नेपाल स्काउटका निर्देशकलाई कारबाही नभए ठूलो दुर्घटना निम्तिन सक्छ : अधिकारी [भिडियो]
![नेपाल स्काउटका निर्देशकलाई कारबाही नभए ठूलो दुर्घटना निम्तिन सक्छ : अधिकारी [भिडियो]](https://www.makalukhabar.com/wp-content/uploads/2025/02/debdut-adhikari-mk.jpg)
काठमाडौं । सामाजिक हितका लागि स्थापित संस्था नेपाल स्काउट पछिल्लो समय विवादित छ । संस्थामा कार्यरत कर्मचारीका कारण नेपाल स्काउट विवादित संगै कमजोर बन्दै गइरहेको हो ।
नेपाल स्काउटभित्र अनियमितता,अपारदर्शिता तथा अराजक गतिविधिहरु देखिन थालेपछि नेपाल स्काउट शुद्धीकरण अभियान समेत गठन गरिएको छ ।
देवदुत अधिकारीको संयोजकत्वमा गठित शुद्धीकरण अभियानले मंगलबारमात्रै नेपाल स्काउटका प्रमुख स्काउट युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसमक्ष चार सुत्रीय माग सहित ज्ञापनपत्र बुझाएको छ ।
नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईका कारण संस्थाको इज्जत गुम्ने खतरा रहेको भन्दै उनीमाथि छानबिन गरी कारबाही माग गर्दै शुद्धीकरण अभियानले खेलकुदमन्त्रीलाई ज्ञापनपत्र समेत बुझायो ।
यसैबीच नेपाल स्काउटमा शुद्धीकरण अभियानको आवश्यकतादेखी संस्थाको शाख कसरी जोगाउने विषयमा नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक देवदुत अधिकारीसंग मकालुखबरकर्मी राजेश भुलले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः–
नेपाल स्काउटमा शुद्धीकरण अभियानको आवश्यकता किन पर्यो ?
नेपाल स्काउटभित्र देखिएको गतिविधिका कारण शुद्धीकरण अभियानको आवश्यकता परेको हो । नेपाल स्काउटभित्र विसंगति,भ्रष्टाचार, अनियमितता विरुद्ध शुद्धकीरण अभियान गठन गरिएको हो ।
नेपाल स्काउट आफ्नो गन्तव्यमा नगइकन आउट अफ ट्रयाक (उद्धेश्य बाहिर) मा गएको छ । अनुशासन सिकाउने,स्वावलम्बी बनाउने,संस्थामा देखिएकोे विसंगति,व्यविचार विरुद्ध आवश्यकता महशुस भएर नै शुद्धीकरण अभियानको थालनी गरेका हौँ ।
सामाजिक हितका लागि स्थापित संस्था पछिल्लो समय किन विवादको भूमरीमा छ ?
नेपाल स्काउट भनेको विश्व स्काउटको भातृ संगठन हो । यहाँ भनेको अनुशासन सिकाउँछ । लिडरसीप सिकाउँछ । अनुशासन,लिडरसीप सिकाउने संस्थामा अहिले कस्तो भएको छ भने राजनीतिक हस्तक्षेप व्यापक भएको छ । संस्थामा कर्मचारीतन्त्रको व्यापक मनोमानी भइरहेको छ ।
अनुशासन सिकाउनुपर्ने संस्थाको मेन टाउको नै खराब भएको छ । मेन टाउको नै खराब भयो भने पुच्छरहरु पनि खराब हुँदै जान्छन् । नेपाल स्काउटभित्र आफ्नो स्वार्थका लागि स्काउटिङ गर्ने व्यक्ति छन् ।
संस्थामा बस्ने,देश विदेश घुम्ने एवं आफु र आफ्ना केही सिमित व्यक्तिहरुलाई आर्थिक प्रलोभनमा पारेर संस्थालाई दीर्घकालीन असर पर्ने देखिएको छ । त्यसका विरुद्धमा हामीले अभियान सुरु गर्यौं ।
नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईमाथि छानविन गरेर कारबाही गर्नुपर्छ भन्दै खेलकुदमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुभएको छ । किन ? निर्देशक भट्टराई कारबाहीको दायरमा किन आउने ?
नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईमाथि दश वटा मुद्धाहरु लागेको छ । प्रमुख आयुक्त र प्रमुख स्काउटलाई निर्देशक भट्टराईमाथि दश वटा मुद्धा लागेको विषयमा जानकारी छ ।
जानकारी हुँदाहुँदै पनि उहाँहरुले निर्देशक भट्टराईमाथि केही पनि कारबाही गर्नुभएको छैन । यसलाई मध्यनजगर गर्दै स्काउटको हितको लागि,संस्थाको हितको लागि संस्थामा भएको अनियमितता,भ्रष्टाचार,विदेशी भ्रमण,ठेक्कापट्टा लगायत त्यहाँभित्र गएर हेर्नुभयो भने व्यापक हिनामिना भएको छ । त्यसको लागि हामीले खेलकुदमन्त्रीलाई चार बुँदे माग बुझाएर आएका छौं ।
चार बुँदे मागमा अहिले सञ्चारमा माध्यममा आएको महिलामाथिको हिंसा व्यापक आएको छ । यसबारेमा छानविन गरिपाउँ भनेर हामीले भनेका छौँ नम्बर वानमा ।
दोस्रोमा निज रामप्रसाद भट्टराईले आर्थिक अनियमितताहरु गरेको भनेर दश बुँदे मागहरु पनि प्रस्तुत भएको छ । मन्त्री ज्यूलाई दिएका छौँ । त्यो माथि पनि छानविन गरिनुपर्छ ।
तेस्रो माग भनेको हालै प्रमुख स्काउटको हस्ताक्षरद्वारा जारी कर्मचारी प्रशासन नियमावली २०८१ का प्रसुति बिदा जस्ता कतिपय प्रावधानहरु कर्मचारीको मनोवल गिराउने खालको भएको हुँदा सो नियमावली उपर राष्ट्रिय परिषद्मा व्यापक छलफल गरी सो परिषदबाट पारित गराई शंसोधित नियमावली लागु गरिनुपर्छ र चौथो माग भनेको निर्देशक भट्टराई उपर छानविन पुरा नहुन्जेल निजलाई निलम्बनमा राखिनुपर्ने एवं छानविनको प्रक्रिया पुरा भए पश्चात प्रतिवेदनका आधारमा कारबाही हुनुपर्छ ।
निर्देशक रामप्रसाद भट्टराईमाथि छानबिन गरेर यदी उहाँ दोषी हुनुहुन्छ भने कारबाही गर्नुपर्यो । र यदी उहाँ दोषी हुनुहुन्न भने पुनः निर्देशक पदमै आउनुहुन्छ ।
माग पुरा हुनेमा तपाईंहरु विश्वस्त हुनुहुन्छ ?
सामाजिक संस्था, यो अनुशासन सिकाउने,चेन अफ कमाण्डमा हिँडेको संस्था हो भनेदेखी यसका संरक्षक प्रधानमन्त्री स्वयं हुनुहुन्छ । र प्रमुख स्काउट युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ । हामीले बुझाएको चार बुँदे माग उहाँहरुले पढ्नुभयो भने यो संस्थाको हितको लागि हामीले बुझाएका हौँ ।
कुनै व्यक्तिलाई प्रहार गरेर हामीले मन्त्री ज्यूलाई ज्ञापनपत्र बुझाएका होइनौँ । संस्थाको हितको लागि बुझाएका छौँ । उहाँहरुले चार बुँदे मागहरु पढ्नुभयो भने मलाई आशा छ,त्यसलाई छानविन गरेर प्रक्रिया अगाडि बढाउनुहुन्छ ।
यदी तपाईंहरुले राखेका मागहरुको वेवास्ता गरियो अझ भनौँ माग सम्बोधन भएन भने के गर्नुहुन्छ ?
मागहरु पुरा गर्नका लागि हामीले सात दिनको अल्टिमेटम दिएका छौँ । हामीले राखेका मागहरु यदी पुरा भएनन् भने हामी आन्दोलनमा जान्छौँ ।
सकेसम्म आन्दोलनमा नजाऔँ भन्ने छ । किनभने हामी एउटा असल स्काउट गर्ने व्यक्ति हो । अनुशासनमा बसेर स्काउटिङ गर्ने व्यक्ति भएकाले आन्दोलन गर्नु हुँदैन भन्ने हो । तर,बाध्यतामा हामीलाई पारियो भने आन्दोलनमा जान तयार छौँ । र आन्दोलनामा गइसकेपछि हामी रिले अनसन बस्छौँ । अनसनमा बस्छौँ ।
उस्तै पर्यो भने कार्यालयमा तालाबन्दी पनि हुनसक्छ । कानूनी प्रक्रियामा पनि हामी जान सक्छौँ । यसका लागि हामी जे पनि गर्न तयार छौँ भनेर हामीले आजै मात्र मन्त्री ज्यूलाई पनि भनेर आएका छौँ । हामीले राखेको मागलाई अपहेलना गरियो भने यसले नेपाल स्काउटमा ठूलो दुर्घटना निम्त्याउन सक्छ ।
आम स्काउटहरु पूर्व मेची देखी पश्चिम महाकालीसम्मका स्काउटहरु समग्र स्काउटको भावना अहिले उहाँले बुझ्नुभएको छैन । यो हामीले गर्न लागेको आन्दोलनमा सात वटै प्रदेशका साथीभाईहरु पनि यसमा होस्तेमाहैंसे गर्नुपर्छ र संस्था बचाउनका लागि उहाँहरु सबै आउनुहुन्छ भन्ने हामीले आशा लिएका छौँ । नेपाल स्काउटको शुद्धीकरणका लागि आन्दोलनको विकल्प छैन ।
तपाईंहरुले ज्ञापनपत्र बुझाइसकेपछि खेलकुदमन्त्रीले के प्रतिक्रिया दिनुभयो ?
खेलकुदमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा खेरी उहाँ मन्त्री ज्यूले हाम्रो कुराहरु नसुन्ने जस्तो देखिएको छ । एकतर्फी कुराहरु मात्रै मन्त्री ज्यूले सुनिरहनुभएको छ ।
उहाँले संस्थाका केही कर्मचारी र केही व्यक्तिलाई लक्षित गरेर कुरा सुनिरहनुभएको छ । आम स्काउटको भावना अनुरुप उहाँ अघि बढेको देखिएको छैन ।
उहाँले सक्नुुहुन्थ्यो भने नेपालभरीका अग्रह लिडर पूर्व प्रमुख आायुक्त भइसकेका व्यक्तिहरुलाई बोलाएर उहाँले सल्लाह,सुझावहरु लिनुपथ्र्यो । उहाँबाट त्यस्तो भएको देखिएको छैन ।
प्रमुख स्काउटले नै आन्दोलन गर्न बाध्य पार्नुभएको छ । मन्त्री ज्यूले बुझ्न भएको जस्तो लोगेको छैन । हामी संस्थाको हितका लागि वर्षोदेखी लागेका छौँ । हाम्रो माग छ उहाँले नेपाल स्काउटमा देखिएको समस्या समाधान लाग्नुपर्छ । होइन भने उहाँले परिणाम भोग्नुहुन्छ ।
नेपाल स्काउटको छवि दिनानुदिन खस्किँदो अवस्थातर्फ गइरहेको छ । किन होला ?
नेपाल स्काउटको छवि खस्किनुको एउटै कारण छ,कर्मचारीको मनोमानी । कर्मचारीले निर्वाचित भएका पदाधिकारी र प्रमुख स्काउट युवा तथा खेलकुद मन्त्रीलाई खेलाउने अवस्था छ ।
प्रमुख आयुक्त र प्रमुख स्काउट नबुझ्ने फेरी । नेपाल स्काउटमा भएका विज्ञहरुसंग सल्लाह नलिएर प्रमुख स्काउट केही कर्मचारीको कुरामा लागेपछिको परिणााम यस्तै हुन्छ ।
नेपाल स्काउटको शुद्धीकरण सम्भव छ भन्नुहुन्छ कसरी ?
नेपाल स्काउटमा विकृति,विसंग भएपछि हामीले शुद्धीकरण अभियानको सुरुवात गरेका हौँ । नेपाल स्काउटमा व्यापक अनियमितता,चलखेल भइसकेपछि सामाजिक संस्थाका रुपमा स्थापित नेपाल स्काउटलाई बचाउनुपर्छ भनेर हामी लागेका छौँ ।
र, नेपाल स्काउटमा शुद्धीकरण सम्भव छ । त्यसका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ । प्रमुख स्काउटले वास्तविकता पत्ता लगाई प्रक्रिया अगाढि बढाउने हो भने स्काउटको छवि कायम रहनसक्छ ।
संस्थाको शाख कसले गिराइरहेको छ ?
केही कर्मचारीका कारण संस्थाको शाख गिरिरहेको छ । केही कर्मचारीहरु आफ्नो स्वार्थमा लागेका छन् । आफ्नो तलब एक लाख बढी बनाउने नेपाल सरकारको कर्मचारीको नियमावली अनुसार भनेर ।
ऋण लिएर विदेश भ्रम्ण जाने,कार्यक्रम केही पनि नगर्ने,सिमित आसेपासेहरुलाई मात्रै अगाडि पछाडि राखेर हिँडेपछि अवश्यक पनि नेपाल स्काउटको शाख त गिर्ने नै हो ।
समग्र स्काउट लिडरहरुलाई बोलाएर नेपाल स्काटमा के समस्या छ भनेर प्रमुख स्काउटले तदारुकता देखाउनुभयो भने शाख जोगिन्छ जस्तो मलाई लाग्छ ।
नेपाल स्काउट शुद्धीकरण अभियानमा को-को जोडिनुभएको छ ?
यो अभियानमा सात वटै प्रदेशबाट लिडरहरु जो नेपाल स्काउटको हामी भन्छौँ राष्ट्रिय प्रशिक्षक,सहायक राष्ट्रिय प्रशिक्षक, पहिला पहिलाका जिल्ला आयुक्तहरु अहिले जिल्ला छैन ।
जिल्ला आयुक्तदेखी लिएर अहिलेका प्रदेशमा भएका साथीभाईहरु सम्पूर्ण अभियानमा जोडिनुभएको छ । अब स्काउटलाई बचाउनुपर्छ भनेर हामी लागेका छौँ ।
अन्तिममा मैले सोध्न छुटाएका र तपाईंले भन्नै पर्ने केही छ ?
स्काउट बचाउन अहिले हामीले देखेको भनेको एउटै विकल्प छ । नेपाल स्काउटको संरक्षक भनेको प्रधानमन्त्री ज्यू हुनुहुन्छ ।
प्रधानमन्त्री ज्यूबाट नेपाल स्काउटलाई कसरी के गरेर बचाउने भनेर उहाँले एकचोटी बृहत छलफल गरेर हामी जस्ता स्काउटहरुलाई बोलाएर स्काउटमा के-कस्तो विकृति,विसंगति छ त्यसलाई मध्यनजर गरेर सबैलाई समेट्दै परामर्श गरेर प्रधानमन्त्री अगाडि बढ्नुभयो भने शाख र यो संस्था जोगिन्छ जस्तो लाग्छ । होइन भने दिनानुदिन झन् समस्यामा नेपाल स्काउट रहिरहनेछ ।