गोरखा भूकम्पपछि ५५ हजार बढी परकम्प, यस वर्ष मात्रै २२ पटक गयो परकम्प (विवरणसहित)

काठमाडौं । नेपालमा वि.सं. २०७२ सालमा आएको विनाशकारी भूकम्पपछि बारम्बार परकम्प गइरहेका छन् । २०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.६ रेक्टरस्केलको भूकम्प गएको थियो ।
२०७२ सालको भूकम्पपछि नेपालमा बारम्बार भूकम्पको परकम्प गइरहेका छन् । यसरी बारम्बार परकम्प गइरहँदा नागरिकहरु भने त्रसित बनेका छन् । यसअघि वि.सं.१९९० सालमा महाभूकम्प गएको थियो ।
परकम्पनकै क्रममा नेपालमा शुक्रवार बिहानमात्रै ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर काठमाडौंका अनुसार २ बजेर ५१ मिनेटको समयमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यका सहित देशका विभिन्न भाग तथा भारतमा समेत महसुस गरिएको थियो ।
यसबाट अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन । २०७२ सालमा गोरखा केन्द्रविन्दु बनाएर गएको भूकम्पको झल्को दिने गरी शुक्रवार विहान भूकम्प गएको भूकम्पविद्ले बताएका छन् ।
गत माघ ३० गते जुम्ला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यसरी यस वर्षको हालसम्म २२ पटक भूकम्पको परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
गोरखामा गएको भूकम्पको परकम्पका रुपमा आज (शुक्रबार) को सिन्धुपाल्चोकको भूकम्पलाई लिन सकिने राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् भरत प्रसाद कोइरालाले मकालुखबरलाई बताए ।
उनले भने,‘२०७२ बैशाख १२ मा ठूलै भूकम्प गयो । उक्त भूकम्पले यो क्षेत्रमा सञ्चित इनर्जी (शक्ति) सबै निकालेको छैन । त्यो सबै शक्ति ननिक्लिएको र शक्ति निस्किने एउटै माध्यम भूकम्प हो । सञ्चित भएको शक्ति निस्किएको हो यो चाहीँ ।’
वरिष्ठ भूकम्पविद् कोइरालाका अनुसार एउटा भूकम्प गइसकेपछि शक्ति सञ्चित हुने प्रक्रिया निरन्तर जारी रहन्छ । ‘भूकम्प गएपछि एकछिन त्यहाँको चट्टनाले थेग्न सकुन्जेल थेग्छ । थेग्न नसकेपछि चट्टान भाँचिन्छ । भाँचिदाखेरी त्यसका तरंगहरु निस्कन्छन् । यसरी चाहीँ हामीले हल्लाएको महशुस गर्ने हो,’ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् कोइरालाले भने ।
भूकम्पले शक्ति निकालेपनि खेल्ने क्रम जारी रहने उनी बताउँछन् । भूकम्प गएर अलिकति इनर्जी (शक्ति) निस्किएपनि ठेल्ने क्रम, शक्ति सञ्चित हुने क्रम जारी नै रहने कोइरालाले बताए । उनले भने,‘ भूकम्प गएर अलिकति इनर्जी (शक्ति) निस्किएपनि ठेल्ने क्रम, शक्ति सञ्चित हुने क्रम जारी नै रहन्छ । अनि त्यो ठाउँमा शक्ति सञ्चित हुन्छ र फेरी अर्को भूकम्प गएर त्यो शक्ति निस्किने हो । त्यही क्रममा गोरखा हुँदै डोटी,बझाङ्ग,बाजुरा,जाजरकोट लगायत ठाउँहरुमा भूकम्प गए ।’
२०७२ सालमा गोरखा भूकम्पपछि साना ठूला गरेर ५५ हजार बढी परकम्प गइसकेको वरिष्ठ भूकम्पविद् कोइरालाले बताए । उनका अनुसार गोरखा भूकम्पपछि चार म्याग्निच्युड भन्दा बढीका ६ सय २ वटा परकम्प गएका छन् ।
नेपाल भूकम्पीय जोखिममा रहेको चर्चा गर्दै वरिष्ठ भूकम्पविद् कोइरालाले भने,‘नेपाल भूकम्पीय जोखिममा छ । हामी भूकम्पीय जोखिममा छौँ । त्यसकारण हामी सबै सचेत हुन जरुरी छ ।’
अब बन्ने भवनहरु भूकम्प प्रतिरोधी हुनुपर्नेमा उनले जोड दिए । ‘अहिलेसम्म जति हामीले भूकम्पले मान्छेको मृत्यु भएको भनेका छौँ नी, त्यो भूकम्पले आफैं मान्छे मारेको होइन । खुला चौरमा बसेका कसैको पनि मृत्यु भएको छैन । भूकम्प प्रतिरोधी संरचना निर्माण नगरिएपछि मान्छेको मृत्यु भयो । हामीले बनाएका संरचना भत्किए । त्यसकारण सबैभन्दा राम्रो भनेको हाम्रा संरचनाहरु भूकम्प प्रतिरोधी बनाउन आवश्यक छ । सबैभन्दा उत्तम उपाय यही नै हो ।’