प्रधानमन्त्रीको तारिफ, प्रकाश सपुतलाई भारी (भिडिओ)


काठमाडौं । यति बेला कलाकार प्रकाश सपुत चर्चामा छन् । उसो त सपुत सधैँ चर्चामा रहिरहने कलाकार हुन् । आफ्ना सिर्जना र समाज बोल्ने शब्दले सपुतको चर्चा भइनै रहन्छ । तर, यसपटक पनि उनको चर्चा फरक प्रसङ्गमा भइरहेको छ ।
कुरा हो गत सोमबारको । कार्यक्रम थियो, प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा लेखिएको पुस्तक लोकार्पण । सोही कार्यक्रममा सहभागी थिए कालाकार प्रकाश सपुत पनि ।
प्रधानमन्त्री ओलीको जीवनीमा आधारित पुस्तक ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकबारे विभिन्न व्यक्तिहरूले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा बोल्ने धेरै जनाले प्रधानमन्त्री ओलीको व्यक्तित्वबारे राम्रै प्रशंसा गरे । उक्त कार्यक्रममा कलाकार सपुतलाई पनि बोल्नका लागि आग्रह गरियो । कलाकार सपुतले पनि प्रधानमन्त्रीको खुलेरै प्रशंसा गरे ।
उनले प्रधानमन्त्रीको व्यक्तित्व र जीवनी बल्ल अहिले थाहा पाएको भन्दै तारिफ गरे । सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको प्रशंसा गरेको भन्दै कलाकार प्रकाश सपुतलाई यति बेला केही व्यक्तिहरूले गाली गरिरहेको छन् । उनलाई चोट पुग्ने गरि विभिन्न टीकाटिप्पणी गरिरहेको छन् ।
पछिल्लो समय प्रकाशको मन्तव्यलाई साना साना क्लिप बनाई सामाजिक सञ्जालमा अपलोड गर्ने क्रम बढेको छ । ती क्लिपमा कमेन्ट गर्ने अधिकांशले नकारात्मक शैलीमा आफ्ना विचार राखेका छन् ।
देशको प्रधानमन्त्रीको प्रशंसा गर्दा गाली नै खानुपर्ने उनले ठुलो गल्ती चाही केही गरेका थिएनन् । तर, कतिपय अराजक मानसिकता र नकारात्मकता फैलाउन अभियान नै चलाउने समूहले कलाकार सपुतलाई बहिष्कार गर्ने सम्मको चेतावनी दिन भ्याएका छन् ।
कतिपयले प्रकाश सपुतको डेब्यु निर्देशनमा आगामी महिना प्रदर्शनमा आउने चलचित्र ‘वसन्त’ लाई बहिष्कार गर्नेसम्मको चेतावनी दिएका छन् । यो काम पक्कै पनि राम्रो होइन ।
देशकै सम्मानित पद धारण गरेका व्यक्तिको प्रशंसा गर्दैमा गाली दिइनु र बहिष्कारमा पर्नु अराजकताको पराकाष्ठा हो । यस्तो काम तत्काल रोकिनुपर्छ ।
