नाडाले भन्यो – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले सरकारको नीतिलाई नै उपेक्षा गर्यो
ऋण मूल्य अनुपातको सीमालाई ८० प्रतिशत नै कायम गर्न माग


काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले गत मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।
नाडाले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा समावेश गरिएको व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतिय सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने विषयमा ध्यानाकर्षण भएको जनाएको हो ।
सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशिल बनाउन यस एशोसिएशनले यस सन्दर्भमा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ५० प्रतिशतबाट ७५ प्रतिशत पुर्याउनका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्दै आएकोमा नेपाल राष्ट्र बैंकको यस मौद्रिक नीतिको अर्धववार्षिक समिक्षामा व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने भनिएको छ ।
पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुको सन्दर्भमा सो व्यवस्था सराहनिय भएपनि विद्युतीय सवारी साधनहरुको सम्बन्धमा सोही व्यवस्था गरिदा विद्युतीय सवारी साधनहरुको व्यवसायमा लागेका व्यवसायीहरुलाई ठूलो मर्का पर्ने अवस्था सिर्जना भएको नाडाले जनाएको छ ।
सरकारले नीतिगत रुपमै ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने निर्णय गरी सोही अनुरुप सरकारले विगतको समय देखि नै विद्युतीय सवारी साधनहरुलाई विशेष सुविधा समेत प्रदान गर्दे आएकोमा बर्तमान मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले सरकारको सो नीतिलाई नै उपेक्षा गरेको देखिएको नाडाले बताएको छ ।
नेपाल राष्ट्र बैंकको यस नीतिबाट विद्युतीय सवारी साधनहरुको प्रयोगमा निश्चित रुपमा कमी आउने अवस्था आएको समेत नाडाले जनाएको छ । सरकारको आफनो घोषित नीतिको पालना र विद्युतीय सवारी साधनहरुको हकमा व्यवसायीहरुको लगानीलाई सुरक्षित बनाउनका लागि यस अघि कै नीति अर्थात ऋण मूल्य अनुपातको सीमालाई ८० प्रतिशत नै कायम गर्ने व्यवस्था गर्न पनि नाडाले आग्रह गरेको छ ।
