स्वास्थ्य बीमा कार्यक्रमलाई सिंगो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक : स्वास्थ्यमन्त्री पौडेल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई सम्पूर्ण राष्ट्रको गौरव योजना बनाउनु अपरिहार्य रहेको बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित स्वास्थ्य सुधार सुझाव समितिको प्रतिवेदन तथा कार्ययोजना सार्वजनिकीकरण कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमालाई केवल स्वास्थ्य मन्त्रालयको सीमित दायरामा नराखी राष्ट्रव्यापी अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका हुन् ।
उनका अनुसार, स्वास्थ्य बीमाको सफल कार्यान्वयनका लागि सरकारका सबै निकायहरू, नीति-निर्माताहरू तथा सम्पूर्ण राष्ट्रको एकीकृत प्रतिबद्धता आवश्यक छ । हाल विभिन्न निकायहरूबाट छरिएर सञ्चालित स्वास्थ्य सहायता तथा राहत कार्यक्रमहरूलाई एकीकृत गर्दै स्वास्थ्य बीमालाई व्यवस्थित र प्रभावकारी बनाउने योजना सरकारले अघि सारेको उनले जानकारी दिए ।
मन्त्री पौडेलले स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउँदै सबै नागरिकलाई समान अवसर प्रदान गर्नुपर्नेमा जोड दिए । उनका अनुसार, छुट्टाछुट्टै कार्यक्रमहरूलाई एउटै संरचनामा समेटी उपचारमा सबैको समान पहुँच, सेवा प्रवाहमा पारदर्शिता, तथा स्रोत साधनको अधिकतम उपयोग गरी स्वास्थ्य बीमा प्रणालीलाई व्यवस्थित, समृद्ध, र नागरिकमैत्री बनाइनेछ।
उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रमलाई केवल स्वास्थ्य मन्त्रालयको कार्यक्रमका रूपमा सिमित नराखी, यसलाई सिंगो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक छ । यसका लागि प्रधानमन्त्रीज्यू तथा सिंगो संसद्को सहयोगमा सबै स्वास्थ्य सहायता तथा राहत कार्यक्रमहरूलाई एउटै छातामुनि ल्याएर व्यवस्थापन गरिनेछ ।’
स्वास्थ्य बीमासम्बन्धी औषधि उपचार तथा अन्य प्रक्रियाहरूलाई पूर्णरूपमा डिजिटल माध्यमबाट व्यवस्थित गर्ने सरकारको योजना रहेको मन्त्री पौडेलले स्पष्ट पारेका छन् । डिजिटल व्यवस्थापनले बीमा प्रक्रियामा पारदर्शिता वृद्धि गर्नुका साथै अनियमितता न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । यस प्रणालीमार्फत उपचार खर्चको ट्र्याक राख्न सकिने र अनावश्यक बीमा दाबी रोक्न सकिने भएकाले प्रभावकारी बनाइनेछ।
मन्त्री पौडेलका अनुसार, सरकारले ‘सबैका लागि – सधैंका लागि स्वास्थ्य बीमा’ भन्ने अवधारणालाई आधार मानेर बीमाको दायरा विस्तार गर्ने लक्ष्य राखेको छ । कुनै पनि नेपाली नागरिकले निर्धक्क उपचार सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यसहित स्वास्थ्य बीमा प्रणालीलाई सुदृढ बनाइनेछ । साथै, नेपालको संवैधानिक दायित्व पूरा गर्दै सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बीमालाई महत्त्वपूर्ण आधार बनाइने उनले बताए ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई केवल एउटा परियोजनाको रूपमा नभई, नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि दीर्घकालीन योजनाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
