खबर दिनभर : परिवर्तन उल्टाउन खोज्नेको माओवादीले भण्डाफोर गर्ने, चिहान हडपेको विषयले संसदमा हंगामा

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग बुधबार साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत विद्यार्थी जोशीको सकुशल र शीघ्र रिहाइका लागि भूूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गरेका हुन् । जवाफमा राष्ट्रपति अब्देलले उक्त विषयमा आफ्नो प्रयास जारी रहने अवगत गराए ।

इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको इजरायल र हमासबीचको दोस्रो चरणको बन्दी आदानप्रदानको सूचीमा नाम प्राथमिकतामा पार्ने प्रयासका लागि धन्यवाद व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले इजरायल र हमासबीचको युद्धविराम सम्झौताको नेपालले स्वागत गरिसकेको र सो क्रममा अरब गणतन्त्र इजिप्टले खेलेको भूमिकाको महत्त्वपूर्ण भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा सदैव रहेको स्पष्ट गर्दै यस मानवीय प्रकृतिको कार्यमा भूमिका निर्वाहका लागि कतार र संयुक्त राज्य अमेरिका सरकारलाई पनि आभार व्यक्त गरे ।

सगरमाथा संवाद कार्यक्रमका लागि निमन्त्रणा

प्रधानमन्त्री ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि राष्ट्रपति खालिललाई निमन्त्रणा गरे । वातावरणसम्बन्धी विश्व सम्मेलन (कोप–२७) को आतिथ्य मुलुकका नाताले जलवायु परिवर्तनका मुद्दामा साझा सहकार्यका लागि प्रधानमन्त्री ओलीले उहाँसँग आग्रह गरे ।

नेपाल सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवादका क्रममा पहिलो शृङ्खलाको आयोजना गर्न लागेको हो ।

संवादका क्रममा संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा उम्मेदवारी, आपसी सहकार्य, उच्चस्तरीय भ्रमणको आदानप्रदान, दुुई देशबीचको परस्पर सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको थियो ।

रास्वपा सांसदहरूको आरोप – नेवार समुदायको चिहान काँग्रेस नेताले हडपे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले काठमाडौंको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा हरेको नेवार समुदायको चिहानको जग्गा नेपाली काँग्रेसका नेताले हडपेको आरोप लगाएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोक कब्जामा लिई भोगचलन गरेको आरोप लगाएका हुन् ।

उनले उक्त जग्गा उजुरी पर्दासमेत स्थानीय निकाय संरक्षणमा कुनै पहल नगरेको आरोप लगाए ।

उनले भने ‘काठमाडौं क्षेत्र नं। ६ मा पर्ने तारकेश्वर– ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं.६२६३ नेपाली काँग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीको बाबजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ ।’

रास्वपाका अर्की सांसद सुमना श्रेष्ठले पनि उक्त जग्गाको बारेमा अनुसन्धान गर्न माग गरिन् । सांसदहरूको यस्तो आरोपपछि काँग्रेस नेताहरू उठेर विरोध जनाएका छन् । सभामुख देवराज घिमिरेले तथ्यमा टेकेर मात्र अभिव्यक्ति दिन समेत संसदको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीसमक्ष अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अन्तर–व्यवस्थापिका मञ्च, नेपालको १० औँ सम्मेलनबाट पारित सातबुँदे घोषणापत्र हस्तान्तरण गरिएको छ ।

उक्त मञ्चको गत पुस १–३ गते गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न सम्मेलनका निष्कर्षसहितको सात बुँदे घोषणापत्र आज प्रधानमन्त्री निवास, बालुवाटारमा हस्तान्तरण गरिएको हो ।

घोषणापत्र हस्तान्तरणका अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख र सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयलगायत सहभागी थिए ।

सो घोषणापत्रमा सङ्घीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूचीअन्तर्गत निर्माण गरिने कानुनको सन्दर्भमा तीनवटै सभाको परस्पर सम्बन्ध विकास गर्ने प्रतिबद्धता गरिएको छ । यस्तै बन्न बाँकी कानुनको अध्ययन र पहिचान गरी सङ्घीय संसद्बाट कानुन निर्माण गर्न पहल गर्ने जनाइएको छ ।

घोषणापत्रमा संसदीय विषयगत समितिको कामकारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यले समन्वय र सहजीकरण गर्न सम्बन्धित नियमावलीमा प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष तथा प्रदेशसभाका उपसभामुखको भूमिका स्पष्ट गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कानुनको कार्यान्वयन मापन एवं उत्तर विधायिकी परीक्षणको कार्य सरकारसँग समन्वय गरी सङ्घ र प्रदेशमा सुरु गर्ने, यसका लागि सम्बन्धित सभाका नियमावलीमा व्यवस्था गर्ने, सरकारले सभामा पेस गर्ने नीति तथा कार्यक्रम सिद्धान्त र प्राथमिकता, पूर्वबजेट छलफल एवं संसद्बाट अनुमोदित बजेट, बजेटको खर्च व्यवस्थापन समेतका सम्बन्धमा अध्ययन विश्लेषण गरी संसद् सदस्यलाई अध्ययन, अनुसन्धानात्मक र प्रशिक्षणात्मक सेवा पुर्‍याउने विषय घोषणापत्रमा उल्लेख छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सबै सरकार र संसद्हरुबीच संविधानले गरेका प्रबन्धबमोजिम भइरहका समन्वय र सहकार्यलाई अझै बढाउनुुपर्नेमा जोड दिँदै सङ्घीय सरकारका तर्फबाट हुनुपर्ने सहयोग र समन्वयका लागि आफू तयार रहेको बताए ।

उनले राज्यको आर्थिक हैसियतलाई विचार गरेर मात्र संसद्ले सरकारसमक्ष बजेटसम्बन्धी प्रस्ताव पेश गर्नुपर्ने र सरकारका सम्बन्धित मन्त्रालयले पनि संसद्को नेतृत्वले आवश्यकता ठानेर पठाइसकेका प्रस्तावलाई सहजरुपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा सर्वोच्चले सुनायो फैसला

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ ।

न्यायाधीशहरु हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार उक्त मुद्दामा फैसला गरेको हो ।

संवैधानिक इजलासमा विचाराधीन रहेको तत्कालीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपाने २०७७ माघ १३ गते अवहेलनाको निवेदन दायर गरेका थिए ।

यसअघि, न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैंँ उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । आदेशअनुसार २०७७ फागुन ६ गते प्रधानमन्त्री ओली आफै उपस्थित भएर लिखित जवाफ पेस गरेका थिए ।

परिवर्तन उल्टाउन खोज्नेलाई छुट दिइँदैन, भण्डाफोर अभियान चलाउछौँ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्टाउन खोज्नेलाई छुट नदिइने बताएका छन् । उनले त्यस्ता विरुद्ध सडकबाट भण्डाफोर अभियान चलाउने समेत बताए ।

बधबार बुटवलमा आयोजित मगर मुक्तिमोर्चाको छैटौँं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले विगतमा नागरिकसँगका सम्बन्ध केही कमजोर भएकाले त्यसलाई सुधारेर जाने प्रतिबद्धता जनाए ।

उनले विगतका निर्वाचनमा एमाले र कांग्रेससँग गठबन्धन गर्दा गल्ती गरिएको स्वीकार गर्दै जनतासँग माफी माग्न मैदानमा आएको बताए । “माओवादीले अब पहिले गरेका गल्ती कमजोरी दोहोर्‍याउँदैन”, उनले भने, “जनतासँग माफी मागेर सरकारका गलत कामको खबरदारी गरिरहने हो ।”

अध्यक्ष दाहालले अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी ‘एजेन्डा’मा जानु उचित रहेको उल्लेख गर्दै कसैले पनि प्रतिगमनबारे नसोच्न चेतावनी दिए ।

