शिक्षकका मागलाई कम आँकिए यसको परिणाम राम्रो हुँदैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् ।

विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष प्रचण्डले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने बताए । विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गर्न चुनौतीपूर्ण रहेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले विधेयकलाई तत्काल पारित गर्न जोड दिए ।

‘अहिले जे-जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन् । उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ,’ उनले भने, ‘तर, मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र शिक्षकको विषय सरकारको प्राथमिकतामा नपर्दा यसमा ढिलाइ भएको छ ।’

शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष प्रचण्डले देशको विकास र समृद्धिको मुख्य आधार शिक्षा नै भएकोमा जोड दिए । अध्यक्ष प्रचण्डले शिक्षक महासंघले उठाएका विषयमा सडक र संसद दुवै ठाउँबाट पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताए ।

आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरूले प्रचण्ड नेतृत्वको सरकारले नै विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएको स्मरण गराउँदै विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहनेमा जोड दिएका थिए । ‘डू एण्ड डाइको अवस्थामा छौं,’ शिक्षक महासंघका प्रतिनिधिहरूले भने, ‘विगतमा पनि शिक्षकका मागमा माओवादी र प्रचण्ड सतिसालझैं उभिनुभयो । यसपटक पनि काँध थाप्न अनुरोध छ । माओवादीले संसदमा दबाबमूलक भूमिका खेलोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *