आम मान्छेको कथा जोडिएको एमालेको राजनीतिक दस्ताबेज ‘भुइँमान्छे’ सार्वजनिक

काठमाडौँ । कोअर्डिनेसन केन्द्रदेखि माले हुँदै नेकपा एमाले सम्मको राजनीतिक यात्रामा आमकार्यकर्ताको योगदान समेटिएको पुस्तक ‘भुइँमान्छे’ सार्वजनिक भएको छ ।

नेकपा एमालेकी निलम्बित स्थायी समिति सदस्य विन्दा पाण्डेको पुस्तक ‘भुइँमान्छे’ मंगलवार झापा र इलामको सिमाना बधस्थल सुखानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

सुखानी हत्याकाण्डलाई हरेक वर्ष कम्युनिस्टहरूले कम्युनिष्ट आन्दोलनको इतिहासका रूपमा सम्झने गरेका छन् । ४७ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँचजनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ले देशभर परिचित छ । कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउने झापा विद्रोह लगायत मुलुकका विभिन्न स्थानमा भएका तत्कालीन घटनामा आम कार्यकर्ताको भुमिका समेटिएको पुस्तक भएकाले सुखानीमा विमोचन गरिएको लेखिका पाण्डेले बताए ।

सुखानीमा बुधवार बिहान पार्टीको जिल्लास्तरीय कार्यक्रम पनि भएको थियो । तर पार्टीको कार्यक्रममा पाण्डेको पुस्तक विमोचन गरिएन । पार्टीको कार्यक्रम सकिएपछि सोही स्थानमा कार्यक्रम गरी पुस्तक सार्वजनिक गरिएको हो । कोअर्डिनेसन केन्द्र स्थापनाका आश्रयदाता भक्तबहादुर आले (मनोहर) र माले निर्माणमा आश्रय दिने इटहरा मोरङका टेकबहादुर राईले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

झन्डै ४ दशक बाम राजनीतिमा बिताएकी लेखिकाले आम सर्वसाधारणले तत्कालीन समयमा निर्वाह गरेको भुमिका र इमानका कारण नै मुलुकले लोकतान्त्रिक शासन व्यवस्था प्राप्त गर्न सकेकाले उनीहरूको भूमिकालाई सम्मान गर्नुपर्ने बत्ताइन् । पुस्तक ‘भुइँमान्छे’ नेकपा एमाले निर्माणमा आम कार्यकर्ताको भूमिकामा केन्द्रित छ ।

पुस्तकको भूमिकामा लेखिकाले लोकतन्त्र प्राप्ति पछि पार्टीभित्र नेतृत्वबाट भएका कतिपय निर्णयहरूलाई अप्रजातान्त्रिक कार्यशैलीका रुपमा चित्रण गरेको छ । सुशासनका लागि आवाज उठाउँदा पार्टी नेतृत्वबाट विद्रोही शैलीको भाष्य सृजना गरिएको भएपनि आफू सधैँ पार्टी बनाउन भुमिका निर्वाह गर्ने भुइँमान्छेका भावना र अपेक्षाप्रति प्रतिबद्ध रहेको पाण्डेले बताइन् ।

पार्टी कार्यालय बनाउन सहयोग लिने नेतृत्वको निर्णय सुशासन विरोधी भएको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेपछि ६ महिनाका लागि निलम्बनमा परेकी पाण्डेले पुस्तक ‘भुइँमान्छे’ मा पनि नेतृत्वले आमकार्यकर्ताको अपेक्षा अनुसार काम गर्न नसकेका कारण राजनीतिप्रति वितृष्णा फैलिएको उल्लेख गरेकी छन् ।

पार्टीले कारबाही गरेको समयमा पार्टीकै दस्ताबेज लिएर उपस्थित भएकी लेखिका पाण्डे र पुस्तकका सम्पादक होम भट्टराईसँग ‘भुइँमान्छे’ का बारेमा कुराकानी गरिएको छ । प्रस्तुत छ कुराकानीमा आधारित समाचार सामग्री ।

आश्रय, सुरक्षा र सम्पर्कका सारथीः भुइँमान्छे

आश्रय, सुरक्षा र सम्पर्कका सारथी : भुइँमान्छे’ नाम दिइएको पुस्तकमा २०२८ देखि ०४६ सालसम्म खास गरेर नेकपा माले धार निर्माणमा आमनागरिकले निर्वाह गरेको भूमिकालाई चित्रण गरिएको छ । पार्टी निर्माणमा तल्लो तहका कार्यकर्ताले निर्वाह गरेको भूमिकालाई तत्कालीन घटनासहित उद्धृत गरिएको छ । भूमिगत नेताहरूको संरक्षणमा उनीहरुले आफ्नै ज्यानको बाजी लगाएका दृष्टान्तहरू पुस्तकमा फेला पार्न सकिन्छ । नेता पक्राउ गर्न आएको सुरक्षा निकायको टोलीबाट वारेण्ट सूचि नै नियन्त्रणमा लिनु, ‘भित्ता कोरुवा हो’ भन्दै सुरक्षाकर्मीकै अगाडिबाट आफ्ना केन्द्रीय नेताको संरक्षण गरेका दृष्टान्तहरू पढ्दै गर्दा तत्कालीन राजनीतिक आन्दोलनमा आम नागरिकको इमानदारता, कर्तव्य निष्ठ र राजनीतिप्रतिको उच्च भरोसा रहेको सजिलै बुझ्न सकिन्छ ।

लेखिका पाण्डे भन्छिन् ‘२०२८ सालदेखि ०४६ सालसम्म खास गरेर नेकपा माले धार निर्माणमा आम नागरिकको भूमिका कस्तो रह्यो भन्ने कुरामा उहाँहरू पार्टी निर्माणमा कसरी सहयोग गर्नुभयो, भूमिगत नेताहरूलाई कसरी लुकाउनुभयो, कसरी खुवाउनुभयो र व्यवस्थापन कसरी गर्नुभयो भन्ने कुरामा त्यतिखेर कडा निरङ्कुश शासन थियो, त्यतिखेर सुरक्षा कसरी दिनुभयो रु उहाँहरू आफै सम्पर्क गर्न सक्ने स्थिति थिएन । उहाँहरूलाई कसरी सुरक्षा दिनुभयो रु उहाँहरू आफै गएर सबैलाई सम्पर्क गर्न सक्ने अवस्था थिएन । आमनागरिक, किसान, मजदुर जसलाई सङ्गठित गर्नुपर्ने थियो उहाँहरूलाई कसरी भेटाउनुभयो आश्रय दिने व्यक्तिहरूले भन्ने कुरामा खास गरेर श्रमजीवी, महिला, किसान, बालबालिकाहरूले पनि कसरी सहयोग गरे भन्ने विषय र पार्टी निर्माणमा आममान्छेको भूमिकाका विषयमा यसमा लेखिएको छ । त्यसैले यो किताबको नाम नै ‘आश्रय, सुरक्षा र सम्पर्कका सारथी : भुइँमान्छे’ राखिएको छ ।’

भुइँमान्छेहरुले यो पार्टी (नेकपा एमाले) बनाएका हुन्

पार्टी गठनमा महत्त्वपूर्ण योगदान दिएकालाई ‘भुइँमान्छे’ भन्दा अपमानित गरे जस्तो लाग्दैन भन्ने प्रश्नमा लेखिका भन्छिन् —‘ भुइँमान्छे भनेको जसले अहिले पनि धर्ती छोडेको छैन र यो धर्तीको रक्षा पनि उसैले गरेको छ । भुइँ नछोडी यतिबेला समाजको आवाज पनि उठाइ रहेको छ । एकदमै ठूलो कष्ट सहेर पनि मुलुकमा परिवर्तन हुन्छ भने ‘मृत्युको प्रवाह छैन साथी हो’ भनी तत्कालीन समयमा मदन भण्डारीले भन्नुभए जस्तै त्यतिबेलाका किसान,सर्वहाराहरूले जीवनको पर्बाह नगरी आफ्नो धर्तीमा उभिएर पार्टी निर्माणमा सहयोग गर्नुभयो । यो ‘भुइँमान्छे’ शब्द हेप्ने भन्दा पनि आधारभूत वर्गलाई समेट्ने सम्मानित शब्द हो भन्ने मैले बुझेको छु । अहिले पनि मैदान बिग्रिएको छैन, यो पार्टी त्यही भुईँमा उभिएका मान्छेहरूले बनाएका हुन्, भुइँ खन्ने, भुईँमा पसिना बगाउने मान्छेहरूले बनाएका हुन् र ती मान्छेहरूलाई पार्टीले अहिले कति समेट्न सकेको छ र उहाँहरूको भावनालाई कतिसम्म बोक्न सकेका छौँ भन्ने खालको प्रश्न उठेको बेलामा त्यही प्रश्नको जवाफ उहाँहरूसँगै गरेको कुराबाट समेटिएको किताबले दिँदा उहाँप्रतिको सम्मानित शब्द हो भन्ने मेरो बुझाइले किताबको नाम राखिएको हो ।’

पार्टी निर्माण गरेको वर्ग किरानमा, नेता सुरक्षा घेरामा

‘भुइँमान्छे’ भित्र तत्कालीन समयमा पार्टी निर्माणमा अहोरात्र खटिएका आमसर्वसाधरण (तल्लो तहका कार्यकर्ता) माथि अन्याय भएको मौन गुनासो गरिएको छ । झुपडीमा बसेर पार्टी गठन भएको र त्यो पार्टीको नेतृत्व गरेका नेताहरूले झुपडी बिर्सेर सुरक्षा घेरामा समिति हुन पुगेको भन्दै पुस्तकमा नेतृत्वमाथि तिखो टिप्पणी गरिएको छ । निलम्बित स्थायी समिति सदस्य पाण्डे बहुदलीय जनवादको नीति र प्रक्रियाबाट पार्टी चलोस् भन्ने कामना गर्छिन् ।

उनले आमनागरिकको तर्फबाट सम्बोधन हुने गरी पार्टीले नीति र विधि तयार गरेर लागू गरोस् भन्ने चाहाना आफूको रहेको उल्लेख गरिन् । उनले पुस्तकमा उल्लेखित आमनागरिकका योगदानलाई पुन एकपटक नेतृत्वले स्मरण गरोस् र झुपडी भित्रको अपेक्षालाई सम्बोधन गरोस् भन्ने अपेक्षा आफूले गरेको बताइन् । पुस्तकमा उल्लेखित पात्रहरूको योगदानलाई स्मरण गर्दे उनले भनिन् —‘ती सामान्य मान्छेहरूले असामान्य हिसाबले पार्टी निर्माण गरेका हुन् । हिजो तिनै मान्छेले पार्टी बनाए, नेता जोगाए तर आज नेताहरू राज्यको सुरक्षाको घेरामा बसेका छन् । जसले पार्टी बनायो उनीहरुले नेतासँग भेट्न, हात मिलाउन, दोहोरो कुरा गर्न नपाउने, नमस्कार गर्न पनि नपाउने खालको दुरी कायम भएको छ । जुन वर्गले पार्टी निर्माण ग¥यो त्यो वर्ग आज किनारीकृत हुन पुग्यो । उहाँहरूमा पार्टी बिग्रिन्छ कि भन्ने चिन्ता छ । उहाँहरूको माग केही छैन मात्रै पार्टी नबिग्रियोस् भन्ने छ । जनताको बहुदलीय जनवादको नीति र प्रक्रियाबाट पार्टी चलोस् र आमनागरिकको तर्फबाट सम्बोधन हुने गरी पार्टीले नीति र विधि तयार गरेर लागु गरोस् भन्ने उहाँहरूको चाहना छ । उहाँहरू नेतृत्वलाई ‘तपाईँहरू जे सकिन्छ त्यो भन्नुस्, जे भन्नुहुन्छ त्यो गर्नुस्’ भन्नुहुन्छ । जनताको बहुदलीय जनवादले यहाँनिर हामीले भनेको र गरेको कुरासँग सम्बन्ध राख्छ भन्ने देखिने गरी भन्न पाउँ भन्ने नै अहिलेको असन्तुष्टि हो ।’

पार्टी दृष्टिकोणमा समस्या छैन, व्यवहार राम्रो भएन

राजनीतिमा नैतिकता पनि हुन्छ । नैतिकताको राजनीति गर्नुपर्छ, सुशासन कायम गर्नुपर्छ भन्दा कारबाही गरियो, मलाई दुःख छैन ।
‘भुइँमान्छे’ पढ्दै गर्दा पाठकले तत्कालीन समयमा कोअर्डिनेसन कमिटी (कोके) र नेकपा माले भित्र आन्तरिक प्रजातन्त्र नभएको र नेतृत्वले आफू विरुद्धका आवाजलाई कारबाहीले थान्को लगाउने गरेको अनुभूत गर्छन् । अहिले आन्तरिक सुशासनको कुरा उठाउँदा निलम्बनमा परेकी लेखिका पाण्डेले फेरि पार्टीका पुराना कुरा, जहाँ नेतृत्वको मनोमानी अनुसार निर्णय हुने गरेका विषय उजार गरेर के साँच्चै पार्टी विद्रोह गर्न खोजेकी हुन् रु भन्ने संसय पनि पैदा गराउँछ ।

महिलावादी लेखन र महिला वादमा सशक्त पैरवी गर्दै आएकी उनले पुस्तकमा तत्कालीन समयमा महिला भएकै कारण शान्ता मानवीलाई लुम्बिनी कमिटीमा नराखिएको प्रसङ्ग उल्लेख गरेकी छ । किसान आन्दोलनमा अग्रपंक्तिमा भुमिका निर्वाह गर्ने महिलालाई वार्तामा समेत सहभागी नगराइएको प्रसङ्ग पनि उल्लेख छ । पुस्तकमा उल्लेखित यी र यस्ता अन्य कयौँ प्रसङ्गहरूबाट नेतृत्व पुन रुष्ट हुने खतरा देखिन्छ । तर लेखिका पाण्डे पुस्तकले तत्कालीन समयमा पार्टी निर्माण बारे आफ्नै पुस्ता र नयाँ पुस्ताले पनि बुझ्ने मौका पाएको र नेतृत्वलाई कार्यशैली सच्याएर अघि बढ्ने सवालमा सहयोगी बन्ने विश्वास आफूले लिएको बताउँछिन् ।

उनी भन्छिन् —‘ पार्टीको दृष्टिकोण क्लियर छ, समानताको कुरा सुरुदेखि नै गर्दै आएको हो । तर व्यवहारमा देख्न सकिएन । व्यवहार, नीति र दृष्टिकोणमा देखिएको दूरी कम गर्नुपर्छ वा मेटाउनु पर्छ । लुम्बिनीमा थुप्रै ठाउँमा बन्दुक लुकाउने, खोस्ने र गिरफ्तार गर्न आउने पुलिसहरूलाई लखेटेर भूमिगत नेताहरूलाई खोसेर जोगाउने, भीमानमा हात्ती चढेर आउने मन्त्रीलाई समेत महिलाहरूले हात्तीबाट झार्नेमा महिलाको अग्रणी भुमिका छ ।

२०३७ देखि अखिल नेपाल महिला संघको केन्द्रीय तहको संयोजक भएर काम गर्नुभएकी शान्ता मानवीलाई लुम्बिनीमा भएको क्षेत्रीय भेलामा किन नलाने भनेर प्रस्तावै राखियो र तर्क वितर्क धेरै भएपछि त्यहाँ चुनावै होलाजस्तो स्थिति भएपछि उहाँले मेरा कारणले पार्टीमा समस्या हुन्छ भने भइहाल्यो भनेर मैले भनेँ तर अहिले सम्झिँदा नभन्नु पर्ने रहेछ कि जस्तो लाग्यो भनेर उहाँले भन्नुभएको छ ।

अहिले पनि मैले प्रदीप नेपालसँग कुरा गरेकी थिएँ, देशभरमा तीन सय जति थिए होलान् भूमिगत जाने भन्नुभएको थियो । यही सिलसिलामा मैले को–को भूमिगत जानुभयो त भन्ने संकलन गर्दा २०२ जनाको नाम किताबमा उल्लेख छ, त्यो मध्येमा ५० जनाजति महिला हुनुहुन्छ । सबैकुरा छोडेर भूमिगत भएर काम गर्ने बेलादेखि नै महिलाहरू त्यतिकै सक्रिय हुनुहुन्थ्यो अर्धभूमिगत भएर काम गर्ने, काठमाडौंमा त झन् धेरै हुनुहुन्थ्यो । तर आजको दिनमा पार्टीमा बहस गर्दाखेरि महिलालाई दिएकै छ त ? भन्ने जुन भाष्य छ त्यो गलत भयो ।

यो पार्टी बनाउन महिलाहरूले पनि योगदान गरेका छन् । महिलाले पुरुषहरूले भन्दा बढी समस्या पनि भोगेका छन्, अपमान पनि खेपेका छन् । तर ती सबै कुरालाई समानताका लागि भनेर पचाइ दिएर काममा संलग्न भएको स्थिति छ भने आज आएर महिलाहरूलाई यति दिएकै छ नि त भन्ने कुराले महिलाहरूको त्यो योगदानमाथि पार्टीले सम्मान गर्न नसकेको हो कि भन्ने अनुभूति हुन्छ । यो किताबको कथाहरू चाहिँ महिलाहरूले त्यतिबेला पार्टी जोगाउन कसरी काम गरे भन्ने उल्लेख छ ।

अहिलेको स्थितिमा हिजो पार्टी कसरी बन्यो भन्ने कुराको जानकारी नेताहरूमा छैन जस्तो लाग्छ । किनभने म पनि ०३७ सालदेखि यो आन्दोलनमा लागेको मान्छे हो र मैले खोज्दै जाँदा जे पाएँ अधिकांश कुरा मलाई पनि थाहा थिएन । अहिलेको नेतृत्वमा रहेका बहुसंख्यक नेताहरू त मेरो पुस्ताका छन् । त्यसकारण यो किताब उहाँहरुले पढ्नुभयो भने त्यतिबेला पार्टी कसरी निर्माण भयो भन्ने कुरा बुझ्न मद्दतै पुग्छ ।’

निर्णायक स्थानमा महिला उपस्थिति र तहगत नेतृत्व हस्तान्तरणका विषयमा उल्लेख्य प्रगति हासिल गर्न नसकेपनि पार्टीभित्र महिलाको उपस्थिति र स्थानमा सकारात्मक परिवर्तन आएको लेखिका पाण्डे स्वीकार गर्छिन् । पार्टीको आन्तरिक सुशासनका लागि आवाज उठाउँदा आफू कारबाहीमा परे पनि अन्य कयौँ महिला नेतृले आफ्ना कुरा राख्ने अवसर पाएकाले त्यसबाट आफू खुसी नै भएको उनले बताइन् । विगतमा पनि असहमति राख्नेहरू नेतृत्वको कारबाहीमा पर्ने र अन्ततः उनीहरूकै तर्क सही हुने गरेका दृष्टान्तलाई पुस्तकमा उल्लेख गरेकी लेखिका पाण्डेले पार्टी लोकतान्त्रिक प्रक्रियामा अघि बढ्ने हो भने आन्तरिक कारवाहीहरुलाई सामान्य रुपमा लिन सकिने बताइन् ।

तात्कालिक समयमा नेतृत्वले गरेको कारबाही र अहिले आफू निलम्बनमा परेको विषयलाई कसरी हेर्नुभएको छ भन्ने जिज्ञासामा लेखिका पाण्डेले यसरी स्पृष्ट पारिन् —‘त्यतिबेलाको र अहिलेको अवस्था फरक छ । त्यतिबेला भित्र उठाइएका कुराहरू बाहिर थाहा हुँदैन थियो । मैले २०७५ सालमा कानुन अनुसार पार्टीमा कम्तीमा एक तिहाइ महिला हुनुपर्छ, ठूलो पार्टीले झन् धरै कानुन मान्नुपर्छ भनेर कुरा उठाएको थिएँ । अहिले सबै दलमा कम्तीमा पनि त्यो कानुन अनुसार महिलाहरू भएका छन् । मेरो कुरा तत्काल सम्बोधन भएन तर अहिले जति महिला कमिटीहरूमा बस्नुभएको छ त्यतिखेर कुरा उठाइएको थिएन र सञ्चारमाध्यमले प्रचार नगरी दिएको भए यो स्थिति हुँदैन थियो । मूल कुरा सुशासनको हो । राजनीतिमा नैतिकता पनि हुन्छ ।

हामीले नैतिकताको राजनीति गर्नुपर्छ भन्ने ढंगले कुरा उठाउँदा मलाई के भयो भन्ने फरक भयो तर आमरुपमा सकारात्मकै प्रभाव दिएको छ भन्ने मेरो बुझाइ हो, मलाई यसमा दुःख छैन । म र उषाजी लाई निलम्बनमा राखेर बैठकमा जान नपाए पनि यो तीन वर्षमा पहिलो पटक डेढ सय साथीहरूले पार्टी कमिटीमा आफ्ना कुराहरू राख्न पाउनुभयो । पार्टी भित्रको लोकतान्त्रिक प्रक्रिया नयाँ हिसाबमा अगाडि बढ्न सुरु गयो भन्ने र पार्टीलाई ठिक ट्रयाकमा लैजान्छ भने केही समयको निलम्बनमा दुःख मान्नुपर्दैन ।

किनभने त्यही बेलाकै एउटा प्रसङ्ग छ एक जना भूमिगत साथीले त्यसबेलाको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिलाई बुझ्दा उहाँले पार्टीमा १४ बुँदा आफ्ना असहमति राख्नुभयो र १४ बुँदे असन्तुष्टिकै कारण पाँच वर्ष पार्टी सदस्यबाटै निलम्बन हुन परेको थियो । तर पाँच वर्षपछि ती १४ बुँदामध्ये अधिकांश बुँदालाई पार्टीले स्वीकार गरेर उहाँ पार्टीमा पुनः स्थापित हुनुभयो र नेताकै हिसाबले काम गर्न थाल्नु भयो । पार्टीमा यस्ता कुराहरू सामान्य नै हो भनेर लिनुपर्छ ।’

