टनकपुर बाँधमा चाँडै पानी छोड्ने नेपाल–भारतबीच सहमति

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी चाँडै पाउने बताएका छन् ।

‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर बिहीवार साँझ स्वदेश फर्किनुभएका उर्जामन्त्री खड्काले भारत भ्रमणका क्रममा टनकपुर बाँधमा चाँडै पानी छोड्ने विषयमा सहमति भएको बताएका हुन् ।

उनले सिँचाइतर्फ पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेबारेमा अन्तिम टुंगो लगाउने बारे छलफल भएको जानकारी दिए । उनले कोशीको विषयमा पनि केही छलफल भएको बताए ।

दुई देशबिचको सिँचाइ व्यवस्थापनको बैठक हुन नसकेको अवस्थालाई चिर्दै यही २२—२४ फेब्रुवरीमा छलफल गर्ने सहमति भएको बताए ।

दुई देशबिच संयुक्त लगानीमा बनेका ट्रान्समिसन लाइनको विषयमा ५०÷५० प्रतिशत हुँदा निर्णयार्थ गर्नुपर्ने विषयमा दुविधा हुने भएको अवस्थालाई मध्यनजर गरेर नेपालकोतर्फ नेपालको ५१ प्रतिशत र भारतको ४९ प्रतिशत र भारततर्फ भारतको ५१ र नेपालको ४९ प्रतिशत सहमति भएको बताए ।

बंगलादेशतर्फ पनि ट्रान्समिसन लाइन बनाउने कुराको छलफल अघि बढेको मन्त्री खड्काको दाबी छ । अबका वर्षहरूमा कार्बन शून्य उत्सर्जनको लक्ष्य लिएको र सोहीअनुसार कार्बन व्यापारको रकम प्राप्त गर्ने बताए ।

मन्त्री खड्काले भारत भ्रमण उपलब्धिमूलक रहेको र दुई देशबिचका सम्बन्ध अझ प्रगाढ भएको बताए । उनले भारत भ्रमणका क्रममा तीन जना मन्त्रीहरूसँग भेट गरेको र ठूला आयोजना सम्पन्न गर्ने बारेमा छलफल सकारात्मक रहेको जानकारी दिए ।

उनले भारतीय उर्जामन्त्री मनोहरलाल खट्टर चाँडै नेपाल आउने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *