अन्जिला : ‘सपना’ बिर्सेकाहरूलाई झकझक्याउने फिल्म (भिडिओ)
यो फिल्म हेर्न दर्शकले धेरै बौद्धिकता खर्चनु पर्दैन ।

काठमाडौँ । नेपालमा कमेडी, लभस्टोरी, र एक्सन जनरामा थुप्रै फिल्महरू बन्ने गरेका छन् । तर खेलकुदलाई केन्द्रमा राखेर बनाइएका फिल्महरूको संख्या निकै कम छ ।
वि.सं २०७५ सालमा अभिनेता अनमोल केसीको फिल्म ‘क्याप्टेन’ रिलिज भएको थियो । उक्त फिल्ममा अनमोलले एक सङ्घर्षशील फुटबल खेलाडीको भूमिका निभाएका थिए ।
व्यावसायिक हिसाबले निर्माण लागत उठाए पनि यो फिल्म सुपरहिट बन्न भने सकेको थिएन । यो फिल्मले सुरुमा राम्रो ओपनिङ गरे पनि हलमा लामो समयसम्म टिक्न सकेन ।
नेपालमा यस विधामा बनेका फिल्महरू प्रायः व्यावसायिक रुपमा सफल हुन कठिन भएको देखिन्छन् । त्यसैले पनि नेपाली फिल्म इन्डस्ट्रीमा यो विधा अझै विकसित हुन सकेको देखिदैँन् ।
यस चुनौती बिच प्रेमकुमार श्रेष्ठले निर्माण गरेका खेलकुद सम्बन्धी अर्को चलचित्र ‘अन्जिला’ हामी माझ आइसकेको छ । आउनुस्, आज विस्तृत रुपमा चर्चा गरौँ फिल्म ‘अन्जिला’ बारे ।
‘अन्जिला’ को कथावस्तु
‘अन्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म हो ।
यस फिल्ममा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको प्रमुख अभिनय रहेको छ ।
फिल्ममा सिर्जना सुब्बाले अन्जिलाको आमा अर्थात् ‘कौशिला’, माओत्से गुरुङले अन्जिलाको बुबा, दयाहाङ राई सौतेनी बुबा अर्थात् ‘चन्द्रे साहु’ र विजय बराल चन्द्रे साहुको साथीको भूमिकामा देखिएका छन् ।
यस फिल्ममा अन्जिलालाई सानै देखि फुटबलमा रुचि भएको देख्न सकिन्छ । उनी बुबा बिना नै हुर्किएको पात्र हुन् । उनी दाइ र आमासँग बस्छिन् । उनकी आमा कौशला भने एक होटल सञ्चालक हुन् । उता उनको बुबा भने कान्छी श्रीमतीसँग झापामा बसेका हुन्छन् ।
त्यसपछिको दृश्यमा अन्जिला दाइसँग फुटबलको जोहो गर्न सुन्तला टिप्ने काममा लागेको देखिन्छ । त्यस कामबाट आएको पैसाले उनीहरू मोजा किनेर फुटबल बनाउँछन् ।
अन्जिलाले अबेर रातसम्म पनि फुटबल खेल्यो भनेर घरमा धेरै पटक गाली खाएकी छन् । तर पनि फुटबल प्रतिको उनको रुचि कत्ति पनि कम भएको छैन ।
फिल्ममा दयाहाङ राईले ‘चन्द्रे साहु’ अर्थात् एक जिप साहुको भुमिका निभाएका छन् । उनको आँखा अन्जिलाकी आमा ‘कौशिला’ अर्थात् सिर्जना सुब्बा माथि हुन्छ ।
चन्द्रे साहु घरमा श्रीमती र छोराछोरी हुदाँहुदैँ पनि कौशिलालाई विवाहका लागि फकाउन खोज्छन् । एकदिन फुटबल खेल्ने क्रममा अन्जिलाको खुट्टा मर्कँदा चन्द्रे साहुले नै उनलाई अस्पताल पुर्याउछन् ।
त्यसरी छोरीलाई अस्पताल पुर्याउन अघि सरेका चन्द्रेलाई देखेर कौशिलाको मनमा पनि चन्द्रे साहूको लागि माया पलाउँछ ।
अस्पतालबाट फर्केपछि कौशिलाको पूर्व श्रीमान् ९माओत्से गुरुङ० पनि फर्कन्छन् । त्यसपछि कथाले कस्तो मोड लिन्छ भन्ने थाहा पाउन यहाँहरूले फिल्म नै हेर्नुपर्ने हुन्छ ।
अन्जिलाको ट्रेलर :
‘अन्जिला’ फिल्म रिभ्यु
मिलन चाम्सद्वारा निर्देशित ‘अन्जिला’ एक सरल कथानक भएको फिल्म हो । यस फिल्ममा घटनालाई वर्णन गर्न बिच बिचमा दर्शकलाई ‘फ्ल्यास ब्याक’ मा पुर्याइएको छ । यो फिल्म हेर्न दर्शकले धेरै बौद्धिकता खर्चनु पर्दैन । अन्जिलाको जीवनमा आएका ‘टर्न एण्ड टुइस्ट’ हरू हामीले समाजमा देख्दै र भोग्दै आएको समस्याहरू भएकाले कथावस्तु सरल भए पनि फिल्मले दर्शकको मन छुनसक्ने देखिन्छ ।
आफ्नो छोरीलाई फुटबल खेलाडी बनाउन अन्जिलाकी आमाले गरेको संघर्षलाई फिल्मको पहिलो हाफमा देखाइएको छ भने दोस्रो भागमा राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक बन्न एन्जिलाले गरेका संघर्षलाई देखाइएको छ ।
सदा झैँ यस फिल्ममा पनि दयाहाङ राई, सुनिल थापा, विजय बराल, माओत्से गुरुङ, र बुद्धि तामाङको जीवन्त अभिनय देख्न सकिन्छ ।
त्यस्तै फिल्मकी मुख्य पात्र एन्जिलाको अभिनय पनि विश्वसनीय नै लाग्छ । उनी नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक भए पनि पर्दामा सुहाएकी छिन् ।
फिल्मको छायांकन उनकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ । फिल्मको खिचाई सामान्य छ भने लोकेसन, फ्रेमिङ, लाइट, कलर, ब्याकग्राउन्ड स्कोर र मेकअप पनि राम्रो छ ।
तर फिल्ममा एउटा मात्र गीत छ, जुन गीतले पनि कथावस्तुलाई अगाडी बढाउन मद्दत गरेको छैन । फिल्म हेरिरहँदा दर्शकलाई सङ्गीतको अभाव महसुस हुन्छ ।
निर्देशक चाम्सले हाम्रै समाजका पात्रहरूलाई टपक्क टिपेर फिल्म बनाएका छन् । जसकारण सबै पात्रहरूलाई उनले न्याय दिन सकेका छैनन् । जस्तो कि चन्द्रे साहुको जेठी श्रीमतीलाई चलचित्रमा भिलेनको रुपमा देखाएका छन् । जबकि उनी नैतिक रुपमा सही छिन् । तर चाम्सले अन्त्यमा त्यसलाई सच्याउन भने खोजेका देखिन्छन् ।
समग्रमा भन्नुपर्दा एन्जिलाको जीवनको सतही कथामा यो फिल्म बनेको छ । उनको सङ्घर्षसँग मेलखाने दर्शकहरूलाई यो फिल्म उत्कृष्ट लाग्छ । तर टेक्निकल्ली फिल्म त्यत्ति कमजोर वा बलियो पनि छैन् ।
किन हेर्ने ‘अन्जिला’ ?
यो फिल्म खेलप्रेमिहरूले मात्र नभएर बुबाआमाले गर्दा सपनालाई बिर्सने व्यक्तिहरूले हेर्नै पर्ने फिल्म हो । यस फिल्ममा एन्जिला तुम्बापो सुब्बाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा मात्र नभएर उनको आमाले त्याग र तपस्यालाई पनि देखाइएको छ ।
यो संसार हाम्रो मैदान हो । हामी आफ्नो समस्याबाट भाग्नु हुदैँन् । कठिन परिस्थिति सबैको हुन्छ । तर जबसम्म हामी आफै लड्दैनौँ तबसम्म हाम्रो सहारा कोही हुँदैनन् भन्ने सन्देश एन्जिलाको जीवनीले दिएको छ ।