गन्धर्व जातीको व्यथा

सारङ्गीको धुनमा पहिचान खोजिरहेका रवि र नवीन (भिडिओ)

काठमाडौँ । दाङ घोराही-११ का दुई युवा गन्धर्वहरू उपत्यकाका सार्वजनिक यातायातहरूमा सारङ्गी बजाउँदै जीविकोपार्जन गर्छन् । उनीहरू भक्तपुर, लगनखेल र चाबहिल पुग्ने यातायातहरूमा गीत गाउँदै यात्रुहरूलाई मनोरञ्जन गराउँछन् ।

आजभोलि धेरै जनाले उनीहरूलाई ‘पूर्ण बहादुरको सारङ्गी’ भनेर पनि बोलाउने गरेको उनीहरूले सुनाए । हाल कोटेश्वरमा बस्दै आएका रबी र नवीन गन्धर्व फुपू मामाका छोरा हुन् । उनीहरूले ४/५ वर्षको उमेरदेखि नै बुबाबाट गायनकला सिकेका थिए । उनीहरू बुबासँग गीत गाउन धेरै ठाउँहरू पुग्थे । त्यसैक्रममा उनीहरू काठमाडौँ आइपुगेका हुन् ।

राजधानी काठमाडौँ उनीहरूका लागि एउटा सपनाको सहर थियो । जहाँबाट धेरै मानिसहरूले उनीहरूको आवाजलाई सुन्न सक्थे । तर महँगीले गर्दा उनीहरूको परिवारको अवस्था झनै नाजुक हुनपुग्यो । बुबाले गीत गाएर ल्याउनु भएको पैसाले घर खर्च पुग्दैनथ्यो । त्यसकारण रबी र नवीन दुवैले आफ्नो शैक्षिक जीवनमा रोक लगाए ।

रबी काठमाडौँमा बाच्न धेरै गाह्रो भएको अनुभव सुनाउँछन् । उनले ठाउँ ठाउँमा गीत गाउन जाँदा बास नपाउने त कहिले भोकै सुत्नु परेको बताए । उनको कुरामा समर्थन जनाउँदै नवीन भन्छन् ‘कहिलेकाहीँ भोकै बसेर पनि गाएका छौँ । कहिलेकाहीँ बिरामी हुँदाहुँदै पनि अरूलाई मनोरञ्जन गराउनलाई गाएको छु ।’

उनको कुराले रबी थोरै निरास बन्न पुग्छन् । उनको निरासा कम गर्न नवीन सारङ्गी रेट्दै उनको ध्यान बहलाउन खोज्छन् । अनि पुनः आफ्ना सङ्घर्षको कथा सुनाउन थाल्छन् ‘म चैँ धेरै प्रतीक्षालयमा सुतेको छु । कसैले गाली गर्छ, कसैले हेला पनि गर्छ । कसैले मेरो छेउमा नगाऊँ कान दुख्छ भन्छन् । त्यही पनि हामी सहन्छौँ । त्यही पनि दिनुहुन्छ ५, १०, २० रुपैयाँ ।’

रबीले कुनैबेला भोको पेट भएका, गोजीमा २० रुपैयाँ मात्रै भएका व्यक्तिहरूले पनि सारङ्गीको धुन सुनेर खुसी भएर पैसा दिने गरेको बताए । उनले ६५/७५ वर्षका बुढी आमाहरूले पनि गीत सुनेर कहिल्यै नखोलेको पैसाको पोको खोलेर आफूहरूलाई दिँदा एकदमै खुसी लाग्ने बताए । उनले भने ‘त्यस्तो बेला चैँ मलाई धेरै खुसी लाग्छ । मैले कसैको मन जितेर छु भन्ने लाग्छ ।’

यो काम गर्दा लाज लाग्दैन भन्ने प्रश्नमा रबी भन्छन् ‘यो काम गर्दा मलाई लाज लाग्दैन । अरु काम गर्नुभन्दा सारङ्गी बजाउँदा मलाई धेरै खुसी मिल्छ ।’

कहिले काहीँ उनलाई यो काम छोडेर विदेश जान मन लाग्ने तर यस काममा जस्तो अरु काममा खुसी नमिल्ने उनी बताउँछन् । दमाईले लुगा सिलाउने, सार्कीले जुत्ता सिलाउने भने जस्तै सबै जातिको आ-आफ्नै पेसा भएको रबी बताउँछन् ।

उनले सारङ्गी बजाएर गीत गाउने पेसा नै गन्धर्वहरूको पेसा भएको बताए । उनले आफूहरूको यस कामले बाबुआमा पनि एकदमै खुसी हुनुभएको बताए । उनले आफ्ना पुर्खाहरूले पनि यही पेसा गरेर मृत्यु वरण गरेको र आफूहरूले पनि उही पेसा अङ्गालेको गर्भका साथ सुनाए । रवि र नवीन सार्वजनिक यातायातका गाउन हिँड्दा धेरै प्रवृत्तिका मानिसहरूसँग ठोक्किन्छन् ।

उनीहरू भन्छन् ‘कत्ति जनाले यिनीहरूले आफ्नो धर्म गरिरहेको छ भन्छ । कतिले बुझेको हुन्छ । राम्रो कुरा गर्छन् । तिमीहरूले चैँ यसलाई जोगाउनुपर्छ भन्नुहुन्छ । त्यसबेला हाम्रो पनि आत्मविश्वास बढ्छ । तर कत्तिले चैँ तिमीहरू यस्तो जवान छ तिमीहरू यस्तो नगर । यता जाऊ, उता जाऊ । यो गरेर खाऊ भन्छन् । यस्तै यस्तै कुराहरू सुनेर कान दुख्छ । नराम्रो भन्नेलाई पनि अलिकति मायाले सम्झाउँछौँ क्या । यो हाम्रो संस्कृति हो भनेर ।’

नवीन आफू बाँच्दासम्म यो पेसा गरे पनि अब छोराछोरीले चाहिँ नगरुन् भन्ने चाहन्छन् । उनी भन्छन् ‘अब हाम्रो छोराछोरीलाई पनि पढाउने हो, लेखाउने हो । घरमै सारङ्गी बजाए पनि गाउँघरमा नहिँडोस् ।’

उनले यो काम गरेर बिहानदेखि बेलुकी सम्ममा हजार रुपैयाँ कमाउने गरेको सुनाए । ‘खान लगाउन पुगेको छ । पैसा धेरै जमाउला यस्तो गरौँला, उस्तो गरौँला भन्ने त्यस्तो ठुलो ठुलो सपना छैन ।’ उनले भने ।

रबीले राजनीतिक दलमा भएका सबैलाई एउटा एउटा सारङ्गी दिने मन भएको बताए । ‘चाहे बजाउन आओस्, चाहे नआओस् । सबलाई बाँड्दिने चैँ ठूलो धोको छ ।’ उनले भने ।

सरकारसँग के माग गर्न चाहनुहुन्छ भन्ने प्रश्नमा रबीले आफूहरू सुकुम्वासी भएको सुनाए । उनले गाउँमा सरकारले जग्गा र दुई कोठाको घर समेत उपलब्ध गराएको भन्दै लालपुर्जा पनि उपलब्ध गराई दिन सरकारसँग अनुरोध गरेका छन् ।

उनले भने ‘खास भन्नुपर्दा चैँ हामी सुकुम्वासी हो । हाम्रो लालपुर्जा छैन । उत्तिखेर नै राजाको पालादेखि नै गन्धर्वलाई चैँ जग्गा दिएन रे । किनभने हाम्रो यो गन्धर्व जातिले चैँ गाउने अनि जुन ठाउँमा गयो त्यही ठाउँमा बस्ने । अनि खेतीपाती भएपनि मतलब नगर्ने भएकाले चैँ हामीलाई दिएको जग्गा पनि अन्त बाँडियो रे । त्यसकारण हामी अहिलेसम्म सुकुम्वासी छौँ । सरकारले सरकारी जग्गामा दुई कोठाको घर बनाइदिएको छ । हामीले लालपुर्जाको आस राखेका छौँ ।’

रबी गन्धर्वले सारङ्गी बजाउने पेसा लोप हुने अवस्थामा पुगेको बताए । उनले अहिले मानिसहरूमा यस पेसा प्रति हेर्ने दृष्टिकोण धेरै गिरेको बताए । उनका अनुसार सत्ययुगमा भगवानहरूले पनि गन्धर्वहरूलाई सारङ्गी बजाएर गीत गाउन लगाउँथे अरे । अनि अप्सराहरू त्यस धुनमा मन्त्रमुग्ध भएर नाच्ने गर्थे । भगवानहरूले पनि सोमरसको मजा लिएर हर्थे । बिस्तारै युगहरू परिवर्तन हुँदै गयो ।

त्यसपछि मानिसहरूमाझ पनि त्यो प्रवृत्ति फैलियो । कतै मान्छे मर्यो भने, केही घटना भयो गन्धर्वहरू त्यस समाचारलाई गीत बनाएर सारङ्गीको माध्यमबाट गाउँथे अरे ।

पहिले पुलिसहरू पनि गाउँ(गाउँमा गएर अलि पढे लेखेको गीत बनाउन जान्ने मान्छेलाई घटना भएको ठाउँमा लगेर को मर्यो ?, कसरी मर्यो ?, के भएर मर्यो ? भनेर उसैलाई सारङ्गी मार्फत गाउँ गाउँमा समाचार भन्न लगाउँथे अरे । सारङ्गीको माध्यमबाट नै फलानो गाउँमा यस्तो भयो भनेर सुनाइन्थ्यो अरे ।

तर अहिले समय बद्लिँदै गयो । यही पेसा ३/४ ओटा पेसामा बाँडियो । पहिले पत्रकारको भुमिका पनि यसैले निभाएको थियो । गायकको भुमिका पनि यसैले निभाएको थियो । तर अहिले यो पेसा हेलामा भयो । ‘हाम्रो बाजा लोप हुन पुग्यो ।’ रबी गन्धर्वले भने ।

उनले आफ्नो पुस्तादेखिको कलालाई बचाउन पाउ भन्ने सोच रहेको बताए । उनलाई धेरै मानिसहरूलाई यो सिप सिकाउने मन भएको बताए । जीवनको २४ औँ वसन्तमा आइपुगेका रबी जीवन भनेको सु:ख दु:ख दुवै भएको बताउँछन् । उनले दु:खमा नआत्तिनु र सु:खमा नमात्तिनु भनेर आफ्नो जीवनबाट पाठ सिकेका छन् ।

उनले भाग्यले साथ दियो भने अर्को वर्ष भ्वाइस अफ नेपालमा जाने सोच रहेको रबीले बताए । नवीनको भने नेपालकै र्याप इन्डस्ट्रीमा केही गर्ने मन छ । रबी र नवीनले गाउँदेखि नै सारङ्गी ल्याएर सार्वजनिक यातायातहरूमा बजाउने गरेका छन् ।

उनीहरूले भने ‘हाम्रो गाउँतिर ६०/६५ वर्षको बुबाहरू हुनुहुन्छ, जो धेरै हिँडडुल गर्न सक्नुहुन्न, त्यही भएर घरमै बसेर हातले हतौडाले फोरेर सारङ्गी बनाउनु हुन्छ ।’

कसैले सारङ्गी मगाएमा आफूहरूले गाउँबाट नै किनेर ल्याइदिने उनीहरूले बताए । एउटा सारङ्गीको मूल्य ५/६ हजारदेखि सुरु भएर लाखसम्म पनि पर्ने उनीहरूले जानकारी दिए ।

उनीहरूले हाम्रा सडक, विद्यालय र हरेक सार्वजनिक स्थानहरूमा सारङ्गीको चित्र हुनुपर्ने बताए । उक्त कुरा बताइरहँदा उनीहरूको अनुहारमा एक प्रकारको छुट्टै चमक र उत्साह देखिन्थ्यो ।

अहिले हाम्रा समाजमा वास्तवमै गन्धर्वहरू प्रति रुष्ट व्यवहार गरिएको देखिन्छ । यद्यपि उनीहरू भने आफ्ना कला, संस्कृति र पेसा जोगाउन लागि परेका छन् । सक्छौँ भने उनीहरूलाई सम्मान गरौँ, सक्दैनौँ भने अपमान पनि नगरौँ । अहिले यस पेसाको महत्वबारे धेरैलाई बुझाउन आवश्यक देखिन्छ । अब नेपाल सरकारले पनि गायन क्षेत्रमा गन्धर्वहरूलाई अवसरको सृजना दिनुपर्छ । सम्बन्धित निकायले पनि यो पेसाको संरक्षणमा विशेष ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *