नेपाल-भारत रंग महोत्सवमा नाटक ‘बाबुजी’ मञ्चन (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँमा जारी नेपाल—भारत रंग महोत्सवमा भारतीय नाटक ‘बाबूजी’ मञ्चन भएको छ ।
मंगलबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठान र राष्ट्रिय नाट्य विद्यालय नयाँ दिल्ली भारतको सहकार्यमा नाटक ‘बाबूजी’ मञ्चन भएको हो ।
उत्तर भारतको सबैभन्दा लोकप्रिय लोक अपेरा थिएटर नौटंकी शैलीमा मञ्चन गरिँदा नाटकले दर्शको अपेक्षाभन्दा बढी नै वाही वाही पाउन समेत सफल भएको छ ।
हिन्दी कथा साहित्यमा प्रसिद्ध भारतीय कथाकार मिथिलेश्वरले लेखेका यस नाटकलाई विभांशु वैभवले नाट्य रूपान्तरण र राजेश सिंहले निर्देशन गरेका हुन् । नाटकका नायक बाबूजी नौटंकी कलाकार हुन्छ । उ, सामाजिक र पारिवारिक जिम्मेवारीलाई बचाउँदै नौटंकी कम्पनी खोल्न घरमा अभ्यासरत हुन्छ । तर नौटंकी लोकनाट्यप्रतिको उसको रुचि र लगावकै कारण पारिवारिक जीवन लथालिंग हुन्छ ।
पत्नी, छोरा र उसका आफ्ना साथी र समाज कसैले पनि उसलाई साथ दिँदैनन् केवल नौटंकी नर्तक सुरसतीले मात्र उसलाई साथ दिन्छे । त्यसैले ऊ घरबाट निकालिन्छ । तै पनि कलाप्रतिको उसको प्रेम र समर्पण कम हुँदैन । उसले नौटंकी कम्पनी खोलेर केही सफलता पनि प्राप्त गर्छ, तर अन्ततः आफ्नै नौटंकी देखाउने क्रममा नर्तक सुरसतीको विषयमा हुने विवादमा ऊ माथि आक्रमण हुन्छ । घाइते अनि सराबीको समेत लती बाबूजी आधा बोतल मदिरा बाँकी रहँदै मृत्यु वरण गर्छन् ।
अलग अलग व्यक्ति र वर्गको सोचाई समग्र समाजले कसरी लिन्छ भन्ने सटिक प्रतिविम्बन गरेको छ नाटकले । भारतको ग्रामीण जीवन, त्यहाँका मान्छेको संघर्ष र समस्यालाई सुन्दर ढंगले उठान मात्र गरिएको छैन, एउटा कलाकारले आफ्नो जिन्दगीमा भोग्नु पर्ने अनेक संघर्ष र द्वन्द्वलाई सशक्त रुपमा उठाइएको छ ।
महोत्सवको आज अन्तिम दिन ‘ताजमहलका टेण्डर’ मञ्चन हुनेछ । यो विश्वमै सबैभन्दा बढी मञ्चन भएका नाटकमध्ये एक हो ।