सुरेन्द्र अधिकारी : आर्मीदेखि श्रमिक हुँदै सफल व्यवसायी

काठमाडौं । तनहुँको भानु नगरपालिका वडा नम्बर ६ का सुरेन्द्र अधिकारीको परिचय फेरिएको छ । उनी आर्मीदेखि श्रमिक हुँदै व्यवसायी कृषक बनेका छन् ।
नेपाल आर्मी बनेर देशको सेवा गरेका अधिकारीले बिचमै आर्मीबाट राजीनामा दिएर वैदेशिक रोजगारीका लागि विदेश गए । उनले रोजगारीका लागि १० वर्ष विदेशमा पसिना बगाए ।
विदेशमा सङ्घर्ष गरेर सिकेको सिप र भोगेको भोगाइबाट अधिकारी अहिले सफल व्यवसायी बनेका छन् ।
विदेशबाट फर्किएर उनले गाउँमै च्याउ खेती गरिरहेका छन् । सानै उमेर देखि कृषि काम गर्न रुचाउने अधिकारीको च्याउ खेती नै मुख्य पेसा बनेको छ ।
कोरोना महामारीको बेला सहरदेखि गाउँ सुनसान थियो । तर, अधिकारी भने चलायमान बने । उनले कोरोनाका कारण भएको लकडाउनको भरपुर सदुपयोग गरे । विदेशमा दुख गरेर कमाएको पैसालाई सही ठाउँमा लगानी गर्ने योजना बनाए र देशमै बस्ने प्रण गरे ।
अधिकारीले सुरुमा ५ लाख रुपैयाँ लगानी गरेर १३ रोपनी जग्गामा च्याउ खेती सुरु गरे । उनले व्यवसायी रुपमा च्याउ खेती गरेको ५ वर्ष भयो । च्याउ खेतीबाट अधिकारीले मनग्य आम्दानी पनि गरिरहेका छन् । उनले १ केजी च्याउ ७ सयमा विक्री गर्छन् । ५ लाखको लगानीबाट सुरु गरेको च्याउ खेतीबाट अहिले दैनिक ५० हजार भन्दा धेरै आम्दानी गर्छन् ।
‘च्याउ खेतीबाट राम्रो आम्दानी हुने रहेछ, थोरै लगानीमा पनि धेरै आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘अहिले दैनिक ५० हजार भन्दा धेरै आम्दानी गरिरहेको छु ।’
उनले साथीहरूको सल्लाह अनुसार च्याउ खेती गरेको बताए । अन्य व्यवसाय गर्दा धेरै समय र लगानी गर्नुपर्ने तर, च्याउ खेतीमा धेरै सहज हुने भएकाले व्यवसायी च्याउ खेती गर्न थालेको उनले बताए । ‘साथीहरूले कुखुरा व्यवसाय गर्दा ४५ दिन कुर्नु पर्छ तर च्याउ खेतीमा धेरै दिन कुर्नु नपर्ने बताए पछि मेरो मन पनि च्याउ खेतीमै लाग्यो र व्यवसाय सुरु गरे’, उनले भने ।
उनले च्याउ खेतीबाट राम्रो आम्दानी हुने बताए पनि अझै बजार पाउन नसकेको गुनासो गरे । उनले बजार व्यवस्थापन गर्न निकै कठिन रहेको बताए । च्याउ खेती गर्न सजिलो देखिए पनि काम गर्न र आम्दानी गर्न समस्या हुने बताए । ‘हेर्दा सरल र सजिलो देखिएता पनि बजार व्यवस्थापन राम्रो छैन । अझै यसलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने तरीकाले आफूले सिक्दै र काम गर्दै आएको छु,’ उनले भने, ‘यसमा थोरै रोग लाग्यो भने पनि सबै बिग्रिन्छ त्यसैले यसको हेरचाहमा धेरै ध्यान दिनु पर्दछ । च्याउ उत्पादन त हुन्छ तर मार्केट भने राम्रो सँग पाउन सकेको छैन ।’
उनले नगरपालिकाबाट पनि अनुदान पाउने विश्वास व्यक्त गरे । उनले व्यवसायलाई सुधार्न च्याउका लागि साधारण घरहरू र बीउको लागि अनुदान दिने गरेको बताए ।
अधिकारीले च्याउ खेती मात्रै होइन, काठमाडौंमा कुखुरा पालन पनि गर्दै आएका छन् । उनको फार्ममा अहिले ५ हजार भन्दा धेरै कुखुरा छन् । उनले च्याउ खेती र कुखुरा पालनमा गरेर ९ जनालाई रोजगारी दिँदै आएका छन् । ‘अरु गाउँ छोडेर सहर जान्छन् तर, म सहर छाडेर गाउँमै बस्छु । काठमाडौंमा कुखुरा पालन भए पनि धेरै जसो गाउँमै बस्छु । सहरमा भन्दा गाउँमा बढी आनन्द र रमाइलो लाग्छ,’ उनले भने ।
उनले विदेशमा गरे जति काम आफ्नो गाउँमै गरे यहाँ पनि राम्रो आम्दानी हुने बताए । उनले विदेशमा पनि सहजरुपमा पैसा कमाउन नसकिने बताउँदै उनले विदेशमा जस्तो दुख आफ्नै देशमा गरे राम्रो आम्दानी गर्न सकिने बताए ।
उनले युवाहरूलाई रोजगारीका लागि विदेश नजान सुझाव दिए । उनले विदेशमा गर्ने दुख आफ्नै गाउँमा र आफ्नै बारीमा गर्न सुझाव दिए । ‘अरूको देशमा रातदिन खटिनुपर्छ । जता गए पनि काम गर्नुपर्छ । विदेशमा गर्ने जस्तो काम आफ्नै गाउँमा र बारीमा गर्दा यहाँ पनि कमाई हुन्छ,’ उनले भने ।
उनले वैदेशिक रोजगारीलाई कम गर्न सरकारले पनि युवामैत्री र स्वरोजगार मैत्री नीति बनाउनु पर्ने बताए । उनले युवाहरूलाई देशमै गरिखाने वातावरण बनाउनु पर्ने बताए ।
उनले किसानका उत्पादनलाई बिक्रीका लागि बजारको व्यवस्थापन गर्न सरकारसँग माग गरे । उनले स्वदेशमै रोजगारीका लागि सरकारले काम गर्नुपर्ने बताए । समय समयमा अनुदान, तालिम लगायतको सहयोग सरकारले गर्नुपर्ने उनको भनाई छ ।
‘कृषकहरूलाई सबै भन्दा समस्या नै बजार नपाउनु हो । सरकारले बजार व्यवस्थापन गरिदियो भने काम प्रति झनै आकर्षण बढ्थ्यो र स्वदेशमै काम गर्ने वातावरण पनि बन्ने थियो,’ उनले भने, ‘सरकारले आवश्यक सामानहरू दिनुपर्छ, अनुदानका कार्यक्रम पनि ल्याउन सके झनै प्रभावकारी हुन्थ्यो ।’