अलपत्र योजनाका कारण परिणाम देखिएन : यामलाल कँडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अघिल्लो सरकारका पालाका ८० प्रतिशत योजना अलपत्र हुँदा परिणाम आउन नसकेको बताएका छन् ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको शनिवार यहाँ भएको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले योजनाहरु अलपत्र अवस्थामा रहेकै कारण वर्तमान सरकारको प्रगति देखिन नसेकेको जिकिर गरे ।
मुख्यमन्त्री कँडेलले त्यस्ता योजनाबारे सत्यतथ्य उजागर गर्न कलम चलाउनसमेत पत्रकारलाई आग्रह गरे । बजेट वितरण, योजना छनोट र पारदर्शितासम्बन्धी गुनासो आएकाले आफूले योजना बैंकको कुरा अगाडि सारेको उनको भनाइ थियो ।
प्रदेश सरकारले गर्ने हरेक काममा मिडिया आलोचनात्मक साथ हुनुपर्ने भन्दै मुख्यमन्त्री कँडेलले पत्रकारको सकरात्मक, रचनात्मक आलोचनाबाट नै सरकारको लागि सहयोग पुग्नेसमेत बताए ।
“वषौँदेखि ठेक्का लिएको छ तर काम गर्दैन । यस्तो तरिकाले कर्णाली प्रदेश कसरी अगाडि बढन सक्छ रु यस्ता सवालमा हामी सबै सचेत हुन आवश्यक छ”, उनले भने ।
मुख्यमन्त्री कँडेलले कर्णालीमा भएको स्रोत साधनलाई सही रूपमा सदुपयोग गरी सरकार अगाडि बढेको र घाँटी हेरेर गाँस हालेमा मात्र प्रदेश सरकार सफल हुने तर्क गरे ।
