फेरि रेशम फिलिली : हाँस्ने, रुने अनि सोच्ने फिल्म

काठमाडौँ । आजभोलि नेपालमा विदेश जाने ‘ट्रेन्ड’ नै चलेको छ । रहरले होस् या बाध्यताले युवाहरू कसै गरी पनि विदेश जान चाहन्छन् । युवाहरू बिदेसिनु नेपालको लागि जल्दोबल्दो समस्या हो । यही पृष्ठभूमिमा रहेर ‘परदेशी’ (२०१५), ‘दाल भात तरकारी’ (२०७६) जस्ता चलचित्रहरू बनिसकेका छन् । लेखक तथा निर्देशक निरोज महर्जनले पनि यही पृष्ठभूमिमा रहेर चलचित्र ‘फेरि रेशम फिलिलि’ निर्माण गरेका छन् । यो ‘रेशम फिलिली’ चलचित्रको दोस्रो शृङ्खला हो । यस फिल्ममा ‘रेशम फिलिली’ का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।

कथावस्तु :
यो कथा हो रेशम (विनय श्रेष्ठ) को, उनी एकदमै सोझो र सिधा पात्र हुन् । एकपटक उनलाई कतार पठाइदिन्छु भनेर अन्यत्र पुर्‍याइएको छ । त्यसैले गाउँमा उनलाई सबैले ‘कतारे’ भनेर बोलाउने गरेका छन् ।

चलचित्रको सुरुमा गाउँका मानिसहरू धमाधम डिभी भरिरहेका हुन्छन्, यत्तिकैमा रेशम पनि त्यहाँ पुग्छन् । गाउँलेहरूले उनलाई कतार पनि जान नसक्ने मान्छे अमेरिका जाने भन्दै गिज्याउँछन् । त्यसपछि ‘कतारेबाट ५० तारे बनाइदिन्छु भन्दै’ उक्त गाउँकै हाजमोला नामक पात्रले उनलाई जबरजस्ती लगेर फोटो खिचाई डिभी भरिदिन्छन् । त्यसपछि बदलिन्छ रेशमको भाग्य ।

रेशमलाई डिभी परेपछि सबै गाउँलेहरू उनको पछि पर्छन् । उनीहरू रेसमसँग आफ्ना छोरीको विवाह गरिदिने दाउमा छन् । उनीहरू सुटकेश, कोट दिएर रेशमलाई फकाउन खोज्छन् । गाउँलेहरूले रेशमको आमा (लक्ष्मी गिरी) लाई ‘एकपटक मात्र लगाएको हो है’ भन्दै लुगा दिन्छन् । त्यसबिच रेशमले कहिल्यै नपाएको सम्मान पाउँछन् । उनी आफ्नो आमाको अवस्था फेर्न भएपनि अमेरिका जान चाहन्छन् ।

उता हाजमोलालाई रेशम अमेरिका जाने कुरा पचेकै हुँदैन । उनी बारम्बार रेशमलाई अमेरिका जानबाट रोक्ने प्रयास गरिरहन्छन् । एकपटक त उनले रेशमले लुकाई राखेका पासपोर्ट समेत चोरी गर्छन् । त्यसैले रेशम आफू अमेरिका जान नपाउने हो की भन्ने कुरामा सचेत छन् । उनी आफ्नो पासपोर्ट जनैमा बाँधेर आफूसँगै राख्छन् ।

हुँदाहुँदै रेशम अमेरिका जाने दिन पनि आउँछ । उनकी आमाले उनलाई एयरपोर्ट सम्मै पुर्‍याउँछिन् । तर फर्कँदा उनी अपहरणमा पर्छिन् । त्यसपछि चलचित्रमा अनपेक्षित मोड आउँछ ।

त्यस्तै चलचित्रका अर्का मुख्य पात्र रहेका छन्, ‘मुरारी’ (कामेश्वर चौरासिया) । उनी भोजपुरी चलचित्रका नायक हुन् । तर उनले अभिनय गरेका एउटै चलचित्र हिट भएका छैनन् । भरखरमा प्रदर्शनमा आएको भोजपुरी चलचित्रले पनि दर्शन नपाएपछि केही समयमा नै उनको चलचित्र हलबाट बाहिरिन्छ । अब उनी अर्को चलचित्रको प्रतीक्षा छन् । जसले उनलाई सफलता दिने कुरामा उनी विश्वस्त देखिन्छन् ।

‘विदेश जाने सबैभन्दा राम्रो तरिका भनेकै फिल्म बनाउने हो’ भनेर उनले ज्वालाबाट पैसा लिएका हुन्छन् । फिल्म नचलेर निराश बनेका मुरारी अब चलचित्रका भिलेन ‘ज्वाला’ (नीर शाह) को कब्जामा पर्छन् । ज्वाला भने कलाकार र निर्माता बनेर छोरीलाई अमेरिका पठाउन चाहन्छन् ।

यसरी नै चलचित्र विभिन्न पात्रहरूको वरपर घुमेको छ ।

त्यसोभए, के रेशम आफ्नो आमालाई बचाउन सफल होलान् त ?, उनी अमेरिका जान्छन् कि जाँदैनन् ?, मुरारी कसरी ज्वालाको हातबाट निस्कन्छन् ?, उनले अर्को चलचित्र बनाउन सक्लान् त ?, यो सब थाहा पाउन चलचित्र हेर्नुपर्ने हुन्छ ।

‘फेरि रेशम फिलिलि’को ट्रेलर

रिभ्यु :
निरोज महर्जनद्वार निर्देशित यस चलचित्रले आफ्नो पहिलो शृङ्खला ‘रेशम फिलिली’ लाई नै निरन्तरता दिएको छ । पहिले श्रृङ्खलामा झैँ यस श्रृङ्खलामा रेशम फेरि फिलिलि हुन्छन् । जुन चलचित्रको नामबाट नै सजिलै अनुमान लगाउन सकिन्छ । जहाँ विनय, कामेश्वर, नीर शाह र लक्ष्मी गिरीको धमाकेदार अभिनय देख्न सकिन्छ । तर नायिका सुपुष्पाको अभिनयमा भने केही सुधारका पक्षहरू देखिन्छन् । त्यस्तै सपोर्टिंग कास्ट पनि ठिक–ठाक छ ।

चलचित्रमा दर्शकलाई छिन मै हँसाउने र छिन मै रुवाउने समाथ्र्य छ । चलचित्र हेरिरहँदा यसका गीतले पनि माहौललाई संगीतमय बनाइदिन्छ । चलचित्रको अधिकांश सुटिङ तराई र केही काठमाडौँमा गरिएको छ । चलचित्रको सिन, डाइलग, स्क्रीनप्ले र कलाकारहरूको अभिनयका कारण उत्कृष्ट बनाएको छ । दर्शकहरूले यस चलचित्रबाट भरिपूर्ण मनोरञ्जन लिन सक्छन् ।

सुरुमा चलचित्रको कथावस्तु तेज रफ्तारसँग अघि बढेको छ । जुन रफ्तार पछिसम्म पनि रहिरहन्छ । तर अन्त्य भने अनावश्यक रूपमा लम्ब्याइएको महसुस हुन्छ । तर जतिपनि ‘ट्रन एण्ड ट्विस्ट’ हरू चलचित्रमा आउँछन् । ती सबै अनप्रेडिक्टिबल छन् । जसले पुरै अवधिभर उत्सुकता र कौतुहलताले दर्शकलाई बाँधेर राख्छ ।

किन हेर्ने ?
चलचित्र ‘फेरि रेशम फिलिलि’ले तारै तारा भएको देशमा जानु भन्दा चन्द्र र सूर्य भएको आफ्नै देशमा परिवारसँगै बसेर खुसीले बाच्नुपर्छ भन्ने सन्देश दिएको छ । कमेडी र इमोस्नल फिल्म मन पर्ने व्यक्तिहरूले यो फिल्म हेर्न सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *