जलवायु उत्तरदायी बजेट २० प्रतिशत पुर्‍याइने (भिडिओ)

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा जलवायु उत्तरदायी नीति अवलम्बन गर्न सबै तहका सरकारलाई आग्रह गरेको छ ।

आयोगले पत्राचारमार्फत १६ औँ योजनामा उल्लेखित हरित तथा जलवायुमैत्री विकास लक्ष्यलाई प्राथमिकता दिँदै नीति, रणनीति र बजेट जलवायु उत्तरदायी बनाउनु आवश्यक रहेको जनाएको छ ।

जलवायु परिवर्तनका कारण विपद् घटनाहरू बढ्दै गएकाले विकास निर्माणका गतिविधिहरू जलवायुमैत्री बनाउन आयोगले विशेष जोड दिएको छ।

आयोगका सचिव मधुकुमार मरासिनीका अनुसार १६ औँ योजना कार्यान्वयनको पहिलो वर्षमै तीन वटै तहका सरकारको बजेट, नीति तथा रणनीतिमा हरित विकासको प्रभाव स्पष्ट देखिनुपर्ने छ ।

उनले जलवायु परिवर्तनको विषय संघीय सरकार मात्र होइन, सबै तहका सरकारहरूको साझा जिम्मेवारी भएकाले समान समझदारी जरुरी रहेको बताए ।

आयोगले १६ औँ योजनाको कार्यान्वयन कार्ययोजना तयार गरिरहेको छ, जसमा जलवायु परिवर्तन अनुकूलन, प्रदूषण नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा कार्बन उत्सर्जन घटाउने लक्ष्य राखिएको छ । साथै, आन्तरिक तथा बाह्य लगानी परिचालन गर्दै राष्ट्रिय अनुकूलन योजना तथा स्थानीय अनुकूलन कार्ययोजनाहरू कार्यान्वयन गरिने योजना छ ।

जलवायु वित्तीय सहायता प्राप्त गर्न कूटनीतिक संवाद, सहमति तथा सम्झौताहरूलाई प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय जलवायु कोष, कार्बन व्यापार, निजी क्षेत्र र विकास साझेदारहरूको सहयोग विस्तार गर्न पहल गरिने आयोगले जनाएको छ ।

विगतमा पूर्वाधार विकासमा ध्यान केन्द्रित गरिए पनि तिनै पूर्वाधार विपद्का कारक बन्न पुगेका कारण अबका विकास गतिविधिहरू जलवायुमैत्री हुनुपर्नेमा आयोगले विशेष जोड दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *