पूर्वमन्त्री अधिकारीको ‘मेरो जीवन यात्रा’ विमोचन


काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्य सहायकमन्त्री डा.रामचन्द्र अधिकारीद्वारा लिखित ‘मेरो जीवन यात्रा’ विमोचन गरिएको छ ।
जीवनका भोगाईलाई समेटेर लेख्नुभएको पुस्तक उहाँको सहस्र १००८ पूर्ण चन्द्रदर्शन (चौरासी पुजा)का अवसरमा बुधवार कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेका हुन् । सभापति देउवाले राजनीतिमार्फत समाजसेवाको क्षेत्रमा डा.अधिकारीले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए । पूर्वप्रधानमन्त्री देउवाले प्रजातन्त्र स्थापनाका लागि डा.अधिकारीले गरेको सङ्घर्ष अनुकरणीय रहेको बताए ।
“हामी प्रजातन्त्र र लोकतन्त्रका लागि सँगसँगै राजनीतिमा लागेका हौँ, ८४ वर्षे उहाँको जीवन दोस्रो पुस्ताको लागि मार्गदर्शन बन्न सक्छ,” उनले भने । डा.अधिकारीले चालेको हरेक अभियान सफल भएको सभापति देउवाको भनाई थियो ।
पुस्तकका लेखक डा.अधिकारीले आफ्नो महत्त्वपूर्ण जीवन राजनीति र समाजसेवामा व्यतित गरेको बताए । उनले आफ्नो जीवनकथा दोस्रो पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने उल्लेख गरे । पुस्तकबारे साहित्यकार विजयराज न्यौपानेले टिप्पणी गरेका थिए ।
नेपाली कांग्रेस लमजुङको महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य, जिल्ला सभापति हुनुभएका डा.अधिकारी विसं २०४८ र २०५१ को आम निर्वाचनमा लमजुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भई स्वास्थ्य सहायकमन्त्री बनेका थिए ।