पार्टीलाई ठिक ट्रयाकमा लैजाने हो भने भुइँमान्छेका अपेक्षा सम्बोधन गर्नुपर्छ ।

पुस्तकले पार्टी गठनका समयमा भएका क्रियाकलाप समेटिएको पुस्तक ‘भुइँमान्छे’ ले तत्कालीन समयमा आमजनताले गरेको योगदानलाई मात्रै उजागर गरेको छैन पार्टी भित्रका क्रियाकलापलाई पनि बाहिर ल्याएको छ । तत्कालीन नेतृत्वको महिला समुदाय प्रतिको दृष्टिकोण, आन्तरिक प्रजातन्त्र, नेताहरूको छवि, जनताको नेताप्रतिको विश्वास र भरोसा लगायतलाई एकमुष्ट रुपमा समेट्ने प्रयास गरिएको पुस्तक ‘भुइँमान्छे’ले पुनः एकपटक नेतृत्वको ध्यानाकर्षण गराएको छ । पुस्तकमा समावेश दृष्टान्तहरूले आमसर्वसाधरण र नेताको छवि मात्रै होइन पार्टी भित्रका विभिन्न प्रकृतिका धारहरूलाई पनि उजागर गरेको छ । अन्तरसंघर्ष, नेतृत्वको स्वइच्छाचारी प्रवृत्तिहरू प्रमाणसहित उभिएका छन् ।

यसले लेखिका पाण्डेको निलम्बनको कारबाहीलाई थप प्रभाव पार्ने आशंका पनि उब्जाएको छ । कतिपयले यसलाई राजनैतिक दस्ताबेजको रुपमा सकारात्मक लिए पनि पार्टी भित्रका आन्तरिक कुराहरू बाहिर ल्याएकोमा पाण्डेको थप आलोचना हुने सम्भावनालाई पनि नकार्न सकिँदैन । नेतृत्वको सम्भावित प्रतिक्रियाका सम्बन्धमा पाण्डेमा चिन्ता भने छैन । उनी आफूले पार्टीले गर्नुपर्ने काम गरेको दाबी गर्छिन् । उनले भनिन् —‘त्यतिखेर के गरिन्थ्यो ? कसरी कारबाही गरिन्थ्यो ? कसरी अनुशासनका कुरा गरिन्थ्यो ? र आज पनि त्यस्ता कुराहरू देखिन्छ भने के गर्नुपर्छ भन्ने कुरालाई हामीले शिक्षाको रुपमा लिनुपर्छ ।

गलत प्रवृत्ति अहिले मात्रै होइन त्यतिबेला पनि थिए तर त्यतिबेला पार्टीले कसरी व्यवस्थापन गर्थ्यो ? यो कुरा पार्टी अनुशासनसँग कसरी जोडिन्छ ? भन्ने कुरा बुझ्नेले सकारात्मक रुपमा बुझ्यो भने यो राम्रै कुरा हो । त्यतिबेला त समस्या समाधान हुन्थ्यो भने अहिले त हामी राज्य व्यवस्थामा छौँ, राज्यका कानुन, संविधान, राज्यका संयन्त्रबाटै पनि गर्न सकिन्छ । हिजो भूमिगत रुपमा काम गथ्यौँ । आज लोकतान्त्रिक विधिबाट मतदानको प्रक्रियाबाट जनताको मन जितेर राज्यसत्तामा गएर समाजमा सामाजिक न्याय स्थापनाका लागि काम गर्नुपर्छ ।

मैले पार्टी गठनमा आम सर्वसाधारणले पुराएको योगदानलाई खोतलेँ । उनीहरूको भूमिकालाई एकीकृत गरेँ । पार्टीले गर्नुपर्ने काम गरेँ । यस्ता काम गर्दा त पार्टीले एक्सन लिन्छ भने के गर्दा चाहिँ लिँदैन भन्ने प्रश्न हो मेरो । पार्टीले गर्न नसकेको अवस्थामा वा पार्टीले पनि गर्ने भनेको ठाउँमा मैले पनि अलिकति सहयोग गरेँ भन्ने लाग्छ ।

इतिहासबाट शिक्षा लिने र सिक्ने भन्ने कुरामा यसले नयाँ खालको काम गर्नका लागि ढोका खुलाउन सक्छ । ‘भुइँमान्छे’ बाट नयाँ साथीहरूले भूमिगत कालको जानकारी पाउनुहुनेछ । भूमिगत भएर काम गर्नुभएका साथीहरूले त अनुभव नै गर्नुभएको छ । उहाँहरुले एकपटक स्मरण गर्नेतिर लाग्नुपर्छ । अब पार्टीलाई ठिक ट्रयाकमा लैजाने हो र हामीले भनेकै दिशातिर अघि बढ्ने हो भने यसले सबैलाई अगाडि बढ्न सहयोग गर्छ भन्ने मेरो विश्वास हो ।’

झुपडीमा बनेको पार्टी, पाँचतारे होटलमा निर्णय

निलम्बित स्थायी समिति सदस्य पाण्डेले २०७८ साल वैशाखको दोस्रो साता एक टेलिभिजन अन्तर्वार्तामा भनेकी थिइन् — ‘झुपडीमा बसेर बनाएको पार्टीको समस्या पाँचतारे होटलमा बसेर गरिएको वार्ताबाट किन मिल्थ्यो ? झोपडीमा बसेर वार्ता गरेको भए सायद मिल्थ्यो होला ।’ यही अन्तर्वार्ता पछि उनमा साँच्चै तत्कालीन समयमा झुपडीभित्रबाट सहयोग गर्ने आममान्छेले पार्टी बनाउन निर्वाह गरेको भुमिका खोज्ने हुटहुटी जाग्यो ।

काठमाडौंको पाँचतारे होटलमा पार्टी एकताका बारेमा वर्तमान अध्यक्ष (प्रधानमन्त्री केपी शर्मा ओली) र १५ वर्ष पार्टीको नेतृत्व गरेका नेता माधवकुमार नेपाल (हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष) बीच भएको वार्ता असफल भएपछि उनले एक टेलिभिजनमा दिएको अभिव्यक्तिमा धेरै कार्यकर्ताबाट प्रतिक्रिया पाइन् । त्यसपछि उनी नेकपा माले र कोअर्डिनेसन कमिटीको धरातल खोज्न राजधानी बाहिर निस्किइन् । उनले तत्कालीन समयमा केन्द्रीय तहबाट सञ्चालन भएका मुलुकभरका कार्यक्रमहरूमा आमसर्वसाधरणको भुमिका खोज्न लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशका विशेष स्थानहरूमा पुगिन् ।

भुइँमान्छे तयार हुनुको अन्तर्य लेखककै भनाइमा ‘ दुई वटा पार्टी एक भएर त्यसमा अलिअलि विवादहरू सिर्जना भइरहेका थिए । अदालतले नेकपा एमाले र नेकपा एकीकृत माओवादी केन्द्रलाई अर्को नाम लिएर आउँ होइन भने पहिलाकै स्थानमा तिमीहरू जाऊ भनेपछि नेकपा एमाले भित्र फेरि विवाद भयो । त्यतिबेलाका अध्यक्ष (अहिलेपनि अध्यक्ष हुनुहुन्छ) र अगाडिका अध्यक्ष माधवकुमार नेपाल जसले १५ वर्ष पार्टी प्रमुख भएर काम गर्नुभयो । उहाँहरूबिच पाँचतारे होटलमा वार्ता भएको थियो जुन असफल भयो । लगतै एउटा टेलिभिजनको टल्क सोमा ‘वार्ता किन मिलेन ?’ भन्ने प्रश्नमा मैले झुपडीमा बसेर बनाएको पार्टी पाँचतारे होटलमा बसेर भएको वार्ता किन मिल्थ्यो ? जहाँ पार्टी निर्माण गरेको हो त्यहीँ ठाउँमा र त्यहीँका जनताको कुरा सुनेर वार्ता गरेको भए कुरा मिल्थ्यो र पार्टी एकता पनि कायमै रहन्थ्यो’ भनेँ । त्यसपछि भोलिपल्टदेखि थुप्रै श्रमजीवी साथीहरूले फोन गर्नुभयो । उहाँहरुले हामीलाई पनि सम्झिने कोही त रहेछ भन्नुभयो । उहाँहरूको यो कथा त कतै लेखिएको छैन ।

नेताहरू पार्टी मैले बनाएको कि तैँले बनाएको भनेर बहस गर्दै हुनुहुन्छ । पार्टी बनाउने वास्तविक मान्छे चाहिँ भुइँमान्छे हुन् । उहाँहरूलाई नलुकाई दिएको भए, बास नदिएको भए, खान नदिएको भए र उहाँहरुले सम्पर्क नगरी दिएको भए त यो पार्टी बन्ने थिएन । त्यसैले यसको खोजी गर्ने सोचेँ । यो धेरै भाष्य छ सबै सक्ने स्थिति भएन । जहाँ केन्द्रीय तहका कार्यक्रम बैठक भएका थिए त्यहाँ बसेर कसले पार्टी निर्माणमा सहयोग गर्नुभयो, कस्ता मान्छे सहभागी हुनुभयो भन्ने हिसाबमा खास गरेर गण्डकी, लुम्बिनी, जनकपुर, महोत्तरी, सिन्धुली कालापानी, झापा, इलाम, विराटनगर जहाँ कोके (कोअर्डिनेशन केन्द्र) पनि बन्यो, नेकपा माले पनि बन्यो र ती क्षेत्रहरूमा गएर त्यतिखेर सहभागी भएका साथीहरूसँग कुराकानी गरेर तयार भएको हो ‘भुइँमान्छे ।’

पुस्तकका सम्पादक होम भट्टराईले ‘भुइँमान्छे’ आम मान्छेको कथा जोडिएको राजनीतिक दस्ताबेज भएको बताए । पुस्तकले नेकपा एमालेको इतिहास देखाएपनि राजनीतिक प्रवृत्ति, आमसर्वसाधरणको अपेक्षा र दलहरूको पछिल्लो चरित्रका बारेमा समग्र देशको राजनीतिक अवस्थालाई चित्रित गरेकाले अन्य राजनीतिक दलहरूका लागि पनि महत्त्वपूर्ण रहेको बताए ।

पुस्तकलाई जीवन्त बनाउन लेखकले इतिहासका दस्ताबेज खोज्न अत्यन्तै मेहनत गरेको पनि उनले उल्लेख गरे । सम्पादक भट्टराईको दृष्टिमा ‘भुइँमान्छे’— ‘आम मान्छेको कथा जोडिएको राजनीतिक दस्ताबेज हो । यसमा कम्युनिष्ट आन्दोलनका इतिहास भेटिन्छ एकातिर, अर्कोतिर कम्युनिष्ट आन्दोलनको पनि मूलधारको रुपमा वि.स. २०२८ सालपछि नेतृत्व गरिरहेको कोके, माले हुँदै २०४७ साल सम्म पार्टी निर्माणमा क–कसले कस्तो भुमिका खेले भन्ने कुरा प्रष्ट पार्छ । यो ठ्याक्कै पढ्नुपर्ने त हामी पछिल्लो पुस्ताले हो । किनभने अगाडिको पुस्तामा के भएछ भन्ने इतिहास जहाँकहीँ भेटिँदैन ।

यही सम्पादनको शिलशिलामा पनि तथ्यपरिक्षणका लागि विभिन्न दस्ताबेजहरू खोजी गर्दा दस्ताबेज नभेटिएको अवस्था सिर्जना भयो । यो पुस्तकले दस्ताबेजको काम गरेको छ । धेरै अलिखित कुराहरू लेख्य रुपमा आएका छन् । लेखकले यसमा धेरै मेहनत गरेको देखेको छु मैले । यो साझा पुस्तक हो । समग्र देशको राजनीतिक अवस्था कस्तो छ भन्ने पनि प्रष्ट देखिन्छ । नेपाली राजनीतिक आन्दोलन सुरुबाट कसरी अगाडि बढ्यो ? त्यसको चरित्र कस्तो थियो ? अहिले त्यो कुन रुपमा गएको छ ? भन्ने देखिन्छ । सामान्य आम मान्छेले त कथाको रुपमा देख्ने कुरा हो । पार्टी बनाउन सङ्घर्ष गरेको वर्गले त जहाँसुकै आफूलाई भेट्छ । त्यसैले राजनीतिक पार्टीको विकास हेर्ने हो भने सबै पार्टीका लागि महत्त्व राख्न पुस्तकले छ ।

कम्युनिष्ट आन्दोलनको हिसाबले हेर्ने हो भने कम्युनिस्टहरू कोके, माले हुँदै एमाले भएकाहरूले पढ्नुपर्ने पुस्तक हो । यो पार्टीलाई मजबुत बनाउन कसले, कसरी भुमिका खेल्यो भनेर पछिल्लो पुस्ता एमाले भित्रै पनि कार्यकर्ताको रुपमा बसेकाले पनि यो पुस्तक पढ्नुपर्छ । त्यसपछि मात्रै पार्टी कसरी बनेको हो र त्यसको महत्त्व के छ भन्ने थाहा पाइन्छ । साथै त्यो पार्टी बनाउनेहरूप्रति हामीहरूको दायित्व के हुन्छ भन्ने कुरा चाहिँ यो पुस्तकले प्रमाणित गर्छ । ’

पुस्तकमा विभिन्न उपशीर्षकमा तत्कालीन आन्दोलन र तीनमा स्थानीय आमसर्वसाधरणको भूमिकालाई उल्लेख गरिएको छ । विभिन्न स्वरूपमा यसअघि नै प्रकाशित भएका कतिपय सन्दर्भहरू प्नि पुस्तकमा उल्लेखित छन् । अधिकांश सन्दर्भहरू लिखित रुपमा आएका छन् । कतिपय घटनामा संलग्न पात्रहरूलाई चातुर्यतापूर्वक गोप्य राखिएको छ । घटना प्रमाणित गर्ने सन्दर्भमा लेखिकाले धेरै पात्रहरूसँग बहुपक्षीय वार्तालापलाई प्राथमिकतामा राखेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *