केबलकार विवादले निम्त्याएको तनाव : अनिश्चितकालीन यातायात बन्द घोषणा

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा हालै भएको घटनाको विरोधस्वरूप ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले शुक्रबारदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । यो बन्द मेची राजमार्ग, तमोर कोरिडोर, तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका तथा ताप्लेजुङका शाखा सडकहरूमा प्रभावकारी हुने बताइएको छ ।

‘नो केबलकार’ आन्दोलनका क्रममा चालक कुटपिट तथा सवारी तोडफोड भएपछि यातायात व्यवसायीहरूले यो बन्दको आह्वान गरेका हुन् । उक्त घटनामा घाइते भएका मे.१ ज २५७९ नम्बरको सवारी चालक ४३ वर्षीय राजकुमार पौडेललाई ताप्लेजुङ जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाहिरी जिल्लामा रेफर गरिएको छ । अस्पतालका डाक्टर प्रणाम जैरुले पौडेलको अवस्था गम्भीर भएकाले उनलाई रेफर गरिएको बताए ।

पाथीभरा यातायात सेवा प्रालिका ताप्लेजुङ, पाँचथर, इलाम, र झापाका संयोजकहरूले हस्ताक्षरित विज्ञप्तिमा, घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न, घाइतेहरूको उचित उपचारको सुनिश्चितता गर्न, तथा तोडफोड गरिएका सवारी साधनको मर्मतको माग गरिएको छ । मागहरू पूरा नभएसम्म अत्यावश्यक सेवाबाहेक सबै प्रकारका यातायात सेवा बन्द रहने जनाइएको छ ।

मुक्कुमलुङ पदयात्राको अन्तिम दिन बिहीबार, ‘नो केबलकार’ पक्षधरहरू निर्माणाधीन बेस स्टेसनतर्फ जान लाग्दा झडप उत्पन्न भएको थियो, जसमा १३ जना घाइते भएका थिए । उद्धार टोलीमा रेडक्रस सभापति इन्द्रबहादुर गुरुङ, ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू, तथा इन्सेक प्रतिनिधि एलिना दियाली सवार रहेको सवारीमाथि समेत आक्रमण गरिएको रेडक्रस सभापति गुरुङले जानकारी दिए ।

झडपका क्रममा ११ जना सुरक्षाकर्मी, १ जना आन्दोलनरत पक्षका व्यक्ति तथा १ जना सर्वसाधारण घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । आन्दोलनकारीहरू केबलकार बेस स्टेसनतर्फ अघि बढेपछि प्रहरी र आन्दोलनकारीबीच ढुङ्गामुढा भएको थियो ।

रातिसम्म पनि स्थिति तनावग्रस्त रहेपछि जिल्ला प्रशासनले सुरक्षा संयन्त्रलाई सुदृढ बनाएको छ। प्रशासनका अनुसार, क्षमा पूजाका नाममा केही नेताहरू घटनास्थलमा पुगेपछि झडप झन् चर्किएको थियो । भाषणपछि सुरक्षाकर्मीले राखेको घेरा तोडेर आन्दोलनकारीहरूले ढुङ्गामुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको बताइएको छ ।

यसैबीच, केबलकार निर्माणस्थलमा रहेका निर्माण उपकरण र कामदारलाई फिर्ता लैजानुपर्ने माग गर्दै आन्दोलनरत पक्षले स्काभेटरलाई निर्माणस्थलबाट काफ्लेपाटीमा रहेको पर्यटक प्रहरी सहायता केन्द्रमा राखिएको छ । यातायात बन्दका कारण स्थानीय यात्रु तथा व्यवसायीहरू प्रभावित भएका छन् भने, प्रशासनले विवाद समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *