अराजकताको पराकाष्ठा : प्रधानमन्त्रीको जन्मोत्सवमा हार्दिक श्रद्धाञ्जली !

काठमाडौं । सामान्यतया जन्मदिनमा शुभकामना दिने गरिन्छ । प्रत्यक्ष वा सामाजिक सञ्जालका माध्यमबाट जन्मदिन, विवाह लगायतका समारोहमा खुसी व्यक्त गर्दै बधाई दिने गरिन्छ । तर,राजनीतिमा भने त्यस्तो देखिँदैन ।
नेताहरू दुर्घटनामा पर्दा होस् वा जन्मदिन नै पर्दा किन नहोस्,सामाजिक सञ्जालमा उनीहरूलाई दुर्घटनामा सान्त्वना र जन्मोत्सवमा शुभकामना दिएको देखिँदैन । त्यसको साटो तथानाम गालीको वर्षा आउँछ । पछिल्लो समय नेपालमा फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सामाजिक सञ्जालमार्फत नै सुखद वा दु:खद् खबर सम्प्रेषण गरिएको देखिन्छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार (फागुन ११) बिहानै आफ्नो ७४ औँ जन्मदिनबारे जानकारी गराए । त्यसपछि विभिन्न फेसबुक पेजहरूबाट समेत प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिँदै पोष्ट गरियो । तर,उक्त पोस्टहरूको कमेन्टमा ओलीलाई जन्मदिनको शुभकामना दिइनुको साटो गालीको वर्षा आयो ।
सामाजिक सञ्जालमा जन्मदिनमा ओलीमाथि जन्मदिनको शुभकामना आउनुपर्नेमा हार्दिक श्रद्धाञ्जली भन्दै कमेन्ट आएका छन् । स्वयं प्रधानमन्त्रीले नै गरेको पोस्टमा समेत नकारात्मक कमेन्ट आएका छन् ।
प्रधानमन्त्री ओलीले गरेको उक्त पोस्टमा कतिपयले नकारात्मक कमेन्ट गरेका छन् भने कतिपयले सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले गरेको उक्त पोस्टको कमेन्टमा भाष्कर ढकाल नाम गरेका फेसबुक प्रयोगकर्ता सुझाव दिँदै लेख्छन्- ‘कस्तो महान् राज नेता बन्यौ । तिम्रो जन्मदिनमा जन्मदिनको शुभकामना भन्दा हार्दिक श्रद्धाञ्जली धेरै आउँछन् । आफ्नो र आफ्नो नजिकका मानिसहरूको लागि होइन,जनताको लागि नेता बन्ने प्रयास गर्नुहोस् । जन्मदिनको शुभकामना ।’ त्यस्तै रमेश कार्की नाम गरेका फेसबुक प्रयोगकर्ता लेख्छन्-‘कमेन्ट पढेर सुध्रिनुहोला । अरु भन्नु केही छैन मेरो ।’
नेताहरूप्रति वितृष्णा भएपनि असभ्य तवरबाट सामाजिक सञ्जालमा प्रस्तुत हुनु जङ्गलीपनको पराकाष्ठा भएको राजनीतिक विश्लेषक डा.राजेन्द्र चापागाईँ बताउँछन् । ‘नेताहरूप्रति वितृष्णा होला । तर, त्यो वितृष्णा पोख्ने भनेको आफ्नो देशको प्रधानमन्त्रीको जन्मोत्सवको दिनमा होइन । प्रधानमन्त्रीको जन्मोत्सवमा सामाजिक सञ्जालमा छुद्र शब्दहरू प्रयोग गरेर प्रतिक्रिया दिनु भनेको असभ्यता र जङ्गलीपनको पराकाष्ठा हो,’ डा.चापागाईँले मकालुखबरसंग भने, ‘चेतना कम भएका व्यक्तिहरूको पराकाष्ठाको नमूना हो । वितृष्णा पोख्ने अरु माध्यम छन् । वितृष्णा प्रस्तुत गर्ने अरु मौकाहरू छन् । अरु ठाउँहरू छन् वितृष्णा पोख्नको लागि । तर,प्रधानमन्त्रीको जन्मोत्सवको दिनमा असभ्य शब्दहरू प्रयोग गर्ने भनेको जङ्गलीपनको पराकाष्ठा हो ।’
विरोध गर्ने ठाउँ,समय,इस्यु (विषय) हुने चर्चा गर्दै प्रधानमन्त्रीको जन्मदिन पर्नु के अपसूचक हो भन्दै प्रश्न समेत गरे । नेताहरूप्रति जनताको वितृष्णा हो भनेर व्याख्या गरिनु थप त्यस्तै कुरालाई हौसला प्रदान गरिनुजस्तो भएको पनि उनी बताउँछन् ।
प्रधानमन्त्री ओलीको पहिलो,दोस्रो र तेस्रो कार्यकालसम्मको क्रेज चौथो कार्यकालसम्म आइपुग्दा ह्वात्तै घटेको समेत उनले बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीको तेस्रो कार्यकालसम्मको क्रेज चौथो कार्यकालमा आएर ह्वात्तै घटेको छ । किनकि पछिल्लो पटक ओली प्रधानमन्त्री भइसकेपछि सात महिनासम्म देश र जनताले उहाँलाई सम्झनुपर्ने कुनै पनि काम गर्नुभएको छैन र खाका पनि कोर्नुभएको छैन । त्यसकारण जनतामा चरम वितृष्णा त छ,तर वितृष्णा छ भन्दैमा नागरिकले जङ्गलीपन जस्तै गरी प्रस्तुत हुनुहुँदैन,यो राम्रो होइन ।’
सामाजिक सञ्जालमा पछिल्लो समय नेताहरूमाथि गरिने व्यवहारले समाज कता जाँदैछ भन्ने ठूलो चुनौतीको विषय बनेको डा.चापागाईँ बताउँछन् । ‘हाम्रो समाज कता जाँदैछ ?,हाम्रो मानसिकता कता जाँदैछ ?,हाम्रो समाजलाई कसरी भड्काइँदैछ ? र हामी कसरी भड्किँदैछौँ ? भन्ने विषय नेपाली जनताको मानसिकताप्रतिको ठूलो चुनौती हो,’उनले भने ।
सामाजिक सहिष्णुता लगायत नेपाली समाजको गहना यस्तै अवस्था रहेमा छिट्टै खलबलिने उनी बताउँछन् । उनले सामाजिक सहिष्णुतालाई भड्काउनका लागि कुनै वर्ग परिचालन गरिएको हुनसक्ने आशंका व्यक्त गरे ।
डिजिटल सञ्चार सामाजिक सहिष्णुता भड्काउने किसिमले अघि बढिरहेको भन्दै यसतर्फ राज्यले ध्यान दिनुपर्नेमा उनले जोड दिए । ‘प्रधानमन्त्रीले टुँडिखेलमा भाषण गर्दाखेरी,प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्दा बोलिएका कुराहरूको आधारमा कमेन्ट गर्नु जनताको विमति, अविश्वास हो भन्ने बुझ्न सकिएला,’ डा.चापागाईँले भने, ‘तर, जन्मदिनमा यसरी गालीगलौज गर्ने व्यक्तिहरू संस्कारहीन व्यक्ति हुन् ।’
नेकपा एमालेकी सचेतक सुनिता बराल भने समाज अमर्यादित बन्दै गएको बताउँछिन् । उनले मकालुखबरसंग कुरा गर्दै भनिन्,‘मान्छेहरूको गुनासो हुनसक्छ । कुनै विषयमा असहमति हुनसक्छ । तर,एउटा व्यक्तिसँग विषयप्रसंगविना पनि जसरी टिप्पणीहरू आउँछन् । त्यो चाहिँ राम्रो होइन । समाज अलि बढी अमर्यादित हुन थालेको हो की भन्ने कुरामा चिन्ता गर्ने बेला आएको छ ।’
विषयसँग सम्बन्धित भएर टिप्पणी गर्न अथवा असहमति राख्न पाइने भएपनि असहमति र सहमतिभन्दा फरक ढङ्गबाट आउने कुनै पनि कुराहरूले नैतिक विषय नै खडेरीमा पर्न थालेको उनले बताइन् ।
गत फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन कार्यक्रममा बेलुन पड्किएपछि घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यमाथि समेत सामाजिक सञ्जालमा गालीको ओइरो नै लागेको थियो । पछिल्लो समय नेताहरू सहभागी सार्वजनिक कार्यक्रममा उनीहरुविरुद्ध असन्तुष्टि पोख्ने गरिएको छ ।