विकास र समृद्धिका लागि रणनीतिक योजना आवश्यक : हिक्मतकुमार कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रणनीतिक योजना बनाएर नेपालको पर्यटन क्षेत्रमा लगानी गरे मुलुकले छिट्टै नै विकास र समृद्धि हासिल गर्ने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभा हलमा आइतबार आयोजित कार्यक्रममा नेपाल उद्योग तथा व्यवसायी महासङ्घ कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले भने, “यस प्रदेशमा पर्यटनको प्रचुर सम्भावना र अवसर छ, यसलाई समयमै उपयोग गर्न सक्नुपर्छ ।”
छिमेकी मुलुक भारत र चीनको जनसङ्ख्यालाई ध्यानमा राखेर यहाँ धार्मिक पर्यटकीयस्थलमा लगानी गर्न आवश्यक रहेको उल्लेख गरे । “पर्यटक हाम्रा पाहुना मात्र नभएर पुँजी निर्माणका आधार पनि हुन्”, उनले भने ।
“नेपाल शान्तिप्रिय र सुरक्षित रहेको सन्देश दिन सक्यौँ भने हामी सहजै समृद्धितर्फ अगाडि बढ्न सक्छौँ”, मुख्यमन्त्री कार्कीले भने । उनले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलन सफल पार्न आह्वान गरे ।
कार्यक्रममा नेपाल उद्योग तथा व्यवसाय महासङ्घ कोशी प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष माधवराज थापाले उद्योगी–व्यापारीका विविध समस्याबारे आफ्नो धारणा राखेका थिए ।
