनुवार, छविलाल चुडाल, राधाकृष्ण खनाल र नानीमैयाँ श्रेष्ठले हरेक नागरिकले स्वच्छ खानेपानी तथा विपन्नले निःशुल्क खानेपानी पाउनुपर्ने विषय उठाएका थिए ।

यसअघि शून्य समयमा प्रदेशसभा सदस्यहरु गणेश उप्रेती, रमेशकुमार बस्नेत, गीतादेवी रेग्मी, मालतीकुमारी लिम्बू, गोम्बु शेर्पा, गोविन्द गिरी, शोभा चेम्जोङ र गोपाल तामाङले भारतीय पर्यटकलाई सहज आवागमनको व्यवस्था गर्नुपर्ने तथा मुलुकलाई कृषिमा आत्मनिर्भर गर्न तीनै तहका सरकारले आवश्यक नीति ल्याउनुपर्ने सुझाव दिए ।

प्रदेशसभाको अर्को बैठक सोमबार अपराह्न २ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *