नेपालले महिला तथा बालिकाको सशक्तीकरण र समावेशीतामा उल्लेख्य उपलब्धि हासिल गरेको छ : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपालले लैङ्गिक समानताको प्राप्ति र महिला तथा बालिकाको सशक्तीकरण समावेशीतामा उल्लेख्य उपलब्धि हासिल गरेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घ मुख्यालय न्यूयोर्कमा आयोजित महिलाको स्थितिसम्बन्धी आयोग (सिएसडब्लु) को ६९औँ सत्रमा बुधबार राष्ट्रिय वक्तव्य प्रस्तुत गर्दै मन्त्री सुडीले लैङ्गिक समानता दिगो र न्यायपूर्ण समाजको प्रवद्र्धनका लागि महत्त्वपूर्ण रहेको बताए ।

नेपालले विगत तीन दशकमा यस दिशामा गरेका महत्त्वपूर्ण प्रगतिलाई प्रकाश पार्दै भने,“नेपालको संविधानले सङ्घीय र प्रादेशिक संसद्मा ३३ प्रतिशत र स्थानीय निकायमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । नेपालले सदैव लैङ्गिक समानता र महिला सशक्तीकरणका मुद्दालाई उच्च प्राथमिकता दिँदै आएको छ ।”

महिलालाई सशक्त बनाउन वित्तीय समावेशीकरण विस्तार गर्ने, सामाजिक सुरक्षा सुदृढ गर्ने, लैङ्गिक उत्तरदायी बजेटलाई अगाडि बढाउने, लैङ्गिक डिजिटल विभाजनलाई कम गर्ने, र लैङ्गिक–विश्लेषित तथ्याङ्कको सङ्कलन तथा उपयोगलाई बढाउनेलगायतका क्षेत्रमा रणनीतिक हस्तक्षेपको महत्त्वमा मन्त्री सुडीले जोड दिए ।

उनले अन्तर्राष्ट्रिय समुदायलाई विद्यमान खाडललाई पुर्न र लैङ्गिक समानतालाई केवल एक आकाङ्क्षाका रूपमा नभई सबैका लागि जिवित यथार्थ बनाउन ऐक्यबद्धताको भावनाका साथ मिलेर काम गर्न आह्वान गर्नुभएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

मन्त्री सुडीले सिएसडब्लुको ६९औँ सत्रको मन्त्रीस्तरीय बैठकलाई पनि सम्बोधन गरेका थिए । सो बैठकमा उनले लैङ्गिक समानता र महिला सशक्तीकरण अभिवृद्धि गर्न नेपालका राष्ट्रिय संयन्त्रले गरेका कार्यबारे प्रकाश पारेका थिए ।

उनले नेपालका कानुन र नीतिले आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रमा सबै प्रकारका लैङ्गिक भेदभाव उन्मूलन गरेर महिला सशक्तीकरण र लैङ्गिक समानताको प्रत्याभूति गरेको अवगत गराएएका थिए ।

बालिका शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक सशक्तीकरणमा कार्यक्रम तथा पहलमा लगानी बढाउन र सार्वजनिक तथा निजी वित्त परिचालन गर्न मन्त्री सुडीले आह्वान गरे ।

सोही अवसरमा उहाँले युनिसेफद्वारा आयोजित ‘शक्ति र किशोरीः बालिकामा लगानी गरौँ, विश्व परिवर्तन गरौँ’ र खाद्य तथा कृषि सङ्गठन (एफएओ) द्वारा आयोजित ‘अधिकार–आधारित र लैङ्गिक–न्यायपूर्ण खाद्य सुरक्षा र पोषणतर्फः भोकमरी अन्त्य गर्ने र कसैलाई पनि पछाडि नछोड्ने मार्गहरू’ विषयका साइड इभेन्टहरूलाई पनि सम्बोधन गरेका थिए । कार्यक्रममा उनले नेपालले लैङ्गिक समानता र महिला सशक्तीकरणमा गरेका प्रयासबारे प्रकाश पारेका थिए ।

मन्त्री सुडीले शुक्रबार नेपाल, बङ्गलादेश र फिनल्याण्डद्वारा संयुक्त रूपमा आयोजना गरिने तथा युनिसेफद्वारा आयोजना गरिने छुट्टाछट्टै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको स्थायी नियोगले जनाएको छ । मन्त्री सुडी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा सङ्घीय संसद्का सदस्यहरू, मन्त्रालयका सचिव र वरिष्ठ सरकारी अधिकारीहरू सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *