प्रणय दिवस विशेष

समर्पणको कथा : छेन र सानुको अटूट प्रेम यात्रा

काठमाडौँ । एकसाँझ अफिसबाट निस्कने बित्तिकै भोक लाग्यो । खाजा खान भनेर म नजिकैको सानो होटलमा छिरे । एक हाफ बफ चाउमिन मगाए । त्यहाँको चाउमिन मलाई एकदमै मन पर्‍या । त्यसपछि हरेक दिनजस्तो त्यहाँ म खाजा खान जान्थे ।

बिस्तारै त्यस होटलको साहु-साहुनी (अंकल-आन्टी) संग मेरो राम्रो परिचय बन्दै गयो । सानो जिउडाल, छरितो र गफालु स्वभावकी साहुनी (आन्टी) हरेक साँझ ७ देखि ७ः३० समय अवधिमा अंकललाई खाना खुवाइसक्नु हुन्थ्यो ।

सधैँ शान्त मनस्थितिमा देखिनु हुने अंकल पनि समय भएपछि ढोकाबाट छिर्ने बित्तिकै देखिएको दायाँ पट्टिको टेबलमा बस्नुहुन्थ्यो । अनि उहाँका लागि आन्टीले दाल, भात, तरकारी लगायतका खानेकुराहरू पस्कनु हुन्थ्यो । पसलमा आउने हरकोहिलाई थाहा छ कि, ७ बजेपछि त्यो टेबलमा बस्नु हुँदैन भनेर नत्र अंकल आएपछि अन्यत्र सर्नु पर्छ ।

उहाँहरूको त्यस किसिमको व्यवहारलाई मैले धेरै दिनदेखि नियाली रहेकी थिए । त्यसैले एकदिन त मैले प्वाक्कै सोधिहाले ‘आन्टी अंकललाई कति माया गर्नुहुन्छ हगी, समयमै खाना खुवाउनु हुन्छ’

‘एकदमै केयर गर्छ उसले, खाना, दबाइ टाइममा दिन्छ मलाई । मैले बिर्से पनि उसले सम्झाइ हाल्छ मलाई ।’ बाहिरबाट अंकलले जवाफ दिनुभयो ।

साहुनीले पनि तुरुन्तै जवाफ दिइन् ‘हो नि माया गर्नु परेन त, अंकललाई औषधि खानुपर्छ के, त्यसैले म उहाँलाई चैँ चाडै खाना खुवाएर आफैँ चैँ बिस्तारै खान्छु ।’

ढल्कँदो उमेरमा पनि उहाँहरूको त्यस्तो माया देखेर मलाई अचम्म लाग्यो । उहाँहरूले एकअर्काका प्रति देखाउनु भएको माया, सम्मान र हेरचाह वास्तवमै उदाहरणीय लाग्यो मलाई । हामी युवापुस्ताहरूले पनि समाजका यस्ता उदाहरणीय पात्रहरूबाट केही सिक्नुपर्छ भन्ने लाग्छ । त्यसैले मैले उहाँहरूसँग अझै धेरै प्रश्न गर्दै यस लेखबाट मायालाई अर्थ्याउने प्रयास गरे ।

सिन्धुपाल्चोक, बलेखी गाउँपालिका-४ का छेन बहादुर तामाङ एक गरिब किसान परिवारमा जन्मिएका हुन् । उनले ६ कक्षासम्म पढे । घरको आर्थिक अवस्था एकदमै कमजोर थियो । त्यसकारण उनी पढाइ छोडेर बुबाआमासँग खेतबारी काम गर्न जान थाले । तर पनि उनीहरूको आर्थिक अवस्था सुध्रेन ।

छेन बहादुरलाई सानैदेखि धेरै पैसा कमाएर ठूलो मान्छे बन्छु भन्ने लाग्थ्यो । त्यसैले उनी १६ वर्ष नकाट्दै पैसा कमाउन भनेर मामा-माइजुको सहायताले काठमाडौँ पसे । अहिले छेन बहादुर ५८ वर्षका भइसकेका छन् । उनी श्रीमती (सानु तामाङ) पनि ५० वर्ष पुगिन् ।

उता दुई दाजुभाइ र दिदी भन्दा अलि जाँगरिलो थिइन् सिन्धुपाल्चोक, बाह्रबिसेकी सानु तामाङ । उनी ५ महिनाको हुँदाखेरि नै आमाले कोक्रोमा बोकेर काठमाडौँ ल्याएको उनले सुनाइन् । उनले आफू काठमाडौँमै हुर्किएको बताइन् । घरको आर्थिक अवस्था नाजुक भएपछि उनले सानैमा आमासँग उन काट्न सिकिन् ।