पार्टीले गरेको जनयुद्ध उत्पीडित समुदायको मोर्चाबाटै सफल भएको बताउँदै उहाँले ती समुदायप्रति उच्च सम्मान व्यक्त गरे । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले कार्यशैलीका कारण निरङ्कुशतन्त्रले प्रहार गर्न खोजेको बताए । उनले हालका सबै परिवर्तनको आधार माओवादी जनयुद्ध रहेको जिकिर गरे ।

कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनालले राजतन्त्रले टाउको उठाउन खोजेकाले सबै क्रान्तिकारी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए ।

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चैत ७ मा हुने

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम अगामी चैत ७ गते हुने भएको छ ।

प्रतिनिधि सभाको बुधवारको सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम चैत ७ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराएका हुन् ।

सभामुख घिमिरेले यस पटकको प्रश्नोत्तरमा समूह ९ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने बताए ।

उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न चैत ३ आइतबार दिउँसो २ बजेभित्रमा प्रतिनिधि सभाका सचिव समक्ष लिखित रूपमा दिन पनि आग्रह गरे ।

विकल्प राजनीतिमा होइन कर्मचारीतन्त्रमा आवश्यक छ : जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित समाजवादको बाटो कस्तो हुने भन्नेकुरामा वैचारिक अन्योल देखिएको बताएका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले बुधवार आयोजना गरेको नयाँ युगको कार्यभार : वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विकासको मोडालिटी नै प्रष्ट नभएको भन्दै बजेट खर्च गर्न समस्या भएको बताए । उनले कर्मचारीतन्त्रले शासकले भनेको नमान्दा राज्यका समस्या समाधान गर्न नसकिएको जिकिर गरे । उनले राजनीतिक परिवर्तन भएपनि राज्यका अङ्गहरू पुरानै रहेकाले उनीहरूको बुद्धि विवेकले काम नगरेको आरोप लगाए ।

उनले सत्तामा पुगेका हरेक नेताहरूलाई पुरानो कर्मचारीतन्त्रले सञ्चालन गर्ने गरेको दाबी गरे । अबको विकल्प राजनीतिमा नभई कर्मचारीतन्त्रमा चाहिएको उनको भनाइ छ ।

उनले भने ‘संविधानले भनेको समाजवादको बाटो तय गर्ने कुरामा वैचारिक अन्यौलता छ । पहिलो कुरा प्रस्टै छ कि विकासको मोडालिटी के हो त रु बजेट खर्च कसरी गर्ने रु सही गर्नेले सही गर्दैन कसरी खर्च गर्ने रु सम्भवै छैन । मैले प्रधानमन्त्री जीहरू शेरबहादुर र प्रचण्ड जीलाई भेटेको थिएँ टेबुल टेबुलको शासन छ यहाँ । तपाईँहरू शासन गर्नुस् न भनेको थिएँ उहाँहरू शासन गर्नु हुन्न । प्रधानमन्त्रीले गरेपनि एउटा टेबुलको शासन गर्नुहुन्छ । अरु सयौँ टेबुलहरू छन् । मुख्य कुरा राज्य पुनःसंरचनाको कुरा थियो, त्यतिबेला नै आग्रह वा पूर्वाग्रह के हो त्यहाँ गल्ती गरेका छौँ । हाम्रा राज्य सत्ताका कतिपय अङ्गहरूलाई हामीले यथास्थितिमा राख्यौ र अनि पोलिटिकल नेताहरूले गाइड गरेनन् कि उनको गाइडमा चले कुरा यही हो । म वा अर्को । नेताहरू कसले चलायो पुरानो ब्युरोकेसीले चलायो । उनीहरुले न भिजन ल्याए न बुद्धि विवेक ल्यायो । समस्या त्यसैमा छ । विकल्प त्यसमा चाहिएको छ ।’

उपमहासचिव शर्माले राज्य संयन्त्रभित्र सुधार गर्नुपर्नेमा जोड दिए । वर्तमान अर्थतन्त्रमा देखिएको संकटको समाधान नेताहरूले दिनुपर्ने उनको भनाइ छ ।

शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सांसदहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षा र सडक निर्माणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद वीना लामाले राष्ट्रिय प्राकृतिक तथा वृत्त आयोगले बनाएको मापदण्डमा असन्तुष्टि जनाइन् ।

‘आयोगले समानिकरण अनुदानको मापदण्ड पक्षधरका आधारमा बनाएको आरोप छ’, उनले भने, ‘आयोगको स्वीकृति बिना युएसएआइडीका परियोजना दुरुपयोगमा आयोगकै पदाधिकारी संलग्न रहेको सुनिएको छ, यस विषयमा के भएको हो सदनलाई जानकारी गराउनुपर्छ ।’

सांसद श्यामकुमार घिमिरेले सिन्धुलीको सुगुरे खोलाभन्दा अगाडिपट्टि रहेको अक्करेभिरमा बर्सेनि आउने पहिरोका कारण सवारी साधन सञ्चालनमा समस्या भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

‘पहिरोका कारण अक्करेभिरबाट जुनसुकै बेला पनि गाडी खस्न सक्ने जोखिम छ, उक्त स्थानमा हिउँदमा पनि पहिरो झरिरहन्छ, बर्सातमा जोखिम बढी हुन्छ, उक्त समस्या समाधान गर्न सरकारको ध्यान जान जरुरी छ’, उनले भने ।

सांसद शान्ति विकले अहिलेको केही व्यक्तिले लोकतान्त्रिक गणतन्त्रलाई गलत रुपमा व्याख्या गरेको उल्लेख गर्दै विगत भइसकेको राजतन्त्र वर्तमानमा सम्भव नभएको बताइन् ।

उनले सरकारले अर्थतन्त्र सुधार, रोजगारी सृजना, गुणस्तरीय र सर्वसुलभ शिक्षा र स्वास्थ्य, पूर्वाधार विकास, सुरक्षा तथा न्यायको व्यवस्थाका साथै दिगो विकासमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

सांसद शिव नेपालीले बन्दी महिलाहरूको न्याय, पुनःस्थापना र वित्तीय शिक्षाका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद शिशिर खनालले काठमाडौँ उपत्यकामा देखिएको खानेपानीको समस्या समाधान गर्नुपर्ने माग गरे ।

सांसद शेरबहादुर कुँवरले पछिल्लो केही दिनदेखि विभिन्न माग राखेर आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग माग गरे । सांसद शोभा ज्ञवालीले कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने आवश्यकता औँल्याए ।

सांसद सन्तोष चालिसेले काठमाडौँको जोरपाटी–सुन्दरीजल सडकमा पर्ने चार वटा पुल निर्माण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद सन्तोष परियारले सूर्य विनायक–साँगा–धुलिखेल सडक विस्तारमा ढिलाइ भएको भन्दै जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि सरकारको ध्यानाकर्षण गराए ।

शून्य समयमा सांसदहरू शङ्कर भण्डारी, सरिता भुसाल, डा स्वर्णिम वाग्ले, शान्ति चौधरी, सुमना श्रेष्ठ, सुनिता बराल, सरस्वती सुब्बालगायतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा बुधबार भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न तीन सय २३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयर ७९ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार सात सय ५५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ३३ र लघुवित्त समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लगानी समूह एक दशमलव ७६ र अन्य समूह एक दशमलव ५७ प्रतिशतले बढेको छ ।

बैंकिङ शून्य दशमलव ५३, वित्त शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ६४, जलविद्युत् शून्य दशमलव ८५, जीवन बीमा शून्य दशमलव ६४, उत्पादन तथा प्रशोधन शून्य दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव १०, निर्जीवन बीमा शून्य दशमलव ४० र व्यापार समूह शून्य दशमलव २१ प्रतिशतले बढेको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ७९ प्रतिशतले बढेको छ । साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेड प्रमोटर शेयर रू ८१ करोड ३६ लाख ५२ हजार एक सय बराबरको ८१ लाख ३६ हजार पाँच सय २१ कित्ता कारोबार भएको नेप्सेले जनाएको छ ।

नामिबियासँग नेपाल फेरी पराजित

वुमन्स डे कप टी–२० आई प्रतियोगितामा नेपाल फेरी पराजित भएको छ । नेपाल आफ्नो चौथो खेलमा नामिबियासँग २३ रनले पराजित भएको हो ।

नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २ रन मात्र जोड्न सक्यो ।

नेपालका लागि सना प्रवीनले सर्वाधिक ३१ रन बनाइन् । कविता जोशीले १७ तथा पुजा महतो र कप्तान इन्दु बर्माले समान १५–१५ रन बनाइन् ।

नामिबियाका लागि इभलिन केजरुकुवाले सार्वधिक २ विकेट लिइन् । विल्का माटिले, साइमा तुहादेलेनी र मेकेलाए माटिलेले समान १–१ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो ।

नामिबियाका लागि यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् । विल्का मातिलेले २० तथा अरास्ता डिगार्टले अविजित १६ रन बनाइन् ।

नेपालका लागि ईश्वरी विष्टले ३, रचनाकुमारी चौधरीले २ तथा रिया शर्मा र कप्तान इन्दु बर्माले समान १–१ विकेट लिइन् ।

पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ । क्यानले बुधबार सार्वजनिक गरेको नयाँ सूचीअनुसार पुरूषतर्फ ग्रेड ‘ए’ र ‘बी’ मा समान पाँच, ‘सी’ मा चार, डी’ मा १२ तथा इमर्जिङ प्लेयरमा सात खेलाडीलाई छनोट गरेको छ ।

केन्द्रीय सम्झौताअनुसार ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख परेका छन् । उनीहरूले मासिक जनही रू एक लाख प्राप्त गर्नेछन् । ग्रेड बी मा करण केसी, कुशल भुर्तेल, गुल्सन झा, ललित राजवंशी र अनिल साह छन् । यी खेलाडीहरूले मासिक रू ७० हजार प्राप्त गर्नेछन् । ग्रेड सी’ मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् । उनीहरूले रू ५५ हजार पाउनेछन् ।

त्यस्तै ग्रेड डि मा सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सुर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसीर अहमद, प्रतिस जिसी, अभिनाश बोहरा र मयन यादव छन् । उनीहरूले मासिक रू ३५ हजार प्राप्त गर्नेछन् ।

यसैगरी अर्जुन घर्ती, हेमन्त धामी, दिपेश कँडेल, रूपेश सिंह, अर्जुन कुमाल, शुभ कंशाकार र सन्तोष यदावलाई इमर्जिङ प्लेयसमा राखिएको छ । उनीहरूले रू २५ हजार प्राप्त गर्नेछन् । त्यसैगरी महिला खेलाडीको नयाँ केन्द्रीय सम्झौताअनुसार चार खेलाडीलाई ग्रेड ‘ए’ मा समवेश गरिएको छ । जसमा कप्तान इन्दु बर्मा, रूविना क्षेत्री, सीता रानामगर र पूजा महतो छन् । उनीहरूले मासिक रू ५० हजार प्राप्त गर्नेछन् ।

ग्रेड ‘बी’ मा कविता जोशी छन् । उनले मासिक ३५ हजार पाउनेछिन । ग्रेड सी’ मा कविता कुँवर र सम्झना खड्का छन् । उनीहरूले रू २५ हजार प्राप्त गर्नेछन् । यस्तै ग्रेड डि मा विन्दु रावल, अलिशाकुमारी यादव, रिया शर्मा, साना प्रविन, सीमान केसी, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, कृस्मा गुरूङ, ज्यात्निका मरासिनी, रचनाकुमारी चौधरी र मनिषकुमारी उपाध्याय छन् । उनीहरूले मासिक २० हजार पाउनेछन् ।

उक्त केन्द्रीय सम्झौतामा रहने खेलाडीहरूको सम्झौता अवधि छ महिनासम्म हुनेछ । छमहिनापश्चात् खेलाडीहरूको प्रदर्शनका आधारमा बाँकी छ महिनाका लागि खेलाडीहरूको पुनःवर्गीकरण गरी केन्द्रीय सम्झौता गरिने क्यानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *