स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा कञ्चनपुरको शुक्लाफाँटा प्रदेशमै उत्कृष्ट


काठमाडौं । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा सुदुरपश्चिम प्रदेशमै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले उत्कृष्ट नतिजा प्राप्त गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा शुक्लाफाँटा नगरपालिकाले ९५ अङ्क प्राप्त गर्दै सुदूरपश्चिम प्रदेशमा दोस्रो स्थानमा पर्न सफल भएको छ । जिल्लामा भने प्रथम भएको छ ।
प्राप्त नतिजाअनुसार नगरपालिकाले योजना,बजेट तथा कार्यक्रम व्यवस्थापनमा १९.५ अङ्क छ । त्यस्तै कार्यान्वयन क्षमता तथा व्यव्थापनमा २७.५, लेखाङ्कन तथा प्रतिवेदनमा १७ अङ्क प्राप्त गर्दा मुल्याङ्कन तथा लेखापरीक्षणमा १५ अङ्क प्राप्त गरेको छ ।
राजश्व व्यवस्थापनमा नगरपालिकाले १६ अङ्क गरेको छ । यसरी समग्रमा शुक्लाफाँटा नगरपालिकाले एक सय पूर्णाङ्कमा ९५ अङ्क प्राप्त गरी प्रदेशमै उत्कृष्टता हासिल गरेको हो ।
स्थानीय तह वित्तीय सशासन जोखिम मूल्याङ्कनको प्रकाशित नतिजा अनुसार भीमदत्त नगरपालिकाले ७८ दशमलव ५, बेदकोट नगरपालिकाले ९३, कृष्णपुर नगरपालिकाले ७७ अङ्क प्राप्त गरेको छ ।
त्यस्तै बेलौरी नगरपालिकाले ८२ दशमलव ५, पुनर्वास नगरपालिकाले ६६ दशमलव ५, बेलडाँडी गाउँपालिकाले ९० दशमलव ५ र लालझाडी गाउँपालिकाले ८८ दशमलव ५ अङ्क प्राप्त गर्दा दोधारा चाँदनी नगरपालिकाले भने नतिजा विहीन अवस्थामा छ । डडेल्धुरा भने ९७.५ अङ्क प्राप्त गर्दै प्रदेशमै पहिलो भएको छ ।
जिल्लामा प्रथमका साथै प्रदेशमै उत्कृष्टता हासिल गरेपछि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले सबैको साथ सहयोगले अहिलेको नतिजा प्राप्त गर्न सकिएको बताए । नगर प्रमुख महराले निर्वाचित भएदेखी नै पालिकालाई समृद्ध बनाउने योजनाका साथ आफु अघि बढिरहेको समेत बताए ।
स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन गरिँदै आएको छ ।