काठमाडौँ आएर छेन बहादुर पनि आफ्ना मामा-माइजुको गलैँचा कारखानामा काम गर्न थाले । उनी त्यसबेला थापागाउँको उकालोमा रहेको कारखानामा ‘मास्टर’ (गलैँचाको धागोमा रंग लगाउने व्यक्ति) थिए । ‘घर बाट हिँडेपछि धेरै दुख भयो । दिनभरि काम गरेर आएपछि आज के खाऊ, भोली के खाऊ हुन्थ्यो ।’ छेनले सुनाए ।

छेनका अनुसार उनीहरूको पहिले भेट गलैँचा कारखानामा मै भएको हो । उनीहरू २ वर्षसम्म एउटै कारखानामा काम गर्थे । त्यसबेलासम्म उनीहरूले एकअर्कालाई त्यत्ति बुझ्न पाएका थिएनन् ।

सानुले भनिन् ‘ उ बेलामा त बाबु आमादेखि हामी डराउँथ्यौँ नि त । अहिलेको जस्तो होइन, मोबाइल थिएन । अब बुबाआमाले जसलाई दिनुहुन्छ, उ संग नै जानुपर्छ, घर गरेर खानुपर्छ भन्ने थियो ।’

सानु सानैदेखि मिहिनेति त कर्मप्रिय थिइन् । उनले कहिल्यै पनि आमाबुबाको कुरालाई नकारिनन् । त्यसो त, छेन बहादुर पनि विवाह गर्ने सोचमा थिएनन् । उनी भन्छन् ‘ विवाह गर्छु भनेर सोचेकै थिइन्, पैसा कमाउनु पर्छ, बाबुआमा हेर्नुपर्छ, गाउँमा नै बस्नुपर्छ भन्ने धुनमा मात्र हुन्थे ।’

छेन बहादुर २२ वर्षका भए । गाउँमा उनको विवाहको हल्ला चल्न थाल्यो । उनका आमाबुबा पनि गाउँमै उनको विवाह गरिदिने सोचमा थिए । उनीहरूले छोराको विवाहका लागि कुरासमेत चलाई सकेको छेन बताउँछन् । उनले भने ‘बा-आमाले भनेको सबै कुरा माने, त्यो चैँ स्विकारिन् ।’

त्यसबेला उनीहरूको आर्थिक अवस्था पनि राम्रो भएको उनले बताए । कारखानामा पनि धेरै राम्रा राम्रा महिलाहरू भएको छेन बताउँछन् । तर सानु सबैभन्दा फरक लागेको उनले बताए । उनको सबै बानी राम्रो थियो । अरु भन्दा अलि काममा ध्यान दिने, मिहिनेति किसिमको थियो ।’ उनले भने ।

बिस्तारै छेनलाई सानु मन पर्न थालेको बताए । सानुले छेनको मात्र नभएर मामा–माइजुको समेत मन जितिन क्यारे । किनकि सानुलाई विवाह गर्न भनेर मामा–माइजुले नै सानुको परिवारसँग पहिलोपल्ट कुरा राखेका थिए ।

शान्त र ज्ञानी स्वभावका छेनलाई देखेर होला सानुको परिवारले पनि उनलाई ज्वाइँ भनेर स्विकार्न तयार भए । अन्ततः छेन २२ र सानु १५ वर्षको हुँदा उनीहरूको विवाह भयो ।

‘पहिले पहिले त बाउ आमाले जसलाई बिहे गर भन्थ्यो उही संग विवाह गर्ने चलन थियो । त्यसकारण बाबु आमाको इच्छाको कारणले जहाँ दिनुहुन्छ, दिनुस् भनेर मैले चुपचाप विवाह गरे ।’ सानुले भनिन् ।

उनको सानुको कुरामा थप्दै छेनले भने ‘मेरो भाग्यमा भएर होला हाम्रो बिहे भयो ।’

छेनले विवाह पश्चात् सानुलाई झनै राम्री पाएको बताए । तर उनीहरूको कमाइले परिवार धान्न पुगेन । त्यसपछि उनीहरू दुवैजना कारखानाबाट निस्केर अलग अलग पेसामा लागेको बताए । ‘छोरालाई सट किनिदिँदा छोरीको फ्रक फाटिसकेको हुन्थ्यो’ सानुले दुखेसो पोखिन् ।

छेन आफूलाई सानैदेखि आर्मी बन्ने रहर भएको बताउँछन् । पहिल्यै उनलाई आर्मीमा रहेका मितले फारम भर्न समेत बोलाएका थिए । तर त्यसबेला उनको नागरिकता बनेको थिएन ।

छेनले आफ्नो नागरिकता बन्न ९ दिन लागेको बताए । उनले आफ्नो नागरिकता समयमै बन्न नसेको कारण आफू आर्मीमा भर्ती हुन नसकेको गुनासो गरे ।

उनले भने ‘बुबाको नागरिकता नेपाली कागजको थियो । नाम अलिकति च्यातेको थियो । त्यसपछि यो मिलेन, त्यो मिलेन भनेर ९ दिन लगाइदियो । त्यसपछि बल्ल बल्ल बनेको नागरिकतामा पनि छेन बहादुर तामाङ हुनुपर्ने ठाउँमा क्षेत्र बहादुर तामाङ बनाइदिएछ ।’

उनी असार, साउनको बेलामा दिनहुँ बोरा ओढेर सिडिओ कार्यालय पुग्ने गर्थे । रोएर बिन्ती गरेपछि बल्ल बल्ल आफ्नै नामको नागरिकता पाएको उनले सुनाए ।

तर नागरिकता पाउँदासम्म फारम वितरण बन्द भइसकेको थियो । उनी जागिर खान भनेर सहरका विभिन्न स्थानमा पुगे, तर कतै भेटेनन् ।

त्यसपछि जे होला, होला भनेर उनीहरू दुवै मजदुरीमा लागेको उनीहरू बताउँछन् । ‘म भारी बोकेर भएपनि छोराछोरी पढाउँछु भनेर एउटा, उनले एउटा बच्चालाई च्यापेर काममा लान्थ्यौँ ।’ छेनले भने ।

उनको कुरामा सहमति जनाउँदै सानुले भनिन् ‘त्यसबेला दिनको ८० रुपैयाँ थियो हाजिर थियो, त्यही पैसाले गुजारा चलाउँथ्यौँ ।’

त्यसपछि छेनले बिस्तारै सिकर्मीको काम सिक्न थाले । सानुले पनि अनामनगरमा सानो पसल राखिन् । ‘सबै हन्डर भोगिसकेपछि पसल राख्यौँ ।’ सानुले भनिन् ।

अन्य बुबाहरूले जस्तै छेनले पनि आफ्ना सन्तानलाई इन्जिनियर, पाइलट बनाउने ठुलो सपना देखेका थिए । तर त्यो पुरा गर्न सकेनन् । तर उनले जसोतसो छोराछोरीलाई औपचारिक शिक्षा दिए ।

त्यसपछि उनीहरूको जीवन छोराछोरीको भविष्य बनाउनमै केन्द्रित रहेको बताए । अहिले छोरा रोजगारीका लागि कोरिया पुगेका छन् । उनीहरूले खुसी हुँदै छोराले घर, जग्गा समेत जोडी सकेको बताउँछन् ।

‘जे होस् छोराले मेरो इच्छा पुरा गर्‍या छ, मैले गाउँ छाडेर बच्चाहरूको पछि लागे अनुसार बच्चाहरूले राम्रो गरेको छ ।’ छेनले भने ।

जीवनमा शीतल, गर्मी, हावाहुरी र चर्को घामपानीसँगै सहेका यी जोडीको सम्बन्धमा भने कहिल्यै खडेरी नपरेको उनीहरू बताउँछन् । उनीहरू ‘ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा’ भन्दै गाह्रो अवस्थामा झनै एकअर्काको साथ आवश्यक पर्ने बताउँछन् ।

‘उहाँ हरेस खानु भयो भने म सम्झाऊ छु, म हरेस खाए भने उहाँले सम्झाउनु हुन्छ,’ सानुले भनिन् ।

उनीहरूले विवाह गरिसकेपछि सम्बन्ध विच्छेद गर्ने विषयमा कहिल्यै नसोच्न युवाहरूलाई आग्रह गरे । ‘हामी दुई एकै हौँ भनेर अघि बढ्नु पर्छ ।’ उनीहरू भन्छन् । एकचोटि डिभोर्स भइसकेपछि जोडिएका सम्बन्धहरू फेरि पहिले जस्तो नहुने उनीहरूको बुझाई छ ।

अहिलेका युवाहरूले चाँडै सम्बन्ध विच्छेद गर्ने भन्दै उनीहरूले बरु सोचेर, आनीबानी बुझेर मात्र विवाह गर्न तर डिभोर्स नगर्न सल्लाह दिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *