सुशासनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।

पार्टीद्वारा शुत्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भुसालले अहिलेसम्म सार्वजनिक पदमा धारण गरेका सबैको सम्पत्ति छानबिन गर्न संवैधानिक तथा कानुनी व्यवस्थासहितको आयोग गठन गर्नुपर्ने बताए ।

भ्रष्टाचार निरुत्साहित गर्न राजनीतिक पार्टीको संरचना र कार्यप्रणालीमा सुधारको खाँचो औँल्याउँदै उनले भ्रष्टाचारमा संलग्नलाई दण्डित गर्ने ग्यारेन्टी नगरेसम्म प्रभावकारी नियन्त्रण हुन नसक्ने विचार व्यक्त गरे ।

महासचिव भुसालले राजनीतिलाई जनताको दैनिक जीवन र राष्ट्रको दीर्घकालीन भविष्यमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै आफ्नो पार्टीले रोजगारी र सुशासनका लागि अभियान सञ्चालन गर्ने लागेको जानकारी दिए।

कृषि उत्पादन, उद्योग तथा व्यापार, पर्यटन तथा शिक्षा र स्वास्थ्यलगायत सेवाका क्षेत्रहरूको विकासका लागि यातायात, ऊर्जा, सिँचाइ, खानेपानी, टेलिफोन तथा इन्टरनेटजस्ता पूर्वाधार अनिवार्य हुने उल्लेख गर्दै उनले पूर्वाधारका क्षेत्रमा राज्यले गर्ने लगानीले रोजगारी र राष्ट्रिय आयमा गुणात्मक योगदान गर्ने बताउँदै उनले कृषियोग्य सबै भूमिमा सिँचाइका लागि पूर्व–पश्चिम नहर, उद्योग, यातायात र सबै क्षेत्रमा विद्युतीकरण गर्न सकिने गरी ऊर्जाको विकास गर्न सकिने विश्वास व्यक्त गरे ।

सडक तथा रेल यातायात, कृषि, उद्योग तथा पर्यटनका उत्तर–दक्षिण सडक सञ्जालको खाँचो औँल्याउँदै उनले पूर्वाधारको विकास गर्दा वातावरण तथा पर्यावरणको रक्षा तथा विकासलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

महासचिव भुसालले मुलुकले लामो समयसम्म राजनीतिक अस्थिरता र अन्योलको अवस्था थेग्न नसक्ने भन्दै सरकारले यथाशीघ्र ‘रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन’ आयोजना गर्नुपर्ने तथा सम्मेलनमा सबै राजनीतिक पार्टीहरूले गणतन्त्रको अभ्यासमा रहेका कमी तथा कमजोरीको आत्मसमीक्षा गर्न सहयोग पुर्याउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *