छविराजसँग डिभोर्सपछि सन्न्यासी बनिन् शिल्पा


काठमाडौं । फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध बिच्छेद गरेकी अभिनेत्री शिल्पा पोखरेल सन्न्यासी बनेकी छन् । उनले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको संन्यास दीक्षा ग्रहण गरेकी हुन् ।
उनले संन्यास दीक्षा लिएको अभिनेत्री तथा ओशो सन्न्यासी सोभिता सिम्खडाले सामाजिक सञ्जालमार्फत खुलाएकी छन् । उनले ओशो परिवारमा शिल्पालाई स्वागत गर्दै लेखेकी छन्,’नायिका शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको नवसंन्यास दीक्षा ग्रहण गरी माँ प्रेम हाँस्या बनेकोमा अत्यन्त हर्षित छु । अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्यायोस र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना ।’
चलचित्र ‘लज्जा’बाट अभिनय सुरु गरेकी शिल्पाले नौवटा चलचित्रमा अभिनय गरिसकेकी छन् । उनको पछिल्लो फिल्म ‘भिलेन’ सात वर्षअघि प्रदर्शन भएको थियो । शिल्पा पूर्वपति छविराज ओझासँगको सम्बन्धका कारण चर्चामा थिइन् । एक महिनाअघि मात्र उनीहरू कानुनी रूपमा अलग भएका थिए । छविराजबाट पाँच करोडको घर लिएको खबर सार्वजनिक भए पनि शिल्पाले त्यसलाई अस्वीकार गरेकी छन् ।
