८४ मा बहुमत ल्याउने रास्वपाको दाबी, विश्लेषक भन्छन् – वितृष्णाको मत अब पाउँदैन

काठमाडौं । पछिल्लो समय राजनीतिक दलहरुप्रति जनता निराश छन् । जनताको लागि आशलाग्दो काम नगरेर नेताहरु सत्ता केन्द्रित मात्रै हुँदा जनतामा निराशा बढेको हो ।

राजनीतिक दलहरुप्रति वितृष्णा बढेकै कारण बालेन,हर्कहरुका साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ बैकल्पिक शक्तिको उदय भयो । २०७९ सालको आम निर्वाचनबाट रास्वपा संसदको चौथो ठूलो दलका रुपमा उदायो ।

२०७९ असारमा निर्वाचन आयोगमा दर्ता भएको रास्वपा सोही वर्षको मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा सहभागि भएर पार्टी स्थापनाको छोटो समयमा नै संसदको चौथो ठूलो दल बन्न सफल भयो ।

सुशासन,विकास,समृद्धिका साथै भ्रष्टाचार नियन्त्रणलाई केन्द्रमा राखेर अघि बढिरहेको रास्वपा पछिल्लो समय आगामी निर्वाचनमा अन्य दलहरुलाई बडार्दै बहुमत ल्याउने बताइरहेको छ । २०८४ को निर्वाचनमा पार्टीले बहुमत ल्याउने रास्वपाका नेताहरु बताइरहेका छन् ।

मंगलबारमात्रै प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले आगामी निर्वाचन (२०८४) मा बहुमत ल्याइ छाड्ने बताए ।

उनले प्रतिनिधि सभा बैठकमा बोल्दै भने,‘प्रधानमन्त्रीको पार्टीका उपाध्यक्षलाई साढे सात हजारको मतान्तरले पछाडी पारेर ३४ हजार भन्दा भारी मत ल्याएको आडमै म छु,म आडमै छुँ । खबरदार जनमतको यसरी उपेक्षा गर्न पाइँदैन । जतिपनि विधिका शासनका कुराहरु र हामीले उठाएको भ्रष्टाचार विरुद्धको यो अभियान कसै एक जनालाई छेकेर छेकिनेवाला छैन । संख्या पुगेन हजुर यसपटक संख्या पुगेन । संख्या पुगेको दिन अकुत कमाएर सम्पत्तिका मानकतामा मस्त रमाएर बेहोस भएकाहरुलाई ब्युझाउनेछौँ । राणाकालमा अकुत कमाउनेको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो । राजाको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो । यो पैतिस वर्षमा अनेकौँ काण्ड मच्चाएर नागरिकको रगत पसिना चुसेकाहरुको त्यो अकुत सम्पत्ति राज्य ढुकुटीमा ल्याउँछौँ,ल्याउँछौँ । ८४ मा संख्या पुर्‍याउँछौँ । खबरदार ।’

रास्वपा नेताहरुले आगामी निर्वाचनमा बहुमत ल्याउने बताइरहेपनि सहज भने छैन । पार्टी सभापति नै सहकारी ठगी प्रकरणमा मुछिएपछि जनतामा असन्तुष्टि पैदा भएको छ । अदालतमा अहिले सहकारी ठगी सम्बन्धी पार्टी सभापति रवि लामिछानेको मुद्दा विचाराधिन छ ।

यस्तै रास्वपा लोकप्रियतामा रमाइरहेको भन्दै टिप्पणी समेत गर्ने गरिएको छ । पार्टीभित्र असन्तुष्टि समेत बढ्दो छ । पार्टी सभापति लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि अहिले रास्पवा कार्यवाहकको भरमा अघि बढिरहेको छ भने विवादकै कारण हालसम्म पनि दल नेताको टुङ्गो लाग्न सकेको छैन ।

फरक मत राख्ने व्यक्तिहरुलाई स्थान दिनुपर्नेमा उल्टै पार्टीबाट निष्काशित गर्नतर्फ रास्वपा उद्दत देखिएको छ । पार्टीको नीति,नियम विपरित चलेको भन्दै तत्कालिन महामन्त्री मुकुल ढकाललाई पार्टीबाट निकालियो । यसरी पार्टी स्थापनाको छोटो समयमा नै रास्वपा ओरालो यात्रातर्फ गइरहेको छ ।

उसो त नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरु पनि आगामी निर्वाचनमा बहुमत ल्याउने बताइरहेका छन् । कुनै पनि कार्यक्रममा जाँदा नेताहरु आगामी निर्वाचनमा बहुमत ल्याउने बताउँदै आएका छन् ।

राजनीतिक विश्लेषक डा.राजेन्द्र चापागाईं भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा बहुमत ल्याउन नसक्ने बताउँछन् । रास्वपाको बिउ नै कुहिएको भन्दै आगामी निर्वाचनमा बहुमत ल्याउने सपना मात्रै भएको उनले बताए ।

‘बीउ कुहिएको भएपछि अनी त्यसले राम्रो फलाउँछ भनेर आशा गर्न सकिन्छ र ? स्वस्थ बीउ शुद्ध माटोमा रोपको भए त्यसले राम्रै फल देला भनेर आशा गर्न सकिन्थ्यो । तर, रास्वपाको बीउ नै कुहिएको छ । कुहिएको बीउमा उम्रिएकाहरु हुन् यीनिहरु त । कुहिएको बीउमा फलेका फलहरु हुन् । यी फलहरु आफैंमा मिठा छन् भन्न सकिँदैन,राजनीतिक विश्लेषक डा.चापागाईंले भने ।’

उनले रास्वपाको जन्म नै हतासमा भएको भन्दै बीउ नै कुहिएको भनेर नेपाली जनताले थाहा पाइसकेको उनले बताए । रास्वपाले वितृष्णाका मतहरु पाइसकेको चर्चा गर्दै अब वितृष्णाका मतहरु नपाउने उनले बताए ।

‘मूलधारका राजनीतिक पार्टीहरुले जनजिविकालाई सम्बोधन गरेर कार्यक्रममा लान सकेका छैनन् । दुई ठूला पार्टी मिलेर सरकार गठन भएको सात महिनाको अवधिसम्म पनि वर्तमान सरकारले यो काम गर्‍यो भन्ने एउटा कामको रुपरेखा देखिएको छैन । त्यसले गर्दा वितृष्णा जनतामा बढ्दै छ । त्यो वितृष्णाका मतहरुलाई चाहीँ क्याच गर्छौं भन्ने दाउ रास्वपाको हो,राजनीतिक विश्लेषक डा.चापागाईंले भने,‘रास्वपाले वितृष्णाका मतहरु क्याच गरिसकेको छ । अब वितृष्णाका मतहरु पाउँदैन ।’ वितृष्णाका मतहरु क्याच गर्ने अरु नयाँ पार्टी आउने समेत उनले बताए ।

रास्वपाले आगामी निर्वाचनमा बहुमत नल्याउने बताउँदै राजनीतिक विश्लेषक डा.चापागाईंले भने,‘रेष्टुरेन्टमा पुरै मेन्यु हेरेपनि खाइरहेको म:म अर्डर गरेजस्तै मतदाताले पनि हेर्न चाहीँ सबैलाई हेर्छन् अन्तिममा गएर चाहीँ कांग्रेस,एमाले र माओवादीबीच नै फाइट हुन्छ । रास्वपा चाहीँ प्रतियोगिता मै आउँदैन ।’

रास्वपाको सिद्धान्त र दर्शन नभएको समेत राजनीतिक विश्लेषक डा.चापागाईंले बताए । ‘कुनै पनि पार्टी सिद्धान्तले चल्छ । सिद्धान्त र दर्शन भएन भने पार्टी चल्दैन । रास्वपाको सिद्धान्त के हो ? सिद्धान्त चाहीँ यसको संघीयता हो की संघीयता विरोधी हो ? रास्वपा संविधान मान्ने हो की नमान्ने हो ? रास्वपाको प्रष्ट दृष्किोण के हो ? राष्ट्रिय मुद्दामा,रास्वपालाई राजा चाहिने हो की गणतन्त्र चाहिने हो ? छैन नी अनि त्यसै अध्यारोमा खेलेर हुन्छ ? पार्टीको रुप लिनका लागि सैद्धान्तिक ढाँचा चाहिन्छ,’ उनले भने ।

रास्वपाको आफ्नो स्थान नभएको बताउँदै दाउ हरेर बाजी थाप्ने पार्टी भएको उनले बताए । रास्वपाको सुरुको क्रेज अहिले नरहेको समेत उनले बताए ।

‘स्थापना कालमा रास्वपाको क्रेज थियो । दोहोरो नागरिकता देखी सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ति सभापति बनेका छन् । परपरपर बोलेर मात्रै अब कहाँ जनताले मत दिन्छन्,’ राजनीतिक विश्लेषक डा. चापागाईंले भने ।

अबको राजनीति सिद्धान्त र आस्थाको राजनीति हुने उल्लेख गर्दै उडुवा राजनीति अब नहुने उनी बताउँछन् । जनतामा चेतनाको स्तर बढ्दै गएको उनको भनाई छ । रास्वपाले जनताका मुद्दा र जनताको सेवामा कत्तिको खटे भनेर देखाउन नसकेको समेत उनले बताए ।

राजनीतिक विश्लेषक डा.चापागाईंले दलहरुले ८४ मा बहुमत ल्याउँछु भन्नु गाइजात्रा मात्रै भएको समेत बताए । ‘अहिले हामी २०८१ मा छौँ । ८४ आउन बाँकी छ । खुबी भएको भए मिसन ८१ मा लाग्नुपर्थ्यो । जनताको मन जित्दै विकासका लागि अहिले नै काम गर्नुपर्नेमा अहिल्यै ८४ को सपना देख्नु हुँदैन,’उनले भने ।

दलहरुको मिसन ८४ आगामी निर्वाचनमा जनतासंग मत माग्दै चुनावी घरदैलो कार्यक्रम गरेको जस्तो लागेको समेत उनले बताए । काम गर्न सक्ने हुती नभएकाहरुले आगामी निर्वाचनलाई भजाएर बसेका राजनीतिक विश्लेषक डा.चापागाईंको भनाई छ ।

अहिलेदेखी नै ८४ को पछि लाग्नुको अर्थ नभएको बताउँदै पार्टीहरुले देश र जनतालाई सम्बोधन हुने गरी काम गर्नुपर्नेमा चापागाईंले जोड दिए । दलहरु आगामी निर्वाचनसंग डराएको उल्लेख गर्दै कायर र त्रास मानसिकताको उपज भएको समेत उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *