चलचित्र ‘जनै हराएको बाहुन’ मा केकी र मिरुना अनुबन्धित


काठमाडौँ । चलचित्र ‘जनै हराएको बाहुन’को लाइनअप बलियो हुँदै गएको छ । रिलिज डेट लिइसकेको सिनेमाले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ ।
निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको छ । अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका छन् ।
‘जनै हराएको बाहुन’मा विजय पछि मुख्य भूमिकामा केकी र मिरुना अनुबन्ध भएका हुन् । सिनेमामा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माणपक्षले खुलासा गरिसकेको छैन ।
चलचित्रको केही समय अघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ । ‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ ।
‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । यो चलचित्रको असोसियट निर्देशकमा मनिष राउत रहेका छन् ।
पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।
आदित्य फिल्मस् निर्माता रहेको चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् ।
यो वर्षको अन्त्यसम्ममा चलचित्र छायांकनमा जानेछ । यो चलचित्र आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुँदैछ । निर्माणपक्षका अनुसार यो सिनेमा नेपाल र ओभरसिज मार्केटमा एकै दिन रिलिज हुनेछ ।
