बालबालिकालाई डिजिटल लतबाट कसरी जोगाउने ?

काठमाडौं । अहिलेको डिजिटल युगमा बालबालिकाको डिजिटल स्क्रिनमा बढी नै हुन्छ । डिजिटल स्क्रिनमा बालबालिकाको ध्यान जाँदा उनीहरूको समयसँगै स्वास्थ्यमा पनि समस्या आइरहेको हुन्छ । स्क्रिनले बालबालिकाहरूको शारीरिकसँगै मनोवैज्ञानिक रुपमा पनि असर गरिरहेको हुन्छ । मोबाइल, ल्यापटप जस्ता डिजिटल स्क्रिनबाट बालबालिकालाई कसरी जोगाउने ? स्क्रिनले पार्ने असर के-के हुन ? लगायतका विषयमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल रोग विशेषज्ञ डा.अनिलराज ओझासँग मकालुखबरकर्मी विष्णुमाया श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :-
बालबालिकाहरूले धेरै समयसम्म स्क्रिनमा हेर्ने, मोबाइल चलाउने गर्दछन् यसबाट उनीहरूलाई कस्तो असर पर्न जान्छ ?
यसको दुई वटा असरहरू हुन्छ एउटा मनोवैज्ञानिक असर र अर्को शारीरिक असर हुन्छ ।
पहिलो शारीरिक असर : शारीरिक असर भन्नाले स्क्रिन टाइमले गर्दा बच्चाहरूको आँखाको दृष्टिमा असर पर्न सक्छ । स्क्रिन हेर्ने क्रममा बच्चाहरूले धेरै जङ्गफुडहरु खाने गर्दछन् । यसले गर्दा बच्चाहरूले कति खाएँ भन्ने कुराहरू पनि थाहा हुँदैन, यसले बच्चाहरूलाई युरिक एसिडको समस्या पनि हुने गर्छ ।
अर्को मनोवैज्ञानिक असर : मनोवैज्ञानिक असर भन्नाले स्क्रिन टाइम धेरै भएपछि मान्छेहरूसँग दोहोरो सञ्चारमा समस्या हुन्छ । यसले गर्दा बच्चाहरूसँग सामान्य घुलमिल हुने, बच्चाहरू वार्तालाप गर्ने, कुराकानीहरू गर्ने देखि लिएर बच्चाहरूको भाषामा बोलीको विकाशमा पनि यसले असर गरिरहेको हुन्छ । यस कारण बच्चाहरू ढिलो बोल्ने, समाजमा घुलमिल नहुने जस्ता समस्याहरू पनि देखिने गरेका छन् । विकास हुने क्रममा धेरै स्क्रिन हेर्यो भने ब्रेनमा पनि समस्या आउन सक्छ । ब्रेनमा मेलाटोनिन भन्ने हर्मोन कम उत्पादन हुने जोखिम हुन्छ । त्यो हर्मोन सुरुवात गर्ने हर्मोन हो त्यसले गर्दा स्क्रिन, मोबाइल, टिभी हेर्दा हर्मोनको उत्पादन कम हुन जान्छ र बच्चाहरूको सुताइमा पनि समस्या हुन जान्छ । सुत्न पनि समयमा नसुत्ने र सुताई पनि पर्याप्त मात्रामा हुँदैन, यस्तो हुँदा व्यवहार सम्बन्धी समस्याहरू देखिन्छ । शारीरिकसँगै मनोवैज्ञानिक विकास सम्बन्धी दोहोरो असर गरिरहेको हुन्छ ।
बालबालिकाहरूमा मोबाइल चलाएर खाना खाने बानी हुन्छ । यसरी खाना खाने समयमा मोबाइल देखाएर खुवाउनु उपयुक्त हुन्छ ?
यस्तो गर्नु हुँदैन, बच्चाहरूलाई खाना कसरी खाने त्यसलाई टेस्ट कसरी लिएर खाने भन्ने कुराहरू पनि एउटा सिक्नु पर्ने स्किल हो । यसरी स्क्रिन हेरेर खाँदा कति खायो, के खायो, त्यसलाई कसरी खाइरहेको छ भन्ने कुराहरू पनि बच्चाहरूको ध्यान हुँदैन । स्क्रिन हेर्दै खाँदा बच्चाहरूले धेरै खानेकुराहरू पनि खाइरहेका हुन्छन् । त्यसलाई स्क्रिन भन्दा पनि परिवारमा सँगै बसेर खाना सँगै खाने बानीको विकास गराउनु पर्छ ।
बच्चाहरूलाई मोबाइलको लत हटाउन के गर्ने ?
बच्चाहरूलाई खेलको एक्टिभीटिजहरुमा बढी सहभागिता गराउने र यस्तो खेलहरूमा बच्चाहरूलाई मोटिभेट (हौसला) पनि गराउनु पर्दछ । यसले गर्दा मोबाइल स्क्रिन हेर्ने बानी आफै हटेर जान्छ । हामीले हाम्रो सजिलोको लागि मोबाइलहरू दिन्छौँ अनि बच्चाहरूले एकोहोरो हेर्छन् । सजिलो त हुन्छ, तर यसको असरहरू नराम्रो पर्ने भएकोले फिजिकल आउटडोर खेलहरूमा बढी सहभागिता गराउनु पर्दछ । अलि ठुलो बुझ्ने बच्चाहरूलाई नकारात्मक कुराहरूबारे काउन्सेलिङ पनि गराउनु पर्दछ । के गर्नु हुन्छ के हुँदैन भन्ने कुराहरू सही गलत सिकाउनु पर्दछ ।
यसको साथ साथै बच्चाहरूले बढी मात्रामा जङ्ग फुड खाने गर्दछन् । यसले बच्चाहरूको स्वास्थ्यमा कस्तो असर पर्छ ?
जङ्ग फुड खानेकुराहरूमा पोषण युक्त खानेकुराहरू अलि नै कम हुन्छन् । कम हुने भएकोले बच्चाहरूलाई चाहिने पोषण पाउन सक्दैनन् । तर जङ्गफुडहरुमा स्वास्थ्यलाई खराब गर्ने खालका तत्त्वहरू भएकोले ती चिजहरूले शारीरिक विकाशमा असर गर्दछ । युरिक एसिड बढाउने लगायतका कुराहरूमा समस्या पर्न सक्छ ।
बच्चाहरूलाई कस्तो खाने कुराहरू स्वास्थ्य हुन्छ ?
प्रकृतिले दिएको खानेकुराहरू जस्तै फलफूलहरू, तरकारीहरू, भेजिटेबलहरु, कार्बोहाइड्रेट भात, प्रोटिनमा अण्डा, दूध, दही यस्ता चिजहरू गेडागुडी, माछा मासुहरू यी सबै कुराहरू ब्यालेन्स मिलाएर खान दिनुपर्दछ । जुन कुराहरू आर्टिफिसल बनेको हुन्छ, जस्तै विभिन्न कलरका खानेकुराहरू, प्याकेजका खाने कुराहरू भने खान दिनु हुँदैन ।
बालबालिकाको स्वास्थ्यमा अभिभावकले कसरी ध्यान दिन सकिन्छ ?
फिजिकल हेल्थ र मेन्टल हेल्थ गरी दुई प्रकारको स्वास्थ्यमा ध्यान दिन सकिन्छ । फिजिकल हेल्थमा पोषणयुक्त खानेकुराहरू खुवाउनु हो । हेल्दी फलफूलहरू भेजिटेवलहरु दिने, जङ्गफुडहरु नदिने, खाना खाँदा स्क्रिनिहरु हेर्न नदिने गर्नुपर्दछ । पोषणको हिसाबले कार्बोहाइड्रेट, साग प्रोटिन, भिटामिनहरू जस्ता सबै कुराहरू पाउने गरी बच्चाहरूलाई ब्यालेन्स मिलाई दिनु पर्दछ । यसले गर्दा बच्चाको फिजिकल ग्रोथहरु पनि राम्रो हुन्छ । फिजिकल ग्रोथ राम्रो भएपछि मेन्टल हेल्थ अथवा दिमागको विकास पनि राम्रो हुन्छ । बच्चाहरूलाई खेलमा सहभागी गराउने र समाजमा घुलमिल गर्ने वातावरण बनाउनु पर्दछ । बच्चाहरूको विकासको लागि गर्ने यस्ता गतिविधिहरू गर्नु पर्दछ ।
सरकारले बालबालिकाको मानसिक स्वास्थ्यका लागि के गर्न आवश्यक छ ?
यसमा सरकाले गर्नु पर्ने धेरै कुराहरू छन् । यस मध्य पहिलो भनेको जङ्ग फुडको प्रवर्धनको हिसाबले यस्ता खानेकुराहरूको विज्ञापनहरू हटाउनु पर्ने हुन्छ । सरकारले गर्ने भनेको स्कुल जानु भन्दा पहिला बालबालिकाहरूलाई विकासको लागि ठाउँ ठाउँमा वडाहरूमा निःशुल्क रूपले बच्चाहरूको विकास वृद्धि गर्नको लागि विभिन्न कार्यक्रमहरू गर्नुपर्दछ । यति मात्र नभएर उपयुक्त हुने ठाउँमा बच्चाहरूलाई खेल्ने ठाउँ जस्तै विभिन्न खेलहरू, स्विमिङ पुलहरू, जिम सेन्टरहरू जस्ता सबै कुराहरूको व्यवस्था गर्न सक्यौँ भने बच्चाहरूको अन्य कुराहरूमा पनि ध्यान जाँदैन । मिडियाहरूबाट पनि इटिङ हेल्थहरू सम्बन्धी कस्तो खानेकुराहरू खानु पर्दछ भन्ने कुराहरूलाई मिडिया मार्फत पनि ल्याउन सक्यो भने बच्चाहरूको स्वास्थ्यमा सकारात्मक असर पर्न जान्छ । यस्ता कुराहरूले बच्चाहरूको फिजिकल मेन्टल हेल्थ सम्बन्धीमा विकास हुने गर्दछ ।
बालबालिकाको मानसिक समस्या कसरी पत्ता लगाउने ?
यसको लागि बाल रोग विशेषज्ञहरूलाई पनि देखाउनु पर्ने हुन्छ । कुनै पनि अभिभावकहरूलाई आफ्नो बच्चाको बारेमा केही शङ्का लाग्यो भने बच्चाहरूको बोलीमा ढिलाइ भयो भने अरु समाजमा घुलमिल कम भयो भने, एन्जाइटिका कुराहरू देखिन थाल्यो भने विचार सम्बन्धी कुनै पनि समस्या देखिन थाल्यो भने बाल रोग विशेषज्ञलाई देखाउने अथवा बाल चिकित्सकहरूलाई देखाउनु पर्दछ । के समस्या भएको हो भन्ने उहाँहरुले हेरे पछि थाहा हुन्छ । यसरी बालबालिकाको समस्या पहिचान गरी समाधान गर्न सकिन्छ ।
अन्तिममा के भन्न चाहनु हुन्छ ?
बच्चाहरूको स्वास्थ्यको हिसाबमा फिजिकल हेल्थ, मेन्टल हेल्थका गतिविधिहरूलाई लिएर माथिका सबै कुराहरूमा ध्यान दिन जरुरी छ । अभिभावकहरूले बच्चाको भविष्य मा ध्यान दिई उनीहरूलाई कस्तो वातावरण बनाउनु पर्छ भन्ने कुराहरूमा ध्यान दिनुहोला । बच्चा बाट नै स्वास्थ्यमा वा शारीरिक मानसिक स्वास्थ्यमा ध्यान दिइयो भने पछि बच्चाको स्वास्थ्यमा सकारात्मक असर पर्न जान्छ । त्यसैले बच्चाहरूको हरेक गतिविधिहरू लाई ध्यानमा राखी उनीहरूको पछि सम्मको स्वास्थ्यमा असर नपर्ने तरिकाले उनीहरूको स्वास्थ्यमा ध्यान दिनु पर्दछ ।