लगानीकर्ता सुनतर्फ आकर्षित

सुनको मूल्य तोलाको २ लाख आसपास पुग्ने अनुमान

काठमाडौं । विश्वव्यापी लगानीकर्ताहरू अनिश्चितताका बेला सुरक्षित लगानीको विकल्प खोज्दा प्रायः सुनतर्फ आकर्षित हुने गर्छन् । हालैका दिनमा अमेरिकाले विभिन्न देशहरूबाट आयात हुने सामग्रीमा थप शुल्क लगाउने नीति अवलम्बन गरेपछि विश्वव्यापी व्यापार युद्धको सम्भावना बढ्दै गएको छ । यसको प्रभाव नेपाली बजारमा प्रत्यक्ष रूपमा देखिएको छ ।

पछिल्ला केही महिनायता सुनको भाउ उच्च बिन्दुमा पुगेको छ । वैवाहिक सिजन नजिकिँदै गर्दा व्यवसायीहरूले सुनको मूल्य ऐतिहासिक उच्च विन्दु पार गर्न सक्ने अनुमान गरेका छन् । सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यकाअनुसार अमेरिकाका राष्ट्रपतिले विभिन्न देशमा लगाउने भनेको भन्सार शुल्कका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको छ । ‘नयाँ नीतिका कारण सुनको मूल्य निरन्तर बढेको छ,’ उनले भने, ‘यसरी नै बढ्दै गयो भने केही दिनमै १ लाख ७५ हजार रुपियाँ पुग्ने देखिन्छ ।’

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य बढेर ३ हजार डलर पुग्ने देखिएको छ, त्यतिबेला स्थानीय बजारमा प्रतितोला सुनको मूल्य तोलामा दुई लाख आसपास पुग्ने अनुमान गरिएको उनको भनाई छ ।

गत कार्तिक १५ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चतम विन्दुमा अर्थात् प्रति तोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । मंसिर महिनामा केही गिरावट आएर १ लाख ५१ हजार ३ सय रुपैयाँसम्म झरे पनि हाल फेरि मूल्य वृद्धिको क्रम देखिएको छ । माघ २९ गतेसम्ममा यो १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिआउन्स सुनको मूल्य २ हजार ९ सय २० डलर पुगेको छ, जुन पाँच वर्षअघि करिब १ हजार ६ सय डलर थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार सुनको मूल्य अझै बढ्न सक्ने संकेत देखिन्छ । अमेरिकी व्यापार नीतिहरू, डलरको बढ्दो विनिमय दर, र विश्वव्यापी आर्थिक अस्थिरताका कारण लगानीकर्ताहरू सुनमा आकर्षित भइरहेका छन् । रसाइलीका अनुसार निकट भविष्यमा प्रति आउन्स ३ हजार डलर पुग्ने सम्भावना छ ।

वर्ल्ड गोल्ड काउन्सिलका अनुसार सन् २०२४ मा विश्वव्यापी रूपमा सुनको माग ४ हजार ९ सय ७४ मेट्रिक टन पुगेको छ, जुन ऐतिहासिक रूपमा उच्च हो । लगानीका लागि मात्र १२ सय टन सुन खरिद गरिएको छ भने केन्द्रीय बैंकहरूले १ हजार टन सुन संकलन गरेका छन् । चीन र भारत सुन सञ्चय गर्ने प्रमुख देशहरूमध्ये पर्दछन् ।

नेपाल राष्ट्र बैंकका भूतपूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले विदेशी विनिमय सञ्चिति विविधीकरण गर्ने उद्देश्यले विभिन्न देशका केन्द्रीय बैंकहरू सुनमा लगानी गरिरहेको बताए । हाल नेपाल राष्ट्र बैंकसँग झन्डै २३ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति रहेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार नेपालले सुनलाई विदेशी विनिमय सञ्चितिको महत्त्वपूर्ण अंशका रूपमा हेर्ने गरे पनि हाललाई आक्रामक लगानी गर्ने योजना छैन । तर, आवश्यकताअनुसार नीति परिमार्जन गर्दै जाने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *