राष्ट्रिय महिला कबड्डीमा एपिएफ च्याम्पियन

काठमडौं । विभागीय प्रतिद्वन्द्वी हराउँदै एपिएफले राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको २०  औं संस्करणको उपाधि उचालेको हो ।  आइतबार सम्पन्न फाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि २८–२२ अंकले हराउँदै उपाधि जितेको हो ।

निकै रोमाञ्चक भएको फाइनलमा आर्मीले खेल सकिन केही समय मात्र बाँकी छँदा अग्रता लिएको थियो । आर्मीले २०–१७ अंकले अग्रता लिए पनि जोगाउन नसक्दा नतिजा सुम्पिन पुगेको हो ।

एपिएफले आर्मीकी रेडर गंगा घिमिरेलाई रोक्दै खेलमा फर्किने प्रयास गरेको थियो र सफल पनि भयो । उनलाई उत्कृष्ट ट्याकल गर्दै एपिएफले २०–२० को बराबरी गर्‍यो । यहाँबाट एपिएफले अग्रता लिँदै आर्मीमाथि पूर्ण दबाब पनि बनायो । यो अग्रता कायम राख्दै आर्मी जित निकाल्न सफल भयो ।

त्यसअघि आइतबार नै भएको दोस्रो सेमिफाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३३–२८ अंकले हराउँदै उपाधि भिडन्त तय गरेको हो । आर्मीले भने सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ४२–१८ अंकले सहजै हराउँदै फाइनलमा स्थान बनाएको हो ।

प्रतियोगिताको विजेता एपिएफले दुई लाख, आर्मीले एक लाख र सेमिफाइनलमा पराजित भएका पुलिस र सुदूरपश्चिम प्रदेशले समान ५० हजार रुपैयाँ पाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघका पदाधिकारीले पुरस्कृत गरेका थिए ।

यस प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेशले प्रतिस्पर्धा गरेका थिए । यस प्रतियोगिताबाट जुनमा हुने विश्वकपका लागि खेलाडी छनोट गरिने भएको छ । प्रतियोगिताको उत्कृष्ट रेडर पुलिसकी मानमती बिष्ट र उत्कृष्ट डिफेन्डर एपिएफकी जयन्ती बडु भइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *