ओली सरकार कांग्रेसले चाहेर निर्माण भएको होइन : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार नेपाली कांग्रेसले चाहेर निर्माण नभएको बताएका छन् । बुधवार बुटवलमा नेपाल मुस्लिम संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले सरकार बनाउने कुरामा अरुसँग सहकार्य गर्ने विकल्प नरहेको उल्लेख गर्दै बाँकी यही सरकारमा बसेर बाँकी समयको सदुपयोग गर्ने उनको दाबी छ । सरकार चलाउने सम्बन्धमा पार्टीका आधारभुत मूल्य र मान्यतामा कुनै सम्झौता नहुने उनले बताए ।
उनले पार्टीले विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभुत मूल्य र मान्यताहरुमा सम्झौता नगरिने समेत बताए ।
उनले भने,‘नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने परिस्थिति निर्माण भयो । हामीले गरेको होइन । त्यो आफैं निर्माण भएको हो । अब नेपाली काँग्रेसले के गर्ने हो ? नेपाली काँग्रेससँग एक्लै सरकार चलाउनका निम्ति बहुमत छैन । कुनै न कुनै पार्टीसँग मिलेर सरकार चलाउनुपर्ने स्थिति छ । हामीले अहिले नेकपा एमालेसँग मिलेर सरकार बनाएका छौं । यसको पनि विकल्प खोज्ने भनेर कसैले भन्यो भने विकल्प भनेको के हो ? फेरि अर्को पार्टीसँग मिलेर जानुपर्यो । चलचल गरेर बसिराख्ने ? कि नेपाली काँग्रेस पार्टीले एउटा जिम्मा लिउँ । हामी सबै काँग्रेसको नेतृत्व पंक्तिको एउटै अठोट के हो भने समय खेर नफालौँ । यो तीन वर्षको समयको अधिकतम सदूपयोग गर्ने । यो बीचमा सरकार पनि नबदल्ने हो । हामी आलोपालो सरकार चलाउने गरी अहिले नेकपा एमालेको नेतृत्वमा सरकार अघि बढिरहेको छ । निश्चित समयपछि हाम्रो सभापतिको नेतृत्वमा सरकार जान्छ । हामीले सात बुँदै सहमति गरेका छौं । त्यही सहमतिको आधारमा तीन वर्ष सरकार चलाउँछौं । नेपाली काँग्रेस प्रष्ट क कि यदि नेपाली विधिको शासन, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य र मान्यताहरुका सम्बन्धमा सम्झौता गर्नुपर्छ भन्ने आधारमा आउँछ भने ति कुराहरु नेपाली काँग्रेसका लागि सरकारभन्दा महत्वपूर्ण कुरा हो । यसमा काँग्रेस स्पष्ट छ । विश्वास छ एमाले पनि यसमा स्पष्ट छ ।’
सरकार गठन हुँदाका बखत गरिएको सात बुँदे सहमतिको आधारमा काँग्रेस–एमालेले आलोपालो सरकार चलाउने उनको भनाइ छ ।
