शिक्षाको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री तामाङ


नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले शिक्षा क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नुवाकोटको विदुर नगरपालिका–५ स्थित चन्द्रज्योती माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले देशको विकासका लागि शिक्षा प्रमुख मेरुदण्ड भएकाले प्रदेश सरकारले सोही अनुसार प्राथमिकता दिँदै आएको बताए ।
“शिक्षा मार्फत देश विकासका लागी थप कार्यक्रम प्रभावकारी रुपमा सफल बनाउन सकिन्छ”, उनले भने,“स्वास्थ्य, कृषि, पूर्वाधारभन्दा शिक्षाको विकास पहिलो प्राथमिकतामा छ । शैक्षिक गुणस्तर बृद्धिका लागी प्रदेश सरकार गम्भीर छ ।”
सामुदायिक विद्यालयको आकर्षण बढाउन र शिक्षाबाट रोजगार सिर्जना गर्न प्रदेश सरकारले विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनको भनाइ थियो ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउने नुवाकोटको सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई आफ्नो व्यक्तिगत खर्चमा शैक्षिक भ्रमणमा लैजाने प्रबिद्धता जनाउँदै मुख्यमन्त्री तामाङले शिक्षाको गुणस्तर बृद्धिमा लाग्न सरोकारवालाहरुलाई आग्रह गरे ।
कार्यक्रममा विद्यालयका कक्षागत उत्कृष्ट विद्यार्थी तथा वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेतालाई सम्मान गरिएको थियो ।
